मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एमी विलेन्ट्ज
२०७८ असार २७ आइतबार ०९:२७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हैटी किन अशान्त छ ?

Read Time : > 2 मिनेट
एमी विलेन्ट्ज
२०७८ असार २७ आइतबार ०९:२७:००

हैटीको अवस्था मोइसको हत्याअगाडि पनि चिन्ताजनक थियो, अहिले स्थिति झन् बिग्रिएको मात्र हो 


पछिल्लो समय अमेरिकाले हैटीमा जो सत्तामा छ, उसैलाई समर्थन गर्दै आएको छ । डोनाल्ड ट्रम्पले हैटीका राष्ट्रपति जोभेनेल मोइसलाई समर्थन गरे । अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थन पाउन मोइसले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई हटाउने अभियानमा समर्थन जनाउनु पर्याप्त बनेको थियो । बाइडेन आउँदा पनि शासनमा मोइस नै थिए । उनको राजीनामा माग्दै सडकमा ठूलो प्रदर्शन हुँदासमेत उनले कार्यकाल एक वर्ष बाँकी रहेको तर्क दिएर सत्तामा टाँसिइरहे । पाँच वर्षअघि राष्ट्रपति चुनिएका मोइसको कार्यकाल सन् २०२१ मा अन्त्य हुनेवाला थियो । तर, सन् २०१७ मा ढिलो गरी शासन सुरु गरेकाले थप एक वर्ष शासन गर्न पाउनुपर्ने उनको दाबी थियो । 

मोइसको शासनकालमा एक अव्यक्त डर व्याप्त थियो– हैटी अशान्त र जटिल अवस्थामा छ र त्यसलाई ठीक पार्न खोज्नेबाट नै अवस्था झन् बिग्रिनेछ । त्यसैले बाइडेनले असंलग्नताको नीति लिए । निर्वाचित राष्ट्रपति भएको देशमा समस्या ठीक पार्न अग्रसरता लिनु उचित पनि होइन, त्यसले आलोचना मात्र पाइन्थ्यो । तर, जुलाई ७ मा उनै मोइसको हत्या भएपछि ठोस कदम चाल्न अनिच्छा देखाइरहेको अमेरिकी प्रशासनले समेत अर्को कदम सचेततापूर्वक चाल्ने मानिएको छ । तर, उसको अघि सहज विकल्प भने उपलब्ध छैन । बाइडेन प्रशासनले मोइसको पालामा सफलतापूर्वक निर्वाचन सम्पन्न भएर शान्तिपूर्वक सत्ता हस्तान्तरण हुने आशा गरेको थियो । तर, उनको हत्यासँगै त्यो आशाको पनि हत्या भयो । तर, यसको मतलब हैटीको भविष्य पूर्णतः अमेरिकामा निर्भर छ भन्ने पनि होइन र त्यसो हुनु पनि हुँदैन । इतिहास हेर्दा जब–जब अमेरिका हैटीको मामिलामा संलग्न भएको छ, स्थिति राम्रोभन्दा नराम्रो बढी भएको छ । 

सन् १९१५ मा आक्रोशित भिडले हैटीका तत्कालीन राष्ट्रपति जँ भिलवर्न गिलोम स्यामको हत्या गरेपछि अमेरिकी नौसैनिक हैटी पुग्यो । अमेरिकी व्यावसायिक स्वार्थको रक्षाका लागि हैटी पुगेको नौसेना १९ वर्षसम्म हैटीमै बस्यो । अमेरिकाको हस्तक्षेप त्यहीँ रोकिएन । सन् १९८६ मा तानाशाही जँ–क्लाउड डुभारियरको शासन जनआन्दोलन र वासिङ्टनको राजनीतिक खेलमार्फत ढल्यो । त्यसपछि सन् १९९० मा हैटीले पहिलो स्वतन्त्र र स्वच्छ चुनाव ग¥यो, जसमा पूर्वपादरी एरिस्टाइड जँ–बरट्रान्डले जित हासिल गरे । तीन वर्षपछि एरिस्टाइड कुमार्फत हटाइए, तर लगत्तै क्लिन्टन प्रशासनले उनलाई पुनर्स्थापित गर्‍यो । 


