मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मञ्जु टेलर काठमाडाैं
अर्जुन अधिकारी काठमाडाैं
२०७८ श्रावण ७ बिहीबार ११:००:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दुई करोड १२ लाख नागरिकलाई खोप दिने लक्ष्य : ६६ लाख डोज आयो, ७४ लाख आउने सुनिश्चित

Read Time : > 6 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ श्रावण ७ बिहीबार ११:००:००

सरकारले दुई करोड १२ लाख नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । तर, बुधबारसम्म ६५ लाख ८२ हजार पाँच सय ८० डोज प्राप्त गरेको छ भने ७४ लाख डोज खोप आउने सुनिश्चित भएको छ । उपलब्ध भएको खोपमध्ये १८ लाख डोज मात्रै सरकारले खरिद गरेको हो, बाँकी सबै अनुदानमा प्राप्त गरेको हो ।

गत वर्षको ८ माघमा पहिलोपटक भारतले १० लाख डोज कोभिसिल्ड खोप सहयोग गरेको थियो । त्यसयता भारतसँगै चीन र अमेरिकाबाट पनि खोप प्राप्त भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतबाट अनुदानमा ११ लाख र खरिद गरेको १० लाख कोभिसिल्ड खोप प्राप्त भएको छ । त्यसबाहेक कोभ्याक्समार्फत पनि भारतले तीन लाख ४८ हजार डोज खोप उपलब्ध गराएको छ । चीनबाट अहिलेसम्म अनुदानमा १८ लाख डोज र खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आएको छ । अमेरिकाले कोभ्याक्समार्फत १५ लाख ३४ हजार पाँच सय ८० डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको छ । एक डोज मात्र लगाए पुग्ने यो खोप सरकारले अहिले नागरिकलाई दिइरहेको छ । 

नेपालले चीनबाट ४० लाख डोज भेरोसेल खरिद गर्ने निर्णय गरेको छ । त्यसमध्ये आठ लाख आइसकेको छ भने आठ लाख डोज ल्याउन बुधबार राति नेपाल एयरलाइन्सको जहाज बेइजिङ गएको छ । 

 त्यस्तै, भारतबाट खरिद गरिएको २० लाख डोज कोभिसिल्ड खोपमध्ये १० लाख डोज आउन बाँकी छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार भारतले चाँडै पठाउने प्रतिबद्धता जनाएको छ । त्यस्तै, जापान सरकारले चाँडै अनुदानमा १६ लाख एस्ट्राजेनेकाको खोप दिने घोषणा गरिसकेको छ । 

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभ्याक्स सुविधामार्फत ४० लाख डोज मोडर्ना र ४० लाख डोज फाइजरको खोप खरिदका लागि प्रस्ताव गरेको छ । तर, यसको सुनिश्चितता भइसकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लगाउन मिल्ने फाइजरको खोप खरिदको प्रक्रियाबारे स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग जानकारी लिएका छन् । 

कतिले लगाए खोप ?
सरकारले दुई करोड १२ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ । १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि फाइजरको खोप उपलब्ध भए थप ३५ लाखलाई खोप दिने योजना छ । तर, बुधबारसम्म ११ लाख ४३ हजार एक सय २६ जनाले कोभिसिल्ड र भेरोसेलको दुवै डोज प्राप्त गरेका छन् । एक डोज मात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप ८१ हजार तीन सय ५२ जनाले लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेलकोे दुवै डोज ६ लाख ८२ हजार तीन सय ९२ जनाले पाएका छन् । १४ लाख २३ हजार चार सय ४७ नागरिक पहिलो डोज लगाएर दोस्रो डोजको प्रतीक्षामा छन् । त्यस्तै, कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार चार सय ८४ जनाले पाएका छन् भने चार लाख ६० हजार सात सय ३४ जनाले दुवै डोज लगाएका छन् । 

२० प्रतिशतभन्दा माथि नै छ संक्रमणदर 
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पाँच प्रतिशतभन्दा माथिको कोरोना संक्रमणदरलाई आपत्कालीन मानेको छ । तर, नेपालमा अहिले पनि संक्रमणदर २० प्रतिशतभन्दा माथि छ । 

