नयाँ पत्रिका दैनिकबाट सम्पादक उमेश चौहान बिदा भएका छन् । उनको राजीनामा नयाँ प्रकाशन प्रालिले शनिबार स्वीकृत गरेको छ । विगत १४ वर्षदेखि नयाँ पत्रिकामा आबद्ध चौहान ०७५ फागुनदेखि सम्पादकका रूपमा कार्यरत थिए । त्यसअघि उनी कार्यकारी सम्पादक थिए । चौहान दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
शनिबार आयोजित बिदाइ कार्यक्रममा अध्यक्ष तथा प्रधानसम्पादक कृष्णज्वाला देवकोटाले नयाँ पत्रिकालाई अहिलेको उचाइमा पुर्याउन सम्पादक चौहानको महत्वपूर्ण भूमिका रहेको भन्दै ‘न्युज रुम’ले सधैँ सम्झिरहने बताए । ‘संस्थाको तर्फबाट उहाँलाई धेरै–धेरै धन्यवाद । आगामी दिन अझै सुखद र उत्साहपूर्ण रहून्, यसका लागि कामना छ,’ उनले भने ।
सम्पादक चौहानले व्यावसायिक रूपमा अहिले अलग भए पनि नयाँँ पत्रिकाको समाचार कक्ष आफ्ना लागि सधैँ प्रेरणाको स्रोत भइराख्ने बताए । ‘यस संस्थामा बिताएका १४ वर्षका हरेक क्षण मेरा लागि गौरवमय छन् । अध्यक्ष तथा प्रधानसम्पादक कृष्णज्वाला देवकोटाको सिर्जनशील नेतृत्वमा भएका अभ्यास, पहल र परीक्षणले नयाँ पत्रिकालाई नेपाली पत्रकारिताको भव्य पाठशाला बनाएको छ । यसको जिम्मेवार सदस्यको भूमिका पूरा गर्ने अवसरका लागि धन्यवाद दिन्छु,’ उनले भने, ‘पाठकको शुभचिन्ता र ऊर्जाशील सहकर्मीको अथाह स्नेहप्रति सदासदा ऋणी रहनेछु ।’ उनले पत्रिकाको थप प्रगतिको कामना गरे ।