१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण १३ बुधबार ११:३९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ओलम्पिकमा एलेक्सको राष्ट्रिय कीर्तिमान

Read Time : > 2 मिनेट
२०७८ श्रावण १३ बुधबार ११:३९:००

नेपालका पौडीबाज एलेक्जान्डर ग्लाडिगाड शाह (एलेक्स शाह)ले ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका छन् । जापानको टोकियोमा सञ्चालन भइरहेको ओलम्पिकमा एलेक्सले मंगलबार सय मिटर फ्रिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका थिए । उनले टोकियो एक्वेटिक सेन्टरमा निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । 

एलेक्सले सहभागी जनाएको इभेन्ट्समा ७० जना खेलाडी थिए । समग्रमा एलेक्स ५९औँ स्थानमा रहेका छन् । आफ्नो हिट्स इभेन्ट्समा शीर्ष स्थानमा रहे पनि एलेक्स अर्को चरणमा पुग्न सकेनन् । एलेक्सले आफ्नै रेकर्ड तोडेका हुन् । सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा एलेक्सले ५४ः१३ सेकेन्डको कीर्तिमान बनाएका थिए । सय मिटर हिट्समा एलेक्ससहित सातजनाले प्रतिस्पर्धा गरेका थिए ।

१३औँ सागमा सय मिटर फ्रिस्टायलमा राखेको आफ्नै ५४.१३ सेकेन्डको रेकर्डलाई एलेक्स शाहले टोकियो ओलम्पिकमा तोडेका छन् । उनले मंगलबार सय मिटर हिट्समा ५३.४१ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए । आफ्नो इभेन्ट्समा एलेक्स पहिलो भए पनि दोस्रो चरणमा पुग्न सकेनन् । 

एलेक्सले कोसोभोका ओल्ट कोन्डिरोली र प्यालेस्टाइनका याजान अल बावावलाई निराश पारे । ओल्ट र याजान क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहे । यो इभेन्ट्समा दक्षिण एसियाली राष्ट्र नेपाल, भुटान र माल्दिभ्सका खेलाडी सहभागी छन् । यसैगरी कोसोभो, प्यालेस्टाइन, सोलोमन आयरल्यान्डका समेत खेलाडी थिए । सुरुको ल्यापदेखि नै एलेक्सले अग्रता लिए । उनले पहिलो ५० मिटर केवल २५.८१ सेकेन्डमा पूरा गरे ।

पहिलो ल्यापमा कोसोभोका ओल्टले २६.०१ सेकेन्डमा सकाएका थिए । प्यालेस्टाइनका याजानले ५० मिटरको पहिलो ल्याप २६.०२ सेकेन्डमा पूरा गरे । दोस्रो ल्यापमा एलेक्सले अन्तिम २५ मिटरबाट स्पिड बढाए । थोरै सेकेन्डमा उनले कोसोभोका खेलाडीलाई पछि पार्दै शीर्ष स्थान हात पार्न सफल भए । यस इभेन्ट्समा गुएनाका एन्डेय फल्वेर चौथो तथा भुटानका सान्गय तेन्जिङ चौथो स्थानमा रहेका छन् । 

माल्दिभ्सका मुबाल अजाम इब्राहिम छैटौँ भए । सय मिटर फिस्टायलमा अन्तिम १६ खेलाडी सेमिफाइनलमा पुगेका छन् । टोकियो ओलम्पिकमा नेपालबाट गौरिका सिंहले बुधबार पौडीमै सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् । गौरिकाको यो दोस्रो ओलम्पिक यात्रा हो । गौरिकाको नजर राष्ट्रिय कीर्तिमान बनाउनु नै हुनेछ । गौरिकाले सय मिटर फ्रिस्टायलमा ५९.६० सेकेन्डको रेकर्ड राखेकी छिन् । 

उनले यो कीर्तिमान नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बनाएकी थिइन् । गौरिकाले आठौँ राष्ट्रिय खेलकुदमा आफू सहभागी सबै इभेन्ट्समा स्वर्णपदक जितेकी थिइन् । यसैगरी उनले १३औँ सागमा चार स्वर्ण हात पारेकी थिइन् । यसअघि नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । सुटिङको दश मिटर एयर राइफलमा कल्पना परियारले राष्ट्रिय रेकर्ड राखेकी थिइन् । उनले आफ्नै रेकर्ड तोड्ने क्रममा ओलम्पिकमा ६१८.८ को नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । 
यसैगरी जुडोकी सोनिया भट्ट ४८ केजी तौल समूहको पहिलो चरणमै पराजित भइन् । कल्पना विश्व महिला जुडोकै नवौँ वरीयता प्राप्त रसियन खेलाडी इरिना डोल्गोभसँग एक मिनेट १६ सेकेन्डमै पराजित भएकी थिइन् । सोनिया निप्पोन आधारमा हारेकी हुन् । जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले सय मिटर दौडमा प्रतिस्धर्पा गर्नेछिन् । 

