Skip This
‘मोस्ट वान्टेड’ गोपी तामाङ दुई दशकपछि पक्राउ  : तर प्रहरीले पत्ता लगाउन सकेन लागुऔषधको उनको सञ्जाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २८ सोमबार
  • Monday, 08 July, 2024
नवराज मैनाली काठमाडौं
२o७८ असार २८ सोमबार ११:३२:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

‘मोस्ट वान्टेड’ गोपी तामाङ दुई दशकपछि पक्राउ  : तर प्रहरीले पत्ता लगाउन सकेन लागुऔषधको उनको सञ्जाल

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २८ सोमबार ११:३२:oo

लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)को ‘मोस्ट वान्टेड’ सूचीमा गोपी तामाङको नाम करिब डेढ दशकसम्म अग्रस्थानमा थियो । पाकिस्तानलाई आधार बनाएर नेपाललगायत विभिन्न देशमा हेरोइन तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहकी प्रमुख पात्र थिइन् गोपी । धादिङ सत्यदेवी घर भएकी उनले आफ्नै गाउँलेलाई भरिया बनाएर अन्तर्राष्ट्रिय नेटवर्क चलाएकी थिइन् । गाउँलेहरू बारम्बार लागुऔषधसहित पक्राउ परे पनि प्रहरीले उनको विस्तृत विवरणसमेत पाउन सकेको थिएन । 

गत १ वैशाखमा गोपी पक्राउ परिन् । एनसिबीले यसलाई एउटा महŒवपूर्ण सफलताको रूपमा लियो । तर, करिब तीन महिना लामो अनुसन्धानमा उनको सञ्जाल पत्ता लगाउन भने प्रहरी असफल भएको छ । जुन घटनामा संलग्नताको आरोपमा उनलाई पक्राउ गरिएको थियो, त्यसमा समेत उनको संलग्नता प्रहरीले प्रमाणित गराउन सकेको छैन ।  

गत २६ चैतमा पक्राउ परेका दावा लामा तामाङमाथि अनुसन्धान गर्ने क्रममा प्रहरी ५६ वर्षीया गोपीसम्म पुगेको हो । पाकिस्तान पुगेर फर्र्किएका तामाङमाथि शंका लागेर अनुसन्धान गर्दा उनको पेटबाट नौ सय ग्राम हेरोइन बरामद भएको थियो । क्याप्सुल बनाएर निली उनले लागुऔषध नेपालमा तस्करी गरेका थिए । दावालाई धादिङकै होनिमाया तामाङले पाकिस्तान पठाएर हेरोइन तस्करीमा लगाएकी थिइन् । जसमा बयसबहादुर गुरुङको समेत संलग्नता खुलेकोमा तीनैजना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । 

होनिमायामाथि अनुसन्धान गर्दा उनी र गोपीबीच सम्बन्ध देखिएको थियो । होनिमायाको मोबाइलमा गोपीको नम्बर भेटिएको र ह्वाट्सएपमा उनीहरूबीच कुराकानी हुने गरेको आधारमा प्रहरी गोपीसम्म पुगेको हो । थप प्रमाण नहुँदा नौ सय ग्राम खैरो हेराइन बरामद भएको पछिल्लो मुद्दामा गोपीलाई प्रतिवादी बनाइएको छैन । जबकि सो तस्करीमा गोपीको समेत संलग्नता देखिएको भन्दै प्रहरीले गत ९ वैशाखमा पत्रकार सम्मेलन नै गरेको थियो । 

 दावा : गोपीपछि होनिमायासँग पाकिस्तान पुगेर नौ सय ग्रामबराबरको हेरोइनका क्याप्सुल खाएर नेपाल आएका दावा प्रहरीका लागि नौलो नाम होइन । ३० चैत ०६५ मा दावासहितका व्यक्तिलाई प्रहरीले एक सय ४८ ग्राम सेतो हेरोइनसहित पक्राउ गरेको थियो । 

बालाजु वसन्तनगरस्थित गोपी तामाङकै घरबाट दावासहित अनिता गुरुङ, नरेश तामाङ, तिलमाया तामाङ, मुइसाङ तामाङ र डोलकुमारी तामाङ पक्राउ परेका थिए । तिलकुमारी तामाङले सो हेरोइन पाकिस्तान पुगेर ल्याएकी थिइन् । सो लागुऔषध किन्ने दुई नाइजेरियन नागरिकलाई समेत प्रहरीले पक्राउ गरेको थियो । त्यतिवेला गोपी पाकिस्तानमै थिइन् ।

अनुसन्धानका क्रममा दावा पाकिस्तान गएर हेरोइन ओसार–पसारमा संलग्न रहेको खुल्यो । जसमा प्रहरीले आठजनालाई पक्राउ गरेर तथा दुईजनालाई फरार अभियुक्त बनाएर मुद्दा चलाइएको थियो । दावालाई पाँच वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । पाँच वर्ष जेल बसेर छुटेपछि फेरि उनी लागुऔषधकै दुनियाँमा फर्किए । फेरि पाकिस्तान गएर फर्कँदा उनी पक्राउ परेका थिए । सो अभियोगमा गोपी तामाङको मुद्दा मुल्तवीमा राखिएको थियो ।

