१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २४ बिहीबार
  • Saturday, 28 September, 2024
मेरियट होटेलमा बुधबार ओली–नेपाल भेटवार्ता । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय
२o७८ असार २४ बिहीबार o९:२७:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ओली–नेपाल ५० मिनेट ‘वान अन वान’ वार्ता : ओलीले मागे नि:सर्त सहयोग,नेपालले खोजे सम्मानजनक सहकार्य

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o७८ असार २४ बिहीबार o९:२७:oo

२३ असार : सकारात्मक भएन वार्ता
दोस्रोपटक संसद् विघटनपछि ओली–नेपालबीच पहिलो वार्ता सकारात्मक रहेन । राजनीतिक र सांगठनिक शक्ति बाँडफाँडमा सहमति नजुटेपछि वार्ता विनानिष्कर्ष टुंगिएको छ । दुवै पक्षलाई ‘विन–विन’ हुने गरी शक्ति बाँडफाँड गर्ने नेपालको प्रस्तावलाई ओलीले अस्वीकार गरेका छन् । यद्यपि, कार्यदल सदस्यहरू भने यसमा सकारात्मक देखिएको एक सदस्यले बताए । बुधबारको वार्तामा ओली र नेपालबाहेक कार्यदलमा रहेका नेताहरू भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डे पनि सहभागी थिए । वार्ताअघि ओली–नेपाल फोन–संवाद पनि भएको थियो । 

३० वैशाख : कार्यदल बनाउने सहमति
सर्वोच्च अदालतको फैसलाबमोजिम पार्टीलाई तीन वर्षअघिको संरचनामा फर्काउनुपर्ने नेपालको माग सम्बोधनका लागि कार्यदल बनाउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली सहमत भएका थिए । पार्टी एकता जोगाउन एमालेलाई २ जेठ ०७५ को अवस्थामा फर्काउनुपर्ने र २८ फागुनयताका संस्थापन पक्षका निर्णय खारेज हुनुपर्ने नेपाल–खनाल समूहको सर्त सम्बोधनका लागि कार्यदल बनाएर समाधान खोज्न ओलीले सहमति जनाएका थिए । चपलीमा ओली–नेपालबीचको करिब चार घन्टाको छलफलमा समस्या समाधानका लागि दश सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो । 

९ वैशाख : वार्तामा उही प्रस्ताव, उही अडान
ओली र नेता नेपालबीच दोस्रो वार्ता पनि निष्कर्षविहीन बनेको थियो । होटेल मेरियटमा भएको छलफलमा दुवैले पुरानै प्रस्ताव र अडान कायम राखेपछि अघिल्लो दिन सकारात्मक रहेको भनिएको वार्तामा कुनै प्रगति हुन सकेको थिएन । वार्तामा नेता नेपालले पार्टी संरचनालाई २ जेठ ०७५ मा फर्काएर २८ फागुन ०७७ पछिका निर्णयलाई खारेज गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, ओलीले आफूलाई ‘संकटमा साथ दिएका’ साथीहरूलाई दिएको जिम्मेवारी हेरफेर गर्न नसकिने जवाफ दिएका थिए ।

८ वैशाख : भेट विनानिष्कर्ष टुंगियो
एमाले अन्तर्विरोध दुर्घटनाउन्मुख भएकै वेला ओली र नेपाल संवादमा बसे पनि विनानिष्कर्ष टुंगिएको थियो । होटेल मेरियटमा भएको ‘वान अन वान’ संवादमा विवाद समाधानका लागि माओवादीसँग एकतापूर्वकै अवस्था (२ फागुन ०७५) मा फर्कनुपर्ने नेपालको प्रस्ताव ओलीले अस्वीकार गरेका थिए । ‘पार्टी विवाद समाधानका लागि म तयार नै छु । तर, पार्टीलाई माओवादीसँग एकतापूर्वकै अवस्थामा पुर्‍याउनुपर्छ,’ भेटमा ओलीसँग नेपालको प्रस्ताव थियो, ‘सहमतिको प्रस्तावबिन्दु त्यही मात्रै हो ।’ तर, ओलीको भनाइ थियो, ‘तपाईंहरूले गरेको गतिविधिका आधारमा पार्टीले निर्णय लिएको छ । ती निर्णय कार्यान्वयन गरेर जानु नै अहिलेको उत्तम विकल्प हो । अन्य विषय तपसिलका कुरा हुन् ।’