डुभालियरको नियन्त्रित शासन अवधिमा बाहेक हैटीले कहिल्यै पनि विदेशी प्रभावलाई निस्तेज गर्न सकेन । बिस्तारै हैटी अमेरिका र इन्टर–अमेरिकन डेभलपमेन्ट बैंक, विश्व बैंकजस्ता निकायमा परनिर्भर हुन थाल्यो । सन् २००४ देखि २०१७ बीचमा त्यहाँ संयुक्त राष्ट्रसंघले शान्ति सेना खटाएको थियो । यद्यपि, स्थिति सुधार हुनुको साटो हैटी पहिलेभन्दा विपन्न र अस्थिर बनेको छ । यो मुलुक आजसम्म पनि सन् २०१० को भूकम्पबाट उठ्न सकेको छैन । ड्रग्स कार्टेल र हैटीमा रहेका तिनका प्रभावले थप खराबी गरिरहेको छ । अवलोकनकर्ताहरूका अनुसार पछिल्ला वर्ष भएका अधिकांश हिंसा टोले गुन्डाहरूबीचको ग्याङफाइटबाट भयो । 

मोइसको राष्ट्रपतीय जनादेशमाथि नै प्रश्न उठेको थियो । त्यस निर्वाचनमा जम्मा २१ प्रतिशतले मात्र मत दिएका थिए । तथापि, अमेरिका र अन्य पक्षलाई मोइस स्वीकार्य भए । विशेष अहिलेको शून्यताको वातावरणभन्दा उनी धेरै नै सह्य थिए । अमेरिकी राष्ट्रपति बाइडेनले मोइसको हत्यालाई ‘अत्यन्त चिन्ताजनक’ बताएका छन् । तर, हैटीको अवस्था मोइसको हत्याअगाडि पनि चिन्ताजनक थियो । अहिलेको अवस्था झन् बिग्रिएको मात्र हो । हैटीमा अहिले न राष्ट्रपति छन्, न संसद् छ । न्यायिक प्रणाली पनि अस्तव्यस्त छ, प्रहरी र सेना निरुत्साही देखिन्छ, आपराधिक ग्याङ खुलमखुला सडकमै लड्छन् । यो शून्यताबाट कुनै तानाशाहको उदय होला, तर एक प्रजातान्त्रिक संसद् निर्वाचित भएर आउन कठिन हुन्छ । 

यस्तो विपद्का बाबजुद अमेरिकाले यो वर्षको अन्तिमसम्म हैटीमा चुनाव सम्पन्न गराउन आह्वान गरेको छ । तर, असुरक्षामाझ प्रजातान्त्रिक रूपमा राष्ट्रपति र संसद् चुनिएलान् भनेर कल्पना गर्न कठिन छ । हैटीको समस्या अमेरिकी हस्तक्षेपले समाधान गर्न सक्दैन । अहिले अमेरिकाका लागि सबैभन्दा उत्कृष्ट विकल्प पर्खिने र हेर्ने हो । अमेरिकाले हैटीलाई कुशल प्रणालीतर्फ लान सक्ने बृहत्तर नयाँ पुस्ताका प्रजातान्त्रिक कुरा सुन्नुपर्छ । 

हैटीलाई अझै पनि हतारमा हुने चुनावमार्फत सहज उम्मेदवार छान्ने मित्रभन्दा आफूले आर्थिक र राजनीतिक समर्थन गर्नेहरूको नैतिकतामा ध्यान दिने अन्तर्राष्ट्रिय मित्रसँगको सहकार्यको अवाश्यकता छ । चुनावबाट निर्वाचित व्यक्तिबाट केही पनि समस्या समाधान नभएको यो देशको इतिहासमा देखिइसकेको छ । बहुसंख्यक हैटीवासी आफ्ना संस्थानहरू निर्माण गर्न चाहन्छन् । उनीहरूमा पनि सामान्य जीवन बाँच्ने सदिच्छा छ । सबै नागरिक विद्यालय, अस्पताल र व्यवसाय खुलोस्, कोभिड–१९ सँग जुध्ने योजना होस् र सशस्त्र समूहको जोखिममुक्त सुरक्षित सडक र बजार बनोस् भन्ने चाहन्छन् । यो नै हैटीका लागि उत्कृष्ट विकल्प हो । तर, दुःखको कुरा निकट भविष्यमै यसको सम्भावना देखिँदैन । 

एमी विलेन्ट्ज युनिभर्सिटी अफ क्यालिफोर्निया,इरभिनमा पढाउँछिन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य