कोरोनाको दोस्रो लहर उत्कर्षमा रहँदा संक्रमणदर ५०.५ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि क्रमशः घटेको संक्रमणदर एक महिनादेखि २०–२२ प्रतिशतको वरिपरि छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय सबैभन्दा कम १९ प्रतिशतसम्म संक्रमणदर झरेको थियो । ‘पहिलो लहरको क्रममा संक्रमणदर उच्चतम ४५ प्रतिशत र न्यून हुँदा पाँच प्रतिशतमुनि पुगेको थियो । तर, दोस्रो लहरमा १९ प्रतिशतभन्दा तल झर्न सकेको छैन,’ मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले भने । 

संक्रमणदर कम नहुँदै सरकारले निषेधाज्ञा खोलेका कारण संक्रमणदर पुनः बढ्न थालेको विज्ञहरूको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार १२ हजार ६ सय १६ जनाको कोरोना परीक्षण गर्दा दुई हजार आठ सय ३८ जनामा संक्रमण देखिएको छ, जुन २२.४९ प्रतिशत हो । बुधबार संक्रमणबाट ३० जनाको मृत्यु भएको छ । 

अहिलेसम्म ६ लाख ७२ हजार आठ सय ७१ संक्रमित भएका छन् । तीमध्ये ६ लाख ३६ हजार चार सय दुईजना निको भएका छन् । २६ हजार आठ सय ३२ अहिले पनि उपचाररत छन् । संक्रमित भएकाको १.५ प्रतिशतको मृत्यु भएको छ । बुधबारसम्म मृत्यु हुनेको संख्या नौ हजार ६ सय ३७ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये २४ हजार तीन सय ४० जना घरमै बसेका छन् भने दुई हजार चार सय ९२ जना अस्पतालमा उपचाररत छन् । उनीहरूमध्ये ६ सय २७ जना आइसियू र एक सय ७१ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

अब खोप अभाव हुँदैन : डा. रोशन पोखरेल सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

अहिले खोपप्रति नागरिकको उत्साह बढेको छ । सरकारले हरेक स्थानीय तहमा खोप केन्द्र सञ्चालन गरेको छ । भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप दिइरहेका छौँ । अब नियमित रूपमा खोप उपलब्ध हुन्छ।

चीनबाट अनुदानको १६ लाख र खरिद गरेकोमध्ये आउन बाँकी ३२ लाख डोज आउँदै छ । यता भारतबाट पनि खरिद गरेको १० लाख डोज चाँडै आउने प्रतिबद्धता प्राप्त भएको छ ।

जापान सरकारले पनि एस्ट्राजेनेकाको १६ लाख डोज केही दिनभित्रमा पठाउने भनेको छ । चीनबाट आठ लाख खोप ल्याउन बुधबार राति मात्रै जहाज गएको छ । कोभ्याक्स सुविधामार्फत मोडर्ना र फाइजरका ४०–४० लाख डोज, जोन्सन एन्ड जोन्सनको थप ५० लाख र एस्ट्राजेनेकाको २० लाख डोज खोप खरिदका लागि प्रस्ताव गरेका छौँ, तर निश्चित भइसकेको छैन ।

दुई करोड १२ लाख नागरिकलाई खोप लगाउने सरकारको लक्ष्य छ । १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजरको खोप उपलब्ध भए थप ३५ लाखलाई लगाउने योजना छ ।

संसारभर दैनिक पौने चार करोडले लगाउँछन् खोप

अहिले संसारभर दैनिक तीन करोड ८४ लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाइरहेका छन् । एजेन्सीहरूका अनुसार विश्वका एक सय ९० देशका नागरिकले तीन अर्ब ७३ करोड डोज खोप लगाइसकेका छन् । २६.६ प्रतिशत जनसंख्याले पहिलो डोज र १३.२ प्रतिशतले पूर्ण खोप पाएका छन् । 

चीन, भारत र अमेरिकाले मात्रै प्रयोग गरेका छन् दुईतिहाइ खोप
चीन, अमेरिका र भारतले मात्रै अहिलेसम्म उत्पादित खोपको दुईतिहाइ परिमाण प्रयोग गरेका छन् । चीनले आफ्ना नागरिकलाई डेढ अर्ब डोज खोप दिइसकेको छ । त्यस्तै, भारतले ४१ करोडभन्दा बढी र अमेरिकाले ३३ करोड ८५ लाख डोज खोप आफ्ना नागरिकलाई लगाएको छ । अतिकम विकसित ४७ देशमा भने १.१ प्रतिशत जनसंख्याले मात्रै खोप लगाउन पाएका छन् । यी मुलुकमा पूर्ण खोप पाउनेको संख्या एक प्रतिशत पनि छैन । 

२०२१ को अन्त्यसम्म १२ अर्ब डोज खोप उत्पादन हुने
अहिलेसम्म प्रयोगका लागि अनुमति पाइसकेका खोपका उत्पादक कम्पनीहरूले सन् २०२१ को अन्त्यसम्ममा १२ अर्ब डोज उत्पादन गर्ने अनुमान गरिएको छ । जुन विश्वका ७० प्रतिशतभन्दा बढी जनसंख्यालाई लगाउन पुग्छ । खोपको समतामूलक वितरण हुने हो भने सन् २०२१ को अन्त्यसम्ममा विश्वले ‘हर्ड इम्युनिटी’ प्राप्त गरिसक्नेछ । विश्वको सात अर्ब ९० करोड जनसंख्यालाई ‘हर्ड इम्युनिटी’ प्राप्त गर्न ७० प्रतिशतलाई खोप लगाए पुग्ने विज्ञहरूको भनाइ छ । यति जनसंख्यालाई ११ अर्ब डोज खोप आवश्यक हुन्छ । 

देशभर कहाँ कतिले लगाए खोप ?

कास्की : ६६,२५२

कास्कीमा भेरोसेल र कोभिसिल्ड खोप एक लाख ३० हजार डोज तथा जोन्सन एन्ड जोन्सनको २५ हजार डोज खोप पुगेको छ । ६५ हजारले कोभिसिल्ड र भेरोसेल तथा एक हजार दुई सय ५२ जनाले जोन्सनको खोप लगाएको जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले बताए । 

रुपन्देही : ५८,००० 

रुपन्देहीमा पठाइएका ६० हजार खोपमध्ये ५८ हजार नागरिकलाई लगाइसकिएको छ । बुधबारसम्ममा लक्षित समूहका ४६ हजार र अत्यावश्यक सेवाका १२ हजारले खोप लगाएको जिल्ला जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले बताए । 

चितवन : ५८,७३२

चितवनमा अहिलेसम्म ५८ हजार सात सय ३२ जनाले खोप लगाएका छन् । भरतपुर महानगरपालिकाको प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत केशवप्रसाद भट्टका अनुसार  तापक्रम व्यवस्थापन गरेर खोप राख्ने उपकरणको अभाव हुनुका साथै ढुवानीमा समेत समस्या छ ।

पर्सा : ६०,५०० 

पर्सामा अहिलेसम्म  ६० हजार पाँच सयले खोप लगाएका छन् ।  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विभिन्न चरणमा गरेर ४५ हजारले कोभिसिल्ड र १५ हजार पाँच सयले भेरोसेल खोप लगाएका छन् । पर्सामा खोप भण्डारणका लागि कुलिङ सेन्टरको अभाव छ । सरकारले नियमित रूपमा खोप पठाए पनि भण्डारणका लागि पर्याप्त फ्रिज नभएको स्वास्थ्य कार्यालय पर्साका कोल्ड चेन्ज निरीक्षक मोहन साहले बताए । ‘कोेभिसिल्ड खोप आएका वेला पनि भण्डारणका लागि फ्रिज अभाव भएको थियो,’ साहले भने, ‘अहिले भेरोसेलमा पनि समस्या यथावत् छ ।’ कार्यालयमा अहिले चार सय खोप मौज्दात रहेको उनले जानकारी दिए । 

विराटनगरमा खोपको व्यग्र प्रतीक्षा
विराटनगर महानगरपालिकाले २५ र २६ जेठमा चलाएको अभियानअन्तर्गत ज्येष्ठ नागरिकले पनि उत्साहजनक रूपमा सहभागी भएर खोप लगाएका थिए । उनीहरू दोस्रो डोजको प्रतीक्षामा छन् । सुरुवाती दिनमा अनेक भ्रम रहे पनि अहिले कोरोना महामारीबाट जोगिने एक मात्रै विकल्प खोप भएको सचेतना बढेसँगै खोपको माग बढेको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश बस्नेतले बताए । 

