१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
शुरोजंग पाण्डे काठमाडाै‌
२o८१ बैशाख ३० आइतबार १o:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

पार्टी एकताका लागि नेपालले खोजे संसद्को पूर्णकार्यकालको सुनिश्चितता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:१o:oo

एमाले वरिष्ठ नेता माधव नेपालले पार्टी एकताका लागि संसद्को कार्यकाल पूरा हुने सुनिश्चितता अध्यक्ष केपी ओलीबाट खोजेका छन् । पार्टी निर्णय र पत्राचारमा दुई अध्यक्षको हस्ताक्षरको माग गर्दै आएका नेपालले पुनस्र्थापित प्रतिनिधिसभाको कार्यकाल पूरा हुनुपर्ने र त्यसका लागि पार्टी संस्थापन पक्ष तयार हुनुपर्ने माग राखेका हुन् ।  ‘प्रतिनिधिसभा पुनस्र्थापना संविधान र लोकतन्त्रको रक्षासँग जोडिएको विषय हो । त्यसैले यसको कार्यकाल पूरा हुनुपर्छ भन्नेमा माधव कमरेडको स्पष्ट अडान छ । उहाँले यो विषय अध्यक्ष ओलीकहाँ पठाउनुभएको छ,’ नेपालनिकट स्रोतले भन्यो । ओलीले दुवैपटक (५ पुस र ७ जेठ) गरेको संसद् विघटनविरुद्ध नेपाल कानुनी र राजनीतिक लडाइँमा उत्रिएका थिए ।

नेपालले समान हैसियतविनाको दोस्रो अध्यक्षको प्रस्ताव पनि अस्वीकार गरेका छन् । आइतबार बसेको एमाले स्थायी कमिटी बैठकमा एकता प्रयासबारे सुवास नेम्वाङ र विष्णु पौडेलले ‘ब्रिफिङ’ गरेका थिए । उनीहरूले नेपालले अर्को अध्यक्ष बस्न अस्वीकार गरेको जानकारी दिँदै विश्वासको वातावरणका लागि आफ्नो समूहको स्वामित्व हुने गरी समान अधिकारको विषय उठाएको बताएका थिए ।

‘उहाँहरूले माधव नेपाल कमरेडले अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गर्नुभएको जानकारी गराउनुभयो,’ स्थायी कमिटी सदस्य किरण गुरुङले भने, ‘एकताको हलो कहाँ अड्किएको भन्ने प्रस्ट छैन । तर, उहाँले पार्टी निर्णयमा संयुक्त हस्ताक्षरको सुनिश्चितता खोज्नुभएको हो भने पनि त्यसले पार्टीको संगठनात्मक सिद्धान्तलाई चुनौती दिन्छ र समस्या समाधान होइन, झन् थपिन्छ ।’ गुरुङले यस्तो नजिर भविष्यका लागि समस्या हुने पनि बताए । ‘पार्टी त विधि र पद्धतिले चलाउने हो । यदि अविश्वास मात्रै गर्ने हो भने किन एउटै पार्टीमा बस्ने भन्ने स्वाभाविक प्रश्न उठ्छ,’ गुरुङले भने, ‘महाधिवेशनबाट चुनिएको अध्यक्षकै बराबर अधिकार र हस्ताक्षर खोज्दा भोलि अर्को महाधिवेशनमा अध्यक्षमा पराजित नेताले त्यस्तै प्रस्ताव राख्यो भने के गर्ने ? दुवैजनाको हस्ताक्षर चल्ने भनेपछि एकजनाका कारण उम्मेदवारै छनोट भएन भने के गर्ने ?’

एमालेमा एकता र महाधिवेशनको समानान्तर तयारी 
त्यसैबीच एमालेले पार्टीमा आन्तरिक एकता सुदृढीकरणको प्रयास र दशौँ महाधिवेशनको तयारीलाई समानान्तर रूपमा अगाडि बढाउने भएको छ । बैठकले आन्तरिक एकता सुदृढ गर्ने प्रयास जारी राख्दै महाधिवेशनको तयारी अगाडि बढाउने निर्णय लिएको छ । बैठकले त्यसका लागि कार्ययोजना पनि बनाएको छ । एमालेले आगामी ४ र ५ मंसिरमा हुने दशौँ महाधिवेशनपूर्व २७ र २८ भदौमा विधान महाधिवेशनको मिति तय गरिसकेको छ ।

बैठकमा अध्यक्ष ओलीले नेपाल समूहसँगको एकताको प्रयास जारी राख्दै महाधिवेशन तयारीसहितका संगठनात्मक गतिविधिलाई अगाडि बढाउने बताएका थिए । ‘अहिले जो–जो साथीले एकताका सम्बन्धमा सकारात्मक पहल गरिरहनुभएको छ, त्यो प्रयास जारी राख्नुहोस्,’ ओलीलाई उद्धृत गर्दै स्थायी कमिटी सदस्य मणि थापाले नयाँ पत्रिकासँग भने, ‘तर, पार्टीले महाधिवेशन तयारीसहितका आफ्नो संगठनात्मक गतिविधि रोक्दैन ।’ 

बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा र संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । त्यस्तै, संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । त्यसलाई अन्तिम रूप दिन आगामी साता केन्द्रीय कमिटी बैठक आह्वान गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, बैठकले आगामी असोजको पहिलो हप्ता देशका सबै वडामा वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिकास्तरमा पार्टी अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । एमालेले आगामी ४ र ५ मंसिरमा काठमाडौंमा दशौँ महाधिवेशन आयोजना गर्दै छ ।

दमन र निष्कासन सुरु भइसक्यो, प्रतिरोध गर्छौँ :  ओली 
एमाले अध्यक्ष केपी ओलीले सरकारले दमन र निष्कासन सुरु गरेको आरोप लगाउँदै आवश्यकताअनुसार प्रतिवाद र प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् । स्काउटको कार्यक्रममाथि दमन गरिएको र अघिल्लो सरकारले गरेका नियुक्तिमा निष्कासनको सुरुवात गरिएको भन्दै ओलीले आफ्नो पार्टी प्रतिरोधमा उत्रिने चेतावनी दिएका हुन् । ओलीले वरिष्ठ नेता नेपालले दक्षिणपन्थी सरकार बनाउने कामको अगुवाइ गरेको आरोप दोहोर्‍याए । ‘प्रतिगमन भन्दै प्रतिगामी कदम चाले । संविधान बचाउन भन्दै असंवैधानिक काममा लागे ।

विचारमा होइन स्वार्थमा केन्द्रित भए,’ ओलीले भने, ‘पाँचदलीय गठबन्धन भनेको छ, आफ्नो पार्टीको सरकारलाई भुइँमा पछारेर पार्टीकै नेता सत्तापक्षीय भन्दै हिँडेका छन् । योभन्दा बेसरम । यस्ता घिनलाग्दा दृश्यहरू हामीले बन्द गर्नुपर्छ ।’  ओलीले नेपाल पक्षले इमान, नैतिकता गुमाएर दक्षिणपन्थी सरकार बनाउन सहयोग पुर्‍याएको आरोप पनि लगाए । ‘पार्टीका केही तत्व, बिग्रिएका तत्व, महत्वाकांक्षी तत्वले यो स्थिति ल्याए । निष्ठा, इमान सबै छाडेर दक्षिणपन्थीलाई सघाउन हिँडे,’ उनले भने ।

 

ad
ad