१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७८ श्रावण १९ मंगलबार १०:०३:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७८ श्रावण १९ मंगलबार १०:०३:००

एक राजाका चार छोरा थिए । चारै राजकुमार बाँदरसित खेल्न पाउँदा खुब रमाउँथे । राजाले दरबारमै बाँदरको बथान राख्ने व्यवस्था मिलाएका थिए । दरबारको पशुशालामा भेडाको बथान पनि थियो । एउटा भेडाले दरबारको भान्छा देखेको थियो । उसले मौका पाउनासाथ भान्छामा घुसेर त्यहाँ पाकेका खानेकुरा खाने गथ्र्यो । भान्छेहरूले थाहा पाएपछि त्यसलाई कुटेर लखेट्थे । तर, फेरि अर्को दिन भेडा पुनः मौका पाउनासाथ भान्छामा घुसेर त्यहाँ पाकेका खानेकुरा खाइहाल्थ्यो ।

भेडाले भान्छामा पसेर खानेकुरा खान थालेको एउटा बुढो बाँदरले सुइँको पायो । यसबाट उसलाई आफूहरूमाथि गम्भीर विपत्ति आइपर्ने आशंका भयो । उसले तुरुन्तै आफ्ना सबै साथीहरूलाई बोलायो र दरबार छाडेर जंगलतिर जाने समय आएको बतायो । तर, वृद्ध र अनुभवी बाँदरको कुरा कसैले पनि मानेनन् । अन्तिममा निकै दुःखी भएर वृद्ध बाँदर एक्लै जंगलतिर लाग्यो । 

केही दिनपछि भेडाले सधैँझैँ भान्छामा पसेर खाना खाइरहेको थियो । भान्छेले उसलाई देखेपछि बलिरहेको अगुल्टो उसको ढाडमा झोसिदियो । भेडाको शरीरको ऊनमा आगो सल्कियो । भेडो डराएर नजिकै रहेको तबेलामा पस्यो । तबेलामा पनि आगो सल्कियो । जसले गर्दा तबेलामा भएका घोडा पनि घाइते भए । 

यस घटनाबारे थाहा पाएपछि राजाले राजवैद्यलाई बोलाएर घोडाको उपचार गर्न लगाए । घोडाहरूको हालत देखेर राजवैद्यले भने– महाराज यिनको उपचारका लागि बाँदरको बोसोबाट औषधि तयार गर्नुपर्छ । राजवैद्यको भनाइ सुन्नासाथ राजाले दरबारमा रहेका सबै बाँदरलाई मारेर तिनको बोसो निकाल्ने आदेश दिए । बाँदरको बोसोबाट औषधि तयार गरेर घाइते घोडाहरूको उपचार सुरु गरियो । वृद्ध र अनुभवी बाँदरको कुरा नमान्दा बाँकी बाँदरले बित्थामा ज्यान गुमाए ।