मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ३ आइतबार १४:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै पूर्वराष्ट्रपतिका छोरा डा. चन्द्रमोहनले थाले अनशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ३ आइतबार १४:o१:oo

पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसहित धनुषाका तीन कांग्रेस नेता अनशन बसेका छन् । क्रियाशील सदस्यता छानबिनमा धनुषाका क्षेत्र नं. १ र ४ मा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै पूर्वराष्ट्रपतिपुत्र संविधानसभा सदस्य डा. चन्द्रमोहन यादव, नेताहरू रामपल्टन साह र दिनेश नायकले आइतबार बिहान साढे ११ बजेदेखि अनशन थालेका हुन् ।

पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरिीत नयाँ क्रियाशील सदस्यता वितरण गरेकोविरुद्धमा आफूहरू अनशनमा बस्नुपरेको डा. यादवले बताए । उनीहरूले त्यस सम्बन्धमा जिल्ला कार्यसमितिले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । 

१४औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसमा अहिले क्रियाशील सदस्यता छानबिनको काम चलिरहेको छ । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील छानबिन गरे पनि अधिकांश जिल्लामा विवाद सुल्झाउनुको सट्टा विभिन्न बाहनामा क्रियाशील सदस्यताबाट वञ्चित गर्न खोजिएको भन्दै नेता–कार्यकर्ताले विरोध गरिरहेका छन् । यसअघि बारा क्षेत्र नं. २ का नेताहरूले पनि केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए । 

क्रियाशीलकै नाममा असन्तुष्टि व्यक्त गर्दैै सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतसमेतको टोलीले समितिका सदस्य एवं कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि हातपातमै उत्रिए । 

महाधिवेशनको मिति नजिकिए पनि क्रियाशील सदस्यताको काम नसकिँदा कांग्रेसको महाधिवेशन अन्योलग्रस्त बनेको छ । सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छानबिन समितिले सर्वसम्मत काम गर्न र विवाद भएका विषयहरू पदाधिकारी तथा पूर्वपदाधिकारीसमक्ष छलफलका लागि पेस गर्न भनेका छन् ।

छानबिन समितिले अहिलेसम्म बारा र सप्तरीबाहेक ७५ जिल्लाको क्रियाशील सदस्यता छानबिन गरिसकेको छ । कांग्रेसमा यसपटक क्रियाशील सदस्यको संख्या नौ लाख पुग्ने समितिको अनुमान छ ।