२ चैत : अत्यन्तै टर्रो संवाद 
चुलिएको आन्तरिक विवाद मत्थर पार्न शीर्ष नेताबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भए पनि नेपालले सकारात्मक नभएको प्रतिक्रिया दिएका थिए । ‘छलफलको सुरुवात निकै मीठो भयो, तर अन्त्य भने अत्यन्तै टर्रो भएको छ । हामीले २८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्यमा पु¥याइदिऊँ भनेपछि सहमति जुटेन,’ उनको भनाइ थियो, ‘यसबीचमा अनेक बैठक भएका छन्, त्यसबारेमा पनि कुरा उठेको छ ।’ 

...                                         ...

संसद् विघटनसम्बन्धी मुद्दा फैसलाको दिन नजिकिँदै गर्दा प्रधानमन्त्री केपी ओलीले आफ्नै नेतृत्वको सरकारको निरन्तरताका लागि ‘निःसर्त’ सहयोग गर्न वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्ताव राखेका छन् । तर, वरिष्ठ नेता नेपालले सरकार र पार्टी संगठनमा ‘सम्मानजनक सहकार्य’ देखिने गरी शक्ति बाँडफाँड हुँदा मात्रै पार्टी एकतालाई बचाएर लैजान सकिने जवाफ दिएका छन् । 

दुवै नेताका भिन्दाभिन्दै प्रस्तावले लामो समयपछि बुधबार भएको ‘वान अन वान’ वार्ता विनानिष्कर्ष टुंगिएको छ । दुवै पक्षका दोस्रो तहका नेताहरूको केही दिनको प्रयासपछि बुधबार मेरियट होटेलमा भएको ५० मिनेट लामो ओली–नेपाल वार्ता शक्ति बाँडफाँडमै केन्द्रित थियो । ‘प्रधानमन्त्रीज्यूले निःसर्त सहयोग माग्नुभयो । तर, नेपाल कमरेडले ‘सम्मानजनक सहकार्य’मा जोड दिनुभयो,’ एमाले कार्यदलका एक सदस्यले भने, ‘संघीयदेखि प्रदेश सरकारसम्म र पार्टी कमिटीमा पावर सेयरिङ स्वाभाविक विषय हो ।’

माधव नेपाल, वरिष्ठ नेता

‘ओलीबाट कुनै सकारात्मक प्रस्ताव आएन, जसका कारण आजको वार्तामा प्रगति भएन ।’ 

८ जेठमा भएको दोस्रोपटक संसद् विघटनपछि ओली र नेपालबीच भएको यो पहिलो वार्ता हो । संसद् विघटनपछि राजनीतिक र कानुनी लडाइँको भुमरीमा रहेको एमालेको आन्तरिक विवाद समाधानका लागि ओली–नेपालबीचको बुधबारको वार्तालाई ‘निर्णायक वार्ता’को रूपमा हेरिएको थियो । तर, शक्ति बाँडफाँडमा ओली ‘उदार’ नभएपछि वार्ता निष्कर्षमा पुग्न सकेन । ‘उता (ओली)बाट सकारात्मक प्रस्ताव आएन । जसका कारण आज (बुधबार)को वार्तामा कुनै प्रगति भएन,’ बुधबार राति वरिष्ठ नेता नेपालले नयाँ पत्रिकासँग भने । 

पार्टीमा वरिष्ठ नेता नेपालको भूमिका र सर्वोच्च अदालतको फैसलापछि सम्भावित सत्तासमीकरणको विषयमा केन्द्रित छलफल निष्कर्षमा नपुगेपछि बिहीबार पुनः बस्ने गरी दुई नेताको वार्ता टुंगिएको छ । ‘उहाँ (माधव नेपाल)ले आफ्नो समूहको शक्ति सन्तुलनको सम्बोधन र शक्ति बाँडफाँडकै विषयलाई छलफलमा प्रस्टसँग राख्नुभएको छ,’ स्रोतले नेता नेपाललाई उद्धृत गर्दै भन्यो, ‘कहीँ न कहीँ पावर सेयरिङमा अन्डरस्ट्यान्डिङ भएपछि मात्र नयाँ शिराबाट विश्वासको अवस्था सिर्जना हुन्छ, त्यसकारण तपाईंले कुल भएर सोच्नुस् भन्ने उहाँले आग्रह गर्नुभएको छ ।’ 

कार्यदलमा सामेल नेताहरूबीच अनौपचारिक छलफलमा सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री ओलीकै नेतृत्वको सरकारलाई निरन्तरता दिने कि नदिने विषयमा छलफल चलेको थियो । तर, नेपाल पक्षका नेताहरूले पार्टीको संस्थागत निर्णयका आधारमा अगाडि बढ्ने भाषा उल्लेख गरेर ओलीको विकल्पमा पनि सरकार बन्न सक्ने बाटोलाई खुला राख्नुपर्नेमा जोड दिँदै आएका थिए । ओली–नेपाल वार्तामा पनि यो विषयले प्रवेश पाएको छ । नेपाल पछिल्लोपटक विपक्षी गठबन्धनमा छन् । 

ओली पक्षकै पृथ्वी सुब्बा गुरुङलगायतका कतिपय नेताहरूले वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाएर जानुपर्ने या प्रधानमन्त्री बनाउन सकिने बाटो पनि खुला राख्नुपर्ने बताउँदै आएका छन् । दोस्रो अध्यक्ष बनाइएमा विशेषतः पार्टीले गर्ने निर्णयहरूमध्ये निर्वाचन आयोगमा गरिने पत्राचारमा दुवैको हस्ताक्षर अनिवार्य हुनुपर्ने विषयलाई नेपाल पक्षका कतिपय नेताहरूले अनौपचारिक स्तरमा उठाउँदै आएका छन् । पार्टीमा दुई अध्यक्ष बनाए तत्कालका लागि विवाद टुंग्याउन सकिने नेपाल पक्षका नेताहरूको पनि बुझाइ छ । 

त्यस्तै, केन्द्रीय कमिटीमा पूर्वमाओवादीतर्फका नेताहरू थपिएकाले नवौँ महाधिवेशनबाट प्राप्त शक्तिसन्तुलनलाई आधार मानेर आफ्नातर्फका पनि केही केन्द्रीय सदस्य थप्नुपर्ने र ती सबै विषयलाई विधान संशोधनमार्फत पूर्णता दिनुपर्ने नेपाल पक्षले माग राख्दै आएको छ । अनौपचारिक स्तरमा उठेका तिनै विकल्पमध्ये शक्तिसन्तुलन सम्बोधनसँग जोडिएको विषय मिलेपछि मात्र छलफल निष्कर्षमा पुग्ने स्रोतको दाबी छ । 

ओली–नेपाल वार्ताअघि बिहीबार साढे ११ बजे कार्यदलले तयार पारेको ६ देखि आठबुँदे मस्यौदालाई दुई नेताको ‘वान अन वान’ वार्तामा छलफल भएअनुसार परिमार्जन गर्ने तयारी छ । वान अन वान वार्ताअघि दोस्रो तहका नेताहरू ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, विष्णु पौडेल र भीमबहादुर रावल पनि केहीबेर सामूहिक छलफलमा बसेका थिए । उनीहरूले दुई नेताबीचको अलग्गै वार्ता सकारात्मक बनेको र बिहीबार पुनः बसेर विषयवस्तु टुंग्याउन प्रयास गरिने बताएका छन् ।

‘पहिले उहाँहरूसहित हामी छलफलमा बस्यौँ र त्यसपछि उहाँहरूबीच वान अन वान ५० मिनेटजति छलफल भयो, सकारात्मक ढंगले नै कुराकानी सकेर उहाँहरू उठ्नुभएको छ,’ स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नयाँ पत्रिकासँग भने, ‘कुराहरू सकारात्मक दिशातिरै अगाडि बढेकाले हामी बिहीबार कार्यदलमा बसेर छलफल गर्छौँ ।’

कार्यदलले प्रस्ताव गरेको मस्यौदामा केन्द्रित रहेर छलफल भए पनि कम्तीमा दुई बुँदा परिमार्जन गर्नुपर्ने ओली–नेपालबीच समझदारी बनेको एक नेताले बताए । नेता पाण्डेले पार्टीलाई २ जेठ ०७५ अघिको संरचनामा फर्काउने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरका विषयमा कार्यदल साझा निष्कर्षमा पुगिसकेकाले त्यसअनुसार नै मस्यौदालाई अन्तिम रूप दिइने बताए । ‘ती विषयमा कार्यदलले साझा भाषामा, साझा निष्कर्षका साथ उल्लेख गरेर जाने समझदारी जुटिसकेको छ, बिहीबार बिहान साढे ११ बजे बस्ने कार्यदलको बैठकमा पनि छलफल हुन्छ,’ उनले भने । 

त्यस्तै, उपाध्यक्ष भीम रावलले पार्टीमा लामो समयदेखि देखिएको समस्या समाधानका लागि गहिराइमै छलफल गर्नुपर्ने आवश्यकता देखिएकाले कार्यदलमा पनि त्यसअनुरूप छलफल भइरहेको र दुई नेताबीच पनि त्यही सिलसिलामा छलफल भएको जानकारी दिए । ‘लामो समयदेखि पार्टीमा देखिएका विभिन्न समस्यामा अलि गम्भीर छलफल गर्नुपर्ने र समस्या समाधान गर्ने क्रममा तदनुकूल नै कुराकानीलाई गहिराइमा लैजानुपर्ने आवश्यकताबोध गर्दै आएकाले सोहीअनुसार छलफल जारी छ । नेताहरूको बीचमा पनि वार्ता भएको छ,’ रावलले भने, ‘यो वार्तापछि जुन विषयमा प्रवेश गरेर छलफल गरिरहेका छौँ, त्यसमा कार्यदल र नेताहरूबीच पुनः छलफल गरेर समाधानका लागि कोसिस गर्नेछौँ ।’

कार्यदलमा वरिष्ठ नेता नेपाल समूहका सदस्य रघुजी पन्तले कार्यदलले छलफलबाट टुंग्याएको मस्यौदालाई अन्तिम रूप दिने, दुवै नेतालाई भेटवार्ता गराउने समझदारीअनुसार मेरियटमा छलफल भएको जानकारी दिए ।

‘हामी जे सहमतिमा पुगेका छौँ, त्यो सहमति अध्यक्ष र वरिष्ठ नेतालाई पनि जानकारी गराउनुपर्छ भन्ने कार्यदल निष्कर्षमा पुगेको थियो, त्यसकारण कार्यदलमा दुवैतर्फका संयोजकसहित दुवैजनालाई राखेर जानकारी गराउने र मस्यौदालाई अन्तिम रूप दिन छलफल भएको हो,’ पन्तले भने, ‘उहाँहरूले ठीक छ, हुन्छ नभनेसम्म अन्तिम रूप दिन नसकिने भएकैले छलफल भएको हो ।’ 

मस्यौदालाई अन्तिम रूप दिने क्रममा पनि विष्णु पौडेल र सुवास नेम्वाङलगायतले प्रधानमन्त्री ओली र भीम रावल, सुरेन्द्र पाण्डेलगायतले वरिष्ठ नेता नेपालसँग निरन्तर परामर्श गरेका थिए । ‘उहाँहरूलाई मस्यौदाबारे अनौपचारिक जानकारी भए पनि राय लिएर मात्र अन्तिम टुंगो लगाउन खोजिएको हो,’ पन्तले भने । 

दिउँसो सिंहदरबारमा कार्यदलको बैठक सकिएलगत्तै संस्थापनतर्फका संयोजक सुवास नेम्वाङले अध्यक्ष ओली र नेता नेपाललाई भेट गराउने तयारी भएको जानकारी दिएका थिए । ‘दुवै शीर्ष नेताहरूसहितको बैठक गर्ने कोसिस भइरहेको छ,’ नेम्वाङले सञ्चारकर्मीहरूसँग भनेका थिए । 

त्यस्तै, कार्यदलमा संस्थापनतर्फका सदस्य प्रदीप ज्ञवालीले छलफल निष्कर्षउन्मुख भएको र बिहीबारसम्म सबै टुंगो लाग्ने बताएका थिए भने कार्यदलमा नेपाल समूहका सदस्य गोकर्ण विष्टले सबै विषयमा करिब–करिब ठोस सहमति भएको दाबी गरेका थिए । 

तीन दिनअघि मात्रै कार्यदल ब्युँतिएपछि नेताहरू सघन छलफलमा थिए । लगातार तीन दिन कार्यदलले गृहकार्य गरेपछि सहमतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ । कार्यदल बैठकअघि बुधबार बिहान असन्तुष्ट पक्षबाट कार्यदलको नेतृत्व गरेका उपाध्यक्ष भीम रावलले नेता नेपालसँग कोटेश्वरमै गएर भेटवार्ता गरेका थिए । 

कार्यदलमा संस्थापन पक्षबाट स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी सदस्य विष्णु रिमाल थिए । नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए ।