परम्परागत रुपमा खेती हुँदै आएको लमजुङमा पछिल्ला वर्षहरुमा व्यवसायिक खेती र घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ। जिल्लाका कृषक तथा उद्यमीहरु नाफामूखी र व्यवसायिक कृषितर्फ आकर्षित भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय लमजुङको तथ्यांकले देखाएको छ।
कार्यालयका अनुसार जिल्लामा हालसम्म घरेलु तथा साना उद्योगहरुको संख्या ४ हजार सात सय नाघेको छ। जिल्लामा ०४४/४५ सालयता हालसम्म सञ्चालनमा रहेका घरेलु र साना उद्योगहरुको संख्या ४ हजार ७४८ पुगेको कार्यालयका प्रमुख तोपलाल भुषालले बताए।
दर्ता भएका अधिकांश उद्योगमध्ये कृषि फार्म, कृषि औजार, ब्युटिपार्लर, पर्यटन, दालमोठ, बेकरी, सिलाईकटाई, कुटानीपिसानी, अलैंची, बंगुर फार्म, मौरीपालन उद्योगलगायत रहेको प्रमुख भुषालले जानकारी दिए।
‘जिल्लामा कृषि फार्म र उत्पादनमूलक उद्योगहरु थपिने क्रम बढिरहेको छ,’ भुषालले भने ‘उद्योग सञ्चालक र उद्यमीमा ४० वर्ष ननाघेका युवाहरुको संख्या पनि ठूलै छ।’ आर्थिक वर्ष ०७७/७८ मा २६ वटा घरेलु तथा ४४ वटा वाणिज्यतर्फका उद्योग खारेज भएको कार्यालयले जनाएको छ ।
एक वर्षमै ९६९ उद्योग थपिए
कार्यालयका अनुसार आ.व ०७७/७८ मा जिल्लामा ९५९ घरेलु तथा साना उद्योग थपिएका छन्। गत आ.व ०७६/७७ मा जिल्लामा ६६९ घरेलु तथा साना उद्योग खुलेका थिए। अन्य वर्षभन्दा कोरोना महामारीका कारण पनि यो वर्ष कृषितर्फ आर्कषण बढेको छ।
वाणिज्यतर्फ ४ हजार ६६१ उद्योग दर्ता
कार्यालयमा हालसम्म वाणिज्यतर्फका ४ हजार ६६१ उद्योग दर्ता भएका छन् । कार्यालयमा आ.व ०७७/७८ मा ६४० वाणिज्यतर्फको उद्योग दर्ता हुँदा आ.व ०७६/७७ मा ७६२ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ । मुख्य बजारहरु बेसीशहर, सुन्दरबजार, भोटेओडार, भोर्लेटार र खुदीमा अत्यधिक संख्यामा व्यवसाय सञ्चालनमा आएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कृषि फार्ममा आर्कषण
पछिल्ला वर्षहरुमा जिल्लामा व्यवसायिक कृषि फार्ममा समेत युवापुस्ताको आर्कषण बढेको छ। सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना ल्याएपछि व्यवसायिक कृषि फर्म खुल्नेक्रम बढेको हो। परम्परागत खेतीबाट उल्लेख्य आम्दानी लिन नसकिने भएकाले पनि व्यवसायिक कृषिमा आकर्षण बढेको हो। लमजुङमा अलंैची, मौरीपालन, बाख्रापालन, बंगुरपालन, प्रशोधन लगायतका उद्योग बढी दर्ता भएको कार्यालयले जनाएको छ।
घरेलु तथा साना उद्योगमा ४ अर्ब बढीको लगानी
आ.व ०७१/७२ देखि हालसम्म जिल्लामा ४ अर्ब बढी लगानी भएको कार्यालयले जनाएको छ । जिल्लामा सञ्चालित उत्पादनमूलक, सिलाई कटाई, कृषि औजार, पर्यटन, सेवामूलक, उद्योग, कृषि र वन पैदावरसम्बन्धी उद्योगमा सबैभन्दा धेरै लगानी भएको छ ।
सिलाईकटाई उद्योग र पर्यटन उद्योगमा महिला उद्यमीको सङख्या बढी रहेको कार्यालयका प्रमुख तोपलाल भुषालले जानकारी दिए। पछिल्लो समय ग्रामीण क्षेत्रदेखि सदरमुकामसम्म खुलेका घरेलु तथा साना उद्योगको उत्पादन र निर्यातमा समेत वृद्धि भएको छ।