उनको विस्तृत विवरण पत्ता नलागेपछि खुलेको अवस्थामा मुद्दा चलाउने गरी मुल्तवीमा राखिएकोमा गत २ वैशाखमा अदालतमा पेस गरिएको थियो । जसमा अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाएको छ । पछिल्लोपटक बरामद भएको नौ सय ग्राम हेरोइनको घटनामा होनिमाया नाइके देखिएको प्रहरीले जनाएको छ ।

उनले दावालाई नै पाकिस्तान जाने खर्च दिएर पठाएका थिए । उहाँ भेट्ने व्यक्तिको विवरण ह्वाट्सएपबाट पठाएका थिए । सामान्य लेखपढ मात्र गर्न सक्ने उनले अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर यति ठूलो तस्करी गराएकोमा कतिपय प्रहरी विश्वस्त छैनन् । अर्काेतर्फ, विगतमा उनको यस्तो अपराधमा संलग्नतासमेत देखिएको थिएन । यसमा गोपीकै भूमिका भएको आशंका गरिए पनि प्रहरीले त्यसलाई पुष्टि गर्न सकेको छैन ।

विगतमा गोपीकै निर्देशनमा हेरोइनको कारोबार गर्ने दावा यो मुद्दामा पक्राउ परेकाले पनि यसमा गोपीको संलग्नताको आधार दिन्छ । तर, पक्राउ परेकाले पनि गोपीको नाम नलिएको र प्राविधिक अनुसन्धानबाट त्यसलाई पुष्टि गर्न नसकिएको ब्युरोले जनाएको छ । गोपी पेसेवर भएकाले उनले आफ्नो ‘लिंक’ नदेखिने गरी यो काममा संलग्न भएको प्रहरी आशंका छ । उनको विषयमा थप अनुसन्धान जारी नै रहेको हालै ब्युरोको प्रमुखमा सरुवा भएका एसएसपी हृदय थापा बताउँछन् । 

विगतमा गोपीकै गिरोहमा आबद्ध भएका २५ भन्दा धेरै व्यक्ति हाल नेपालका जेलमा रहेको ब्युरोका डिएसपी फणिन्द्र प्रसाईं बताउँछन् । धादिङ सत्यदेवीकै कतिपय थाइल्यान्डको जेलमा छन् । त्यसमध्ये कतिपय गोपीकै कारण जेल परेको ब्युरोका एक अधिकारी बताउँछन् । थाइल्यान्डमा लागुऔषधको गिरोहमा केही नेपाली अझै सक्रिय रहेको र तिनीहरूसँग गोपीको सम्बन्ध हुन सक्ने प्रहरी आशंका छ । यो मुद्दामा पक्राउ परेका बयसबहादुर पनि झन्डै तीन दशकदेखि लागुऔषधको दुनियाँमा रहेका व्यक्ति हुन् । ०५० मा उनी चार सय ९९ ग्राम हेरोइनसहित पक्राउ परेकोमा १५ वर्ष जेल बसेर छुटेका थिए । अहिले उनी कसरी गोपीनिकट समूहसँग जोडिए भन्ने खुल्न सकेको छैन । 

 सत्यदेवीदेखि पाकिस्तानसम्म 
०५८ सालदेखि नै लागुऔषध नियन्त्रण ब्युरो (तत्कालीन लागुऔषध कानुन कार्यान्वयन इकाइ) का प्रहरीले हेरोइन तस्करीको अन्तर्राष्ट्रिय गिरोहमा गोपीको नाम सुनेका थिए । तर, उनको बारेमा प्रहरीले विस्तृत विवरण प्राप्त गर्न सकेको थिएन । ०६५ मा बालाजुको वसन्तनगरस्थित उनको घरबाट लागुऔषधसहित केही सहयोगी पक्राउ परेपछि मात्र उनका बारेमा थप सूचना प्रहरीले पाएको थियो । सोही प्रकरणमा उनलाई पहिलोपटक फरार अभियुक्तका रूपमा प्रहरीले मुद्दा दायर ग¥यो । त्यसपछिका थप तीन घटनामा उनको संलग्नता खुलेको ब्युरोको रेकर्ड छ । 

त्यसको करिब एक वर्षपछि २६ चैत ०६६ शर्मिला तामाङ, कुलबहादुर तामाङलाई प्रहरीले एक हजार ६ सय ३१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । जसमा कालीमाया भन्ने व्यक्ति नाइके भएको खुल्यो । कालीमाया गोपी नै भएको आशंका गरिए पनि उनको विस्तृत विवरण प्रहरीले पत्ता लगाउन नसकेपछि उनलाई मुद्दा चलाइएन ।

 

हेमन्त मल्ल पूर्वडिआइजी

त्यतिवेला लागुऔषध तस्करीको अन्तर्राष्ट्रिय गिरोहमा दुई नेपालीको नाम सुनिन्थ्यो, एक गोपी तामाङ र अर्का मानसिंह घले । दुवैलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय समन्वय भए पनि उनीहरू निकै पेसेवर भएकाले सफलता मिलेको थिएन ।

अहिले सो मुद्दामा गोपीमाथि फेरि अनुसन्धान अघि बढाइएको छ । त्यतिवेला पक्राउ परेका शर्मिला र कुलबहादुरलाई अदालतले १५ वर्ष कैद र १० लाख जरिवानाको फैसला सुनाएको थियो । हाल कैलाली कारागारमा रहेकी शर्मिलाले आफूलाई तस्करीमा लगाउने व्यक्ति अहिले पक्राउ परेकी गोपी नै हुन् भनेर सनाखत गरिदिएकी छिन् । 

त्यस्तै, १२ साउन ०६७ मा ८८ ग्राम हेरोइनसहित चारजना पक्राउ परेको घटनामा पनि गोपीलाई प्रतिवादी बनाइएको छ । जसमा शम्भु तामाङ, विजय तामाङ, टेकबहादुर तामाङ र माइला तामाङ पक्राउ परेका थिए । यसमा शम्भु र विजयलाई १०÷१० वर्ष कैद र एक/एक लाख रुपैयाँ जरिवानाको फैसला भएकोमा गोपीको हकमा मुल्तबीमा राखिएको थियो । 
३ भदौ ०६९ मा बुद्धिबहादुर गुरुङ एक सय १२ ग्राम हेरोइनसहित पक्राउ परेको घटनामा पनि गोपीविरुद्ध मुद्दा दायर भएको छ । यसलाई पनि अदालतले मुल्तबीमा राखेको थियो । जुन मुद्दामा गुरुङलाई १५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय भएको छ । 

ब्युरोमा लामो समय काम गरेका नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार हेरोइन तस्करीका विभिन्न मुद्दामा उनको नाम सुनिए पनि त्यतिवेला विस्तृत विवरण प्राप्त गर्न सकिएको थिएन । ‘त्यतिवेला लागुऔषध तस्करीको अन्तर्राष्ट्रिय गिरोहमा दुई नेपालीको नाम सुनिन्थ्यो, एक गोपी तामाङ र अर्का मानसिंह घले,’ मल्ल भन्छन्, ‘दुवैलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय समन्वय भए पनि उनीहरू निकै पेसेवर भएकाले सफलता मिलेको थिएन ।’ आइस ड्रगको गिरोहमा रहेका घलेको केही वर्षअघि इन्डोनेसियामा त्यहाँको प्रहरीको गोलीबाट मृत्यु भइसकेको छ । 

सामान्य लेखपढ मात्र गरेकी गोपी सुरुमा भरिया बनेर पाकिस्तान पुगेको प्रहरीले जनाएको छ । एक तान्जेनियन नागरिकसँग उनी त्यहाँ लिभिङ टुगेदरमा बसेको र पछिल्लो समय उनीहरूबीच सम्बन्ध बिग्रिएपछि कहिले थाइल्यान्ड त कहिले इन्डोनेसिया बस्ने गरेकामा पछिल्लो समय नेपाल आएकी थिइन् । पक्राउ परेपछि कुनै पनि घटनामा आफ्नो संलग्नता नभएको उनले दाबी गरेकी थिइन् । कपनस्थित एक सामान्य डेरामा बस्दै आएको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, उनको पछिल्लो नेटवर्कबारे प्रहरीले केही पत्ता लगाउन सकेको छैन । 

 प्रहरीलाई छल्न नयाँ नागरिकता र पासपोर्ट 
प्रहरीलाई छल्न गोपीले नयाँ नागरिकता र त्यसैका आधारमा नयाँ पासपोर्ट बनाएको पाइएको छ । सुरुमा गोपी तामाङको नाममा धादिङको सत्यदेवी–५ बाट उनले नागरिकता र पासपोर्ट बनाएकी थिइन् । पछि ०७० सालमा नुवाकोटको काउले स्थायी ठेगाना राखेर उनले देवीमाया तामाङको नाममा नागरिकता र त्यसकै आधारमा पासपोर्ट बनाएकी थिइन् । नयाँ नागरिकता निकाल्नकै लागि उनले त्यहाँका एक व्यक्तिसँग बिहे गरेर नाटक गरेकी थिइन् । दोहोरो नागरिकतासम्बन्धी अपराधमा उनलाई थप अनुसन्धान गर्न नुवाकोट प्रहरीलाई पत्राचार गरिने ब्युरोले जनाएको छ ।

ad
ad
ad
ad