खोपको अत्यधिक माग रहेका वेला गत १४ जेठमा तिनपैनी चोकस्थित बन्द रहेको सिनेमा हलभित्र करिब दुई सयजना पहुँचवालालाई सुटुक्क खोप लगाइएको थियो । सामाजिक विकास मन्त्रालयको जिपमा आएका स्वास्थ्य कार्यालयका कर्मचारीले गोप्य रूपमा भेला गरी खोप लगाएको स्थानीयले थाहा पाएपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गर्नुपरेको थियो ।

सुर्खेत : ४७,५६० ले लगाए खोप
सुर्खेतमा अहिलेसम्म ४७ हजार पाँच सय ६० जनाले खोप लगाएका छन् । चार लाख २३ हजार जनसंख्या रहेको सुर्खेतमा १८ वर्षभन्दा माथिको जनसंख्या दुई लाख ३० हजार रहेको छ । ती सबै खोपको प्रतीक्षामा छन् । तर, सरकारले अहिले घोषणा गरेको लक्षित समूहकै सबैलाई पनि खोप पुर्‍याउन सकेको छैन । कर्णालीकै कालिकोटमा आठ हजार एक सय ४०, मुगुमा पाँच हजार नौ सय ३६, रुकुम पश्चिममा १२ हजार एक सय ८४ र दैलेखमा २५ हजार चार सय सातजनाले खोप लगाएका छन् । 

झापा : ज्येष्ठ नागरिकले पाएनन् दोस्रो डोज
झापामा पहिलो डोज लगाएका ४४ हजार दुई सय ५१ जना ज्येष्ठ नागरिक र केही शिक्षकले अझै दोस्रो डोज पाउन सकेका छैनन् । स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार फागुन अन्तिम साता पहिलो डोज कोभिसिल्ड खोप लगाएका उनीहरूका लागि दोस्रो डोज खोप आउन सकेको छैन । पर्याप्त मात्रामा खोप नआउँदा खोप लगाउने वेलामा समस्या हुने गरेको उनले बताए । ‘खोपसम्बन्धी जनचेतना बढेको छ । पर्याप्त खोप आउँदैन । माथिबाट नै उमेर समूह तोकेर आउँछ,’ उनले भने, ‘तर, खोप लगाउन सबै उमेर समूहको आउनुहुन्छ । त्यसकारण समस्या हुँदै आएको छ ।’

कैलालीमा १४,६०० ले लगाए भेरोसेल 
सुदूरपश्चिममा हालसम्म तीन लाख ३७ हजार मात्रा खोप आइपुगेको छ । दुई लाख ४९ हजार मात्रा कोभिसिल्ड र ८८ हजार आठ सय मात्रा भेरोसेल आएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ । यी दुवै खोप दुई मात्रा लगाउनुपर्छ । खोप लगाउनेमध्ये स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीको संख्या ठूलो छ । प्रदेशभरि कतिले खोप लगाए र खोप लगाउने संख्या कति हो भन्ने यकिन तथ्यांक स्वास्थ्य निर्देशनालयसँग छैन । स्वास्थ्य आपूर्तिले आइतबार–सोमबारसम्म खोप पुग्ने जानकारी आएको जनाएको छ । आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम विष्टले प्रदेशभरिका लागि जोन्सन एन्ड जोन्सन कम्पनीको एक लाख ४१ हजार र भेरोसेलको एक लाख ९७ हजार खोप पठाउने जानकारी केन्द्रले दिएको बताए ।

बाँकेमा ५०,५४६ ले लगाए खोप
बाँकेका केही स्थानमा लक्षित समूहबाहिरले पनि पहुँचका आधारमा खोप लगाएका छन् । सरकारले ६२–६४ उमेर समूहका लागि मात्र दिएको भेरोसेल खोप १८ वर्षमाथिका धेरैले लगाएको पाइएपछि डुडुवा गाउँपालिकाका स्थानीयले विरोध जनाएका थिए । स्थानीयले विरोध जनाएपछि सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालयले छानबिन गर्न टोली पठाएको थियो । बाँकेमा डुडुवामा मात्र नभई नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी, नरैनापुरलगायत गाउँपालिकामा पनि लक्षित उमेरभन्दा कम उमेरकाले खोपसेवा लिएको खुलासा भएको छ ।