१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:३o:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

वार्ता सँगसँगै सांगठनिक प्रतिस्पर्धामा ओली–नेपाल पक्ष

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:३o:oo

दशौँ महाधिवेशनको बहस आरम्भ गर्दै संस्थापन पक्ष, अध्यक्ष र अधिकारमा कुरा नमिले समानान्तर गतिविधि सक्रिय बनाउने नेपाल पक्षको तयारी 

एकताका लागि भइरहेका छलफल प्रक्रिया लम्बिँदै गएपछि एमालेमा संस्थापन र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहमतिको प्रयास र सांगठनिक गतिविधि दुवै समानान्तर रूपमा अगाडि बढाउने रणनीतिमा लागेका छन् । दशौँ महाधिवेशनलक्षित सांगठनिक गतिविधिलाई पहिलो प्राथमिकतामा राखेर संस्थापन पक्षले नेपाल पक्षसँगको संवाद नटुटाउने रणनीति अख्तियार गरेको छ । उता नेपाल पक्षले दुई–तीन दिनमा सहमति नभए समानान्तर गतिविधि तीव्र पार्ने योजना बनाएको छ । 

माधव नेपाल

छलफलका क्रममा आएका प्रस्ताव र बाहिर दिइएका अभिव्यक्ति हेर्दा सकारात्मक र नकारात्मक दुवै पक्ष छ । वार्तामा संलग्न साथीले ल्याएको प्रस्ताव सुन्दा मिठै लाग्छन्, तर ओलीका अभिव्यक्ति गतिला छैनन्, कसरी पत्याउने ?

‘पार्टीभित्र उत्पन्न समस्या समाधानबारे छलफल जारी छ, परिणाम के हुन्छ, यकिन भन्न सकिँदैन । त्यसैले हामीले पार्टीको गतिलाई अगाडि बढाएका छौँ । तर, सँगसँगै पार्टीमा एकताबद्ध भएर जान चाहने साथीलाई पर्याप्त ठाउँ सुरक्षित गरेका छौँ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘हामी काममा अगाडि बढिसक्यौँ, साथी जहाँबाट जोडिनुहुन्छ, त्यहीँबाट सँगसँगै अघि बढ्छौँ ।’ 

उता, नेपाल पक्षले पनि दुई दिनमै एकता वार्ताको वारपार नभए देशैभर समानान्तर गतिविधि सक्रिय बनाउने गरी योजना बनाएको छ । संस्थापन पक्षले महाधिवेशन तयारीका लागि सदस्यता नवीकरण, वितरण, बैठक र भेलालाई तीव्रता दिएपछि नेपाल पक्षले पनि समानान्तर गतिविधिका लागि ‘काउन्टर’ योजना बनाएको हो । यद्यपि, नेपाल पक्षले दुई–तीन दिन भने वार्ता र छलफललाई नै प्राथमिकता दिएको छ । 

सोमबार बसेको स्थायी कमिटी सदस्यको बैठकमा संस्थापन पक्षसँग वार्ता गरिरहेका भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताले अध्यक्ष र अधिकारसहित सम्मानजनक एकताकै दिशामा करिब–करिब कुरा मिलिसकेको ‘ब्रिफिङ’ गरेपछि लामो पर्खाइले कार्यकर्ता अलमलमा परेको भन्दै दुई–तीन दिनभित्रै टुंगोमा पुर्‍याउनुपर्ने बैठकले निष्कर्ष निकालेको छ । 

‘वार्ताकार साथीले सम्मानजनक एकताका लागि समान हैसियतकै अध्यक्ष र अधिकारमा पनि कुरा मिल्ने देखिएकाले एकताको सम्भावना सकारात्मक रूपमा अगाडि बढेको ब्रिफिङ गर्नुभएको थियो,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने, ‘त्यसैले यदि सकारात्मक छ भने दुई–तीन दिनभित्रै एकता टुंग्याइहालौँ, नेता–कार्यकर्तालाई धेरै अन्योलमा राख्नुहुन्न, होइन भने विकल्पसहित अगाडि बढ्न सजिलो हुन्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ ।’

कर्णाली प्रदेशमा भएको फ्लोर क्रसको मुद्दामा सर्वोच्च अदालतबाट भएको ओली पक्षको भ्याकेन्ट सदर गर्ने फैसला, संस्थापनले दशौँ महाधिवेशनलाई लक्षित गर्दै देशभर सुरु गरेको गतिविधिलगायतका पक्षलाई ध्यान दिँदै वार्ता प्रक्रियामा तत्काल छिनोफानो गरेर अघि बढ्नु नै उत्तम हुने अधिकांशको सुझाब रहेको पनि भुसालको भनाइ छ । 

प्रदीप ज्ञवाली, प्रवक्ता, एमाले 

पार्टीभित्र उत्पन्न समस्या समाधानबारे छलफल जारी छ, परिणाम के हुन्छ, यकिन भन्न सकिँदैन । त्यसैले हामीले पार्टीको गतिलाई अगाडि बढाएका छौँ । तर, सँगसँगै पार्टीमा एकताबद्ध भएर जान चाहने साथीलाई पर्याप्त ठाउँ सुरक्षित गरेका छौँ । हामी काममा अगाडि बढिसक्यौँ, साथी जहाँबाट जोडिनुहुन्छ, त्यहीँबाट सँगसँगै अघि बढ्छौँ ।

बैठकमा वरिष्ठ नेता नेपालले वार्तामा संलग्न नेताहरूले ल्याएको प्रस्ताव राम्रै भए पनि अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिका कारण विश्वास गर्न सकिने अवस्था नरहेको बताएका थिए । ‘छलफलका क्रममा आएका प्रस्ताव र बाहिर दिइएका अभिव्यक्ति हेर्दा सकारात्मक र नकारात्मक दुवै पक्ष छ,’ नेपालको भनाइ थियो, ‘वार्तामा संलग्न साथीले ल्याएको प्रस्ताव सुन्दा मिठै लाग्छन्, तर ओलीका अभिव्यक्ति गतिला छैनन्, कसरी पत्याउने ? जे हो तपाईंहरूले बैठकलाई जस्ताको तस्तै बताउनुस् ।’ 

नेपालले बैठकको सुरुवात यसरी गरेपछि उपाध्यक्ष रावलले ओलीसँगको वार्ता सकारात्मक दिशामै अगाडि बढेको ब्रिफिङ गर्दै दुई अध्यक्ष र अधिकारमा मिल्ने स्थिति रहेको जानकारी गराएका थिए । ‘ब्रिफिङ सुनेपछि माधव कमरेडले त्यसो भए ठीकै छ, सबैको कुरा पनि सुनियो, जे हो त्यसलाई टुंग्याइहालौँ, विलम्ब नगरौँ भनेर बैठक समापन गर्नुभो,’ एक स्थायी कमिटी सदस्यले भने । 

नेता रघुजी पन्तले वरिष्ठ नेता नेपालले एकताकै पक्षमा जोड दिएको जानकारी दिए । ‘कमरेडहरू सबैको एकताको भावनासँग मेरो पनि एकरूपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ,’ नेपालको भनाइ उद्धृत गर्दै पन्तले भने । 

ओली पक्षसँग वार्तामा तत्काल सहमति भए मंगलबार या बुधबारसम्म वरिष्ठ नेता नेपाल भेटवार्ताका लागि समेत तयार भएका छन् । ‘ठ्याक्कै सहमति नै भइसकेको अवस्था त होइन । तर, मंगलबार बिहान दुवैतर्फका चार नेता बसेर सहमतिको प्रस्तावलाई अन्तिम रूप दिने कोसिस गर्छौँ,’ वार्तामा सक्रिय नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले भने, ‘अध्यक्ष कमरेड र वरिष्ठ नेताले सहमतिको प्रस्ताव हेरेपछि उहाँहरूबीच भेटवार्ता तय हुन सक्छ ।’

संस्थापनबाट लगातार वरिष्ठ नेता नेपालसँग संवाद गरिरहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले छलफल सकारात्मक दिशामै अगाडि बढेकाले ओली र नेपालबीच एक–दुई दिनकै बीचमा भेटवार्ता भएर सहमति हुन सक्ने सम्भावना औँल्याए । ‘मैले तपाईंलाई पहिलेदेखि नै भन्दै आएको छु, एमालेमा अब यो वा त्यो पक्ष छैन । अब दुई नेताहरूको चाँडै भेटघाट तथा संवाद हुन्छ । चाँडै भनेको आज (मंगलबार) पनि हुन सक्छ, तर समय र ठाउँ यकिन भइसकेको छैन ।’ 

नेपाल समूहको बैठकमा उपाध्यक्ष रावलले ओली–नेपालबीच भेट गराउने गरी छलफलको प्रक्रिया अन्तिम चरणतिर पुगेको जानकारी गराएका थिए । दुवै पक्षबाट वार्तामा संलग्न चार नेताहरूले सहमतिको मस्यौदा बनाउन नसके समानान्तर संरचनालाई एकैपटक क्रियाशील बनाउने नेपाल पक्षको तयारी छ । पछिल्ला वार्तामा संस्थापनबाट नेम्वाङ र उपमहासचिव विष्णु पौडेल तथा नेपाल पक्षबाट उपाध्यक्ष रावल र सुरेन्द्र पाण्डे संलग्न छन् । 

बेदुराम भुसाल, नेता, एमाले

वार्ताकार साथीले सम्मानजनक एकताका लागि समान हैसियतकै अध्यक्ष र अधिकारमा पनि कुरा मिल्ने देखिएकाले एकताको सम्भावना सकारात्मक रूपमा अगाडि बढेको ब्रिफिङ गर्नुभएको थियो । त्यसैले यदि सकारात्मक छ भने दुई–तीन दिनभित्रै एकता टुंग्याइहालौँ, नेता–कार्यकर्तालाई धेरै अन्योलमा राख्नुहुन्न, होइन भने विकल्पसहित अगाडि बढ्न सजिलो हुन्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ ।

सरकारमा तत्काल नजाने, तर अन्तर्संघर्ष चर्काएर ओली पक्षमाथि दबाब सिर्जना गर्ने रणनीतिसहित गत ४ र ५ चैतको राष्ट्रिय भेलालाई तीव्रतासहित कार्यान्वयन गर्ने नेपाल पक्षको तयारी छ । राष्ट्रिय भेलाबाट नेपाल पक्षले संस्थापनसँग न समर्पण न विभाजनको नीति लिएको थियो ।

तर, नेपाल पक्षमा रहेका सचिव भीम आचार्यले तत्कालको प्राथमिकता एकता नै भएको बताए । ‘हामीले एकता गर्ने भनेरै निर्णय गरेका छौँ । यसको अर्थ सम्मानजनक एकताका लागि अहिले भइरहेका कुराकानीलाई अगाडि बढाउने भन्ने हो,’ आचार्यले भने, ‘धेरै क्वालिफाई गर्नेभन्दा पनि सरसल्लाह गरेर केमा कुरा मिल्छ, त्यहीमा सहमति गर्ने भन्ने निष्कर्ष छ ।’

वार्तामा सहभागी नेताहरूले सम्मानजनक एकताका लागि ओली तयार नभए सामूहिक निर्णयसहित अर्को विकल्पमा अगाडि बढ्न आफूहरूको पनि साथ रहने वरिष्ठ नेता नेपाललाई ढाडस दिएका छन् । ‘हामीले सम्मानजनक एकताकै निम्ति गृहकार्य गरेका छौँ । तर, ओली मान्नुभएन भने हामी अर्को विकल्पमा कसरी अगाडि बढ्ने सवालमा माधव कमरेडकै साथमा हुनेछौँ, सँगसँगै अगाडि बढ्नेछौँ भनेर उहाँहरूले ढुक्कका साथ ढाडस दिनुभएको छ’ एक स्थायी कमिटी सदस्यले भने । 

छलफलका क्रममा स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शब्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिँदै मुख्य नेताका अभिव्यक्तिले पार्टी एकता प्रक्रियामा आँच नपुगोस् भन्नेतर्फ सम्बद्ध पक्षले ध्यान दिनुपर्ने राय व्यक्त गरेको नेता रघुजी पन्तले जानकारी दिए । 

१०औँ महाधिवेशनको बहस आरम्भ गर्दै संस्थापन पक्ष 
एमालेको संस्थापन पक्षले दशौँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीको नेतृत्व र केन्द्रदेखि स्थानीय तहसम्मको सांगठनिक ढाँचा तथा संरचनाबारे पार्टी विधानमा २२ साउनबाट खुला छलफल सुरु गर्ने भएको छ । 

स्थायी कमिटीको सोमबारको बैठकले २२ साउनबाट पार्टीको विधानबारे खुला छलफल आरम्भ गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले नवौँ महाधिवेशनबाट नीति र नेतृत्वको बेग्लाबेग्लै महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार एमालेले २७ र २८ भदौमा विधान महाधिवेशन र ४ र ५ मंसिरमा नेतृत्व चयन गर्ने महाधिवेशनको मिति तय गरिसकेको छ । 

‘विधान कस्तो बनाउने भन्नेबारेमा छलफल गर्नेछौँ, पार्टी निर्माण र संगठनको काममा केन्द्रित भएका साथीहरूका बीचमा २२ साउनमा अनौपचारिक खुला छलफल राख्नेछौँ,’ बैठकको निर्णय जानकारी गराउँदै ज्ञवालीले भने, ‘२४ साउनमा बस्ने केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव मस्यौदा पास गरेर छलफलका लागि जिल्ला कमिटीहरूमा पठाइनेछ ।’ 

उनले नवौँ महाधिवेशन हुँदा मुलुकमा संघीय प्रणाली लागू नभइसकेकाले परिवर्तित परिस्थितिलाई समेत मध्यनजर गर्दै केन्द्रमा पदाधिकारीदेखि स्थानीय तहसम्मका सांगठनिक संरचनामा केन्द्रित रहेर विधान महाधिवेशनमा छलफल हुने जानकारी दिए ।

‘पार्टीका संरचनाहरूलाई कसरी छरितो बनाउने, नेतृत्व कस्तो हुने, पदाधिकारी कति हुनेजस्ता विषयमा केन्द्रित रहेर विधान संशोधन प्रस्तावअघि खुला छलफल गराइनेछ,’ ज्ञवालीले भने । 

बैठकले महाधिवेशन तयारीको कामलाई गति दिन नौवटा केन्द्रीय विभाग पनि गठन गरेको छ । जसअनुसार उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग, सुवास नेम्वाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग, विष्णु रिमालको नेतृत्वमा दुई सदस्यीय आर्थिक विभाग गठन भएको छ । 

त्यस्तै, प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग, भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन प्रवद्र्धन विभाग, अध्यक्ष केपी ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभाग, डा. राजन भट्टराईको नेतृत्वमा १४ सदस्यीय विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा ६ सदस्यीय निर्वाचन विभाग र देवेन्द्र दाहालको नेतृत्वमा १४ सदस्यीय स्थानीय तह विभाग गठन भएको पनि ज्ञवालीले जानकारी दिए ।
 

ad
ad