एलेटिक्समा नेपाली टोलीको व्यवस्थापक नै भएन 

नेपाल ओलम्पिक कमिटी (एनओसी) का सहमहासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष पिताम्बर तिम्सिना टोकियो ओलम्पिकमा नजाने भएका छन् । केही समयदेखि अमेरिकामा बस्दै आइरहेका तिम्सिनाले मंगलबार सामाजिक सञ्जालमार्फत आफू टोकियो ओलम्पिकमा नजाने जानकारी दिएका हुन् । नेपाल एथेटिक्स संघका उपाध्यक्षसमेत रहेका तिम्सिना यसै खेलका व्यवस्थापकका रूपमा ओलम्पिकमा जाने तयारीमा थिए । 

तिम्सिनाले अचानक विविध कारणले टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएका छन् । ‘विविध कारणले टोकियो ओलम्पिकमा सहभागी हुन नसकेको जानकारी गराउन चाहन्छु,’ एनओसीका सहमहासचिव तिम्सिनाले फेसबुकमा लेखेका छन् । उनी टोकियो ओलम्पिकमा सहभागी नहुने भएपछि अब एलेटिक्समा व्यवस्थावकविहीन भएको छ । यसअघि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला पनि एलेटिक्सकै व्यवस्थापक भूमिकामा टोकियो जाने लिस्टमा थिए । 

राखेपका उपाध्यक्ष कोइरालाले ओपम्पिक सुरु हुनुअघि नै विज्ञप्ति जारी गर्दै आफू त्यसतर्फ नजाने घोषणा गरे । एथलेटिक्सका दुई–दुईजना व्यवस्थापक ओलम्पिकमा नहुने भए पनि समस्या नहुने तिम्सिनाको भनाइ छ । ‘खासै समस्या हुँदैन, टोकियोमा अन्य साथीहरू पनि हुनुहुन्छ,’ तिम्सिनाले नयाँ पत्रिकासँग भने, ‘मैले टोकियो ओलम्पिकमा सहभागी नहुने जानकारी गराइसकेको छु ।’ एथलेटिक्सको प्रशिक्षक सन्तोष श्रेष्ठले नै व्यवस्थापकको जिम्मेवारी सम्हाल्ने तिम्सिनाले बताए । ‘अब प्रशिक्षकले नै व्यवस्थापकको जिम्मेवारी लिनेछन्,’ उनले भने, ‘व्यवस्थापनमा कुनै कमी आउने छैन ।’ 

नेपालबाट ओलम्पिकमा सहभागीमध्ये एथलेटिक्स खेल सुरु देखि नै विवादित बनिरहेको छ । लामो समयदेखि तयारी गरिरहेका गोपीचन्द्र पार्की अन्तिम समयमा ओलम्पिक गुमाए । एनओसी र एथलेटिक्स संघले पार्कीको स्थानमा धाविका सरस्वती चौधरीलाई मौका दिए । एनओसी र संघकै असामान्य गल्तीका कारण नै पार्कीको ओलम्पिक खेल्ने सपना तुहिएको हो । यो विवाद सेलाउन नपाउँदै एनओसीले एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्लको स्थानमा प्रारम्भिक सूचीमै रहेका प्रशिक्षक सन्तोषलाई ओलम्पिकमा पठाउने निर्णय गर्‍यो । 

प्रशिक्षक मल्लको कोरोना परीक्षण गर्दा पजिटिभ आएपछि एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले गत साता मल्लको स्थानमा सन्तोषलाई एथलेटिक्स प्रशिक्षकका रूपमा ओलम्पिकमा सहभागी हुने जानकारी गराएका थिए । प्रशिक्षक मल्लले पोजेटिभ आएको भोलिपल्ट नै चारवटा विभिन्न ल्याबमा कोरोना परीक्षण गराउँदा नेगेटिभ आएको बताइन् । उनले एउटै रिपोर्टको आधारमा ओलम्पिकबाट नाम हटाइदा आफूमाथि अन्याय भएको प्रतिक्रिया दिँदै आइरहेकी छिन् ।