मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ८ शुक्रबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका सोलुखुम्बु
२o७८ श्रावण ८ शुक्रबार १३:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुका ६ स्थानीय तह प्रशासनिक भवनविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
२o७८ श्रावण ८ शुक्रबार १३:o२:oo

मुलुक संघीय संरचनामा गएको चार वर्ष पुगे पनि सोलुखुम्बुका ६ स्थानीय तहले प्रशासनिक भवन बनाउन सकेका छैनन्। जिल्लाको एक नगरपालिकासहित पाँच गाउँपालिकाले अझै प्रशासनिक भवन बनाउन नसकेका हुन्। 

सोलुदूधकुण्ड नगरपालिकाले भवन बनाउन हालसम्म जग्गाको समेत टुंगो लगाउन सकेको छैन । उपयुक्त जग्गाको खोजमा रहेको प्रमुख प्रशासकीय अधिकृत लालबाबु कवारीले बताए।

लिखुपिके गाउँपालिकाको केन्द्र चौलाखर्क तोकिएको छ। यद्यपि, गाउँपालिकाले प्रशासनिक भवन निर्माणकार्य भने अघि बढाउन सकेको छैन। 

यस्तै, महाकुलुङ गाउँपालिकाको पनि आफ्नै प्रशासनिक भवन छैन। साउन मसान्तसम्ममा जग्गाको व्यवस्थापन गरेर काम अघि बढाउने गाउँपालिका अध्यक्ष सागर किराँती बताउँछन्। सोताङ गाउँपालिकाको भने भवन निर्माणाधीन अवस्थामा छ। गत वर्षदेखि भवन निर्माणको काम भइरहेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कार्की बस्नेतले बताइन्। 

यता माप्य दूधकोसी गाउँपालिकाले भने भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गरिसके पनि निर्माणकार्य भने सुरु गरेको छैन। गाउँपालिका उपाध्यक्ष जुनितामाया मगर अब छिट्टै नै भवन निर्माणकार्य सुरु गर्ने बताउँछिन्।

जिल्लाका दुई स्थानीय तह थुलुङ दूधकोसी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले भने आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गरिरहेका छन्।