१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १७ बिहीबार
  • Saturday, 28 September, 2024
क्वयेर समुदायले अंग्