मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हेमन्त केसी जाजरकोट
२०७८ श्रावण ७ बिहीबार ०७:५६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

भेरी करिडोरअन्तर्गत जाजरकोट खण्डको काममा तीव्रता

Read Time : > 2 मिनेट
२०७८ श्रावण ७ बिहीबार ०७:५६:००

जगदुल्ला जलविद्युत् आयोजनालाई राहत

जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि बाधक मानिएको भेरी नदीको पुल निर्माण प्रक्रिया सुरु भएको छ । सडक डिभिजन चौरजहारीले आइतबार वोलपत्र आह्वान गरी पुल निर्माणका साथै भेरी करिडोरको स्तरोन्नतिको काम अगाडि बढाएसँगै जगदुल्ला जलविद्युत् निर्माण प्रक्रिया अगाडि बढेको हो । 

छिन्चु–जाजरकोट सडक खण्डभित्र सबै पुल निर्माण पूरा भई जाजरकोट सदरमुकाम पिच पूरा भए पनि डोल्पा खण्डभित्र सबै ठाउँमा पुल निर्माण नहुँदा समस्या हुँदै आएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले अघिल्लो वर्षदेखि जाजरकोट सदरमुकामनजिकै पासागाडलाई जिरो प्वाइन्ट मानेर पिचको काम सुरु गरेको थियो । पासागाड–रिम्नासम्म १७ किलोमिटर पिच गर्ने पहिलो चरणको काम जारी रहँदा, दोस्रो चरणका लागि रिम्ना, चिसापानी हुँदै तल्लुसम्मका लागि बोलपत्र आह्वान गरेपछि जाजरकोट खण्डको करिब ८० प्रतिशत सडक स्तरोन्नतिको प्रक्रिया अगाडि बढेको छ । जाजरकोट–डोल्पा सडक खण्डको जाजरकोटको अन्तिम भाग त्रिवेणी भए पनि नलगाड नगरपालिकाको तल्लुबाट रुकुम पश्चिम भएर सडक डोल्पा पुग्छ । 

जाजरकोट खण्डको सबै भागमा स्तरोन्नतिको काम एकैपटक सुरु भएसँगै सर्वसाधारण खुसी भएका छन् । सोही सडकसँग जोडिएको मुख्य भाग नलगाड नगरपालिकाको तल्लु र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा पुलको ठेक्का खोलेसँगै जाजरकोट खण्डको पूरै कामले गति लिएको हो । पुल र सडक निर्माण कार्यले तीव्रता पाएसँगै डोल्पाको जगदुल्ला जलविद्युत् निर्माणमा सहज भएको छ । 

जाजरकोट, डोल्पा र रुकुम पश्चिमको सिमाना रहेको त्रिवेणीस्थित भेरी नदीमा सय मिटर लामो पुल जगदुल्ला जलविद्युत् आयोजनाले अघिल्लो वर्ष नै बोलपत्र खोलेर काम जारी रहेको आयोजनाका प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । जाजरकोट खण्डको सर्वाधिक समस्या रहेको झुर्मेखोला र नलगाड नदीको पुलसमेत निर्माण कार्य पूरा भएर यातायात सञ्चालन भइसकेका छन् । सडक डिभिजन चौरजहारीले ती पुल निर्माण गरेको डिभिजन प्रमुख धु्रवकुमार झाले जानकारी दिए । जाजरकोट–डोल्पा सडक खण्डका सबै पुलहरू निर्माण कार्य जारी रहँदा जाजरकोट खण्डका ७० प्रतिशत पुल पूरा भएका छन् । अहिले साना–साना पुल मात्र निर्माण कार्य जारी रहेको डिभिजन प्रमुख झाले जानकारी दिए ।

जाजरकोट–डोल्पा सडक खण्डभित्र रहेका पुलहरू निर्माण कार्य सुरु भएसँगै सर्वाधिक अप्ठ्यारो मानिएको र तुइनमार्फत यातायातका साधन वारपार गरिरहेको ठाउँ तल्लुस्थित भेरी नदीको समस्या समाधान हुने डिभिजन प्रमुख झाले बताए । अहिले जाजरकोट–डोल्पा सडक निर्माणका लागि सरकारले ५१ करोड रकम विनियोजन गरेको छ । नलगाड जलविद्युत् आयोजना (४१७ मेगावाट), जगदुल्ला जलविद्युत् आयोजना (१०६ मेगावाट) र तासुगाड जलविद्युत् आयोजनाका (४ मेगावाट) साथै भेरी ए, बी र सीजस्ता आयोजनाहरूसमेत यही भेरी करिडोरभित्र पर्छन् ।

त्यस्तै, नलगाड नगरपालिका–७ दानीपिपलमा निर्माण कार्य जारी रहेको ४०० केभी प्रसारण लाइनका सबस्टेसन र ३३ केभी (चौखा) प्रसारण लाइनको सबस्टेसन निर्माणस्थलहरू नलगाड नगरपालिकाभित्र पर्छन् । यी सबै आयोजना जाजरकोट–डोल्पा सडक खण्डकै बीचमा पर्ने भएकाले सडकको स्तरोन्नति तथा पुल निर्माणसँग विद्युत् आयोजनाहरूको निर्माण कार्यले समेत गति लिने भएका हुन् । 

कहाँ पुग्यो जगदुल्ला निर्माण 
स्वदेशी लगानीमा निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको जग्गा अधिग्रहणको काम सम्पन्न भएको छ । आयोजनालाई आवश्यक पर्ने २ सय ६० रोपनी जग्गा अधिग्रहण भइसकेको र त्यसका लागि मुआब्जासमेत वितरण भइसकेको आयोजानका प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । विस्तृत परियोजना प्रतिवेदनको कामसमेत सम्पन्न भएको छ । 

आयोजना निर्माणका लागि २० अर्ब लाग्ने अनुमान गरिएको छ । अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको अहिले वातावरणीय अध्ययन कार्य जारी रहेको छ । एनई इन्जिनिरिङले सो काम सम्पन्न गरेर पुस मसान्तसम्म आयोजनालाई प्रतिवेदन बुझाउने सम्झौता गरेको छ । त्रिवेणीस्थित भेरी नदीमा १०० मिटर लामो पुलको कामसमेत आयोजना आफैँले निर्माण गरिरहेको छ ।

आयोजनाको विद्युत् उत्पादन गृहमा अहिले टेस्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापनका लागि दुईवटा भवन निर्माण कार्य चलिरहेको छ । वातावरणीय अध्ययन कार्य अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, ठेकेदार छनोट प्रक्रियासमेत यो आर्थिक वर्षमा अगाडि बढाई आउँदो आर्थिक वर्षदेखि निर्माण कार्य सुरु गर्न लागिएको छ ।