१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
सम्पादकीय प्रिन्ट संस्करण

सदस्यमा कांग्रेसको अनुहार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:३७:oo

नेपाली कांग्रेस नेपाली राजनीतिमा पाँच दशक पुरानो दलका रूपमा क्रियाशील छ । समकालीन नेताहरूमा उमेरले सबैभन्दा पाका र पुराना नेता पनि कांग्रेसमा छन् । १५औँ महाधिवेशनको निकट रहेको कांगे्रस यतिवेला क्रियाशील सदस्यहरूको अन्तिम नामावली तयार गर्ने कसरतमा छ । कांग्रेसभित्र जहिले पनि महाधिवेशनअघि सक्रिय सदस्यताको विषयलाई लिएर मारमुंग्री चल्ने गर्छ । अनशन, विवाद, बहिष्कार र हात हालाहालसम्म हुन्छ ।

यसपालि पनि कतै अनशन, कतै हात हालाहाल र कतै प्रतिनिधिसभा सदस्यबाटै राजीनामाका धम्कीमाझ कांग्रेस आफ्नो सक्रिय सदस्यतासम्बन्धी विवादलाई किनारा लगाउँदै छ । मंगलबार मात्र सदस्यतासम्बन्धी विवाद टुंगो लगाउन गठित समितिले प्रतिवेदन बुझाएको छ । यो प्रतिवेदनले समेटेको सदस्यतासम्बन्धी विवरणले कांग्रेसलाई आफ्नै अनुहार हेर्ने अवसर दिएको छ । यसले कांग्रेसको ऐनामा केही आशालाग्दा र केही निराशाजनक चित्रहरू देखाएको छ ।

युवा सदस्यको संख्या उल्लेख्य देखिनु सकारात्मक भए पनि महिला, दलित, मधेसीलगायत समुदायको उपस्थिति न्यून देखिनुले कांग्रेस नेपाली समाजको वास्तविक प्रतिबिम्ब बन्न नसकेको संकेत गरेको छ

कांग्रेसको सदस्यता विवरणले देखाएको आशालाग्दो पक्ष भनेको युवाहरूको अझै पनि कांग्रेसमा देखिएको आकर्षण हो । विवरणअनुसार कांग्रेसमा १६ देखि २५ वर्ष उमेर समूहका सदस्यहरूको संख्या ४.९ प्रतिशत रहेको छ । त्यसैगरी, २६ देखि ४० वर्ष उमेर समूहका सदस्यको संख्या दुई लाख २९ हजार रहेको छ । यसले कांग्रेसमा युवापुस्ताको उपस्थिति प्रभावशाली रहेको देखाउँछ । कांग्रेसको केन्द्रीय नेतृत्वमा ६० कटेकाहरूको बाहुल्य रहे पनि कांग्रेसको निर्णायक शक्ति भने ६० वर्षमुनिका सदस्यहरूकै रहेको छ । ६१ वर्षमाथिका सदस्यको संख्या १० प्रतिशतभन्दा पनि कम छ । एउटा राजनीतिक दलको भविष्य त्यसमा नयाँ र युवा उमेर समूहका सदस्यको भर्ती कति हुन्छ भन्नेमा धेरै हदसम्म निर्भर रहन्छ । जुन दलमा नयाँ पुस्ताको आकर्षण रहँदैन, त्यसको भविष्य पनि हुँदैन । नेपाली राजनीतिमा लामो समयसम्म विद्यार्थीबाटै पार्टी राजनीतिमा प्रवेश गर्ने परम्परा रहेको छ ।

विद्यार्थी नेताहरू नै पछि गएर पार्टीका नेता बन्ने गरेका छन् । कांग्रेसका शेरबहादुर देउवादेखि विमलेन्द्र, प्रकाशमान, मीनेन्द्र, बालकृष्ण, गगन, विश्वप्रकाशजस्ता नेतासम्म आइपुग्दा चौथो पुस्ताको विद्यार्थी नेतृत्वले पार्टीमा अगुवाइ गरिरहेको छ । एमाले र माओवादीको नेतृत्वमा पनि विद्यार्थीकालमै सक्रिय रहेकाहरूको बोलबाला छ । भीम रावल, घनश्याम भुसाल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, पम्फा भुसाल, बाबुराम भट्टराई, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, देव गुरुङहरू सबै विद्यार्थी हुँदा नै आन्दोलन र पार्टी राजनीतिमा प्रवेश गरेका नेताहरू हुन् । यिनीहरूको प्रवेशले पार्टीलाई नयाँ पुस्तामाझ पुर्‍याउन मद्दत गर्ने र समाजसँग दलको संवादलाई निरन्तरता दिने काम गरेको हो ।

पछिल्लो समय युवाहरूमा राजनीतिप्रति वितृष्णा बढेको भनिएको अवस्थामा समेत युवाहरूको उल्लेख्य संख्या देखिनु कांग्रेसका लागि उत्साहजनक नै हो । तर, कांग्रेसी राजनीतिको अँध्यारो चित्र भने यसको समावेशी स्वरूपमा देखा पर्छ । कांग्रेस मूलतः पहाडे बाहुन, क्षेत्री पुरुषहरूको दलजस्तो देखिन्छ । महिला, दलित, मधेसीलगायत समुदायको उपस्थिति अत्यन्त न्यून देखिनुले कांग्रेस नेपाली समाजको वास्तविक प्रतिबिम्ब बन्न नसकेको देखाउँछ । यो केवल संख्याको प्रश्न होइन, हामी कस्तो राजनीतिक भविष्य निर्माण गर्न चाहन्छौँ भन्ने प्रश्न पनि हो । कांग्रेस, एमाले र माओवादीजस्ता राजनीतिक दलहरूले पनि, आफूलाई समावेशी बनाउन सकेनन् भने त्यसले समाजमा विद्यमान विभेद र असमानताको शक्ति सम्बन्ध बदल्न होइन, निरन्तरता दिन मात्र सहयोग गर्छ भन्नेतिर यी दलको ध्यान जानुपर्ने देखिन्छ ।

ad
ad