प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न संवैधानिक आयोगको कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ । समितिको सोमबार बसेको बैठकले कतिपय आयोगले आफ्नो कार्यक्षेत्रसमेत टुंगो लगाउन नसकेको निष्कर्ष निकाल्दै असन्तुष्टि जनाएको हो ।
समितिको कार्यक्षेत्रभित्र राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, थारू आयोग र मुस्लिम आयोग पर्छन् । ती कतिपय आयोगले आफ्नो कार्यक्षेत्रसमेत टुंगो लगाउन नसकेको अवस्था रहेकाले उनीहरूलाई आफ्नो कार्यक्षेत्रमा ध्यान दिन सचेत गराउनुपरेको समितिकी सभापति निरुदेवी पालले जानकारी दिइन् ।
उनले गाडी खरिद गर्ने, भत्ता लिने मात्रै काम गर्नु बेठीक भएको भन्दै ती आयोगलाई सचेतसमेत गराइन् । उनले भनिन्, ‘बल्लबल्ल गठन भएको आयोगले कार्यक्षेत्र नै टुंग्याउन सकेको छैन । काम के त भन्दाखेरि जम्माजम्मी गाडी खरिद गर्न दुई–दुई करोड लग्या छ । गाडी खरिद गरेको छ । एकै दिनमा तीनवटा प्रदेशमा काम भएको देखाउनुभएको छ । भत्ता लिएको छ । यो बेठीक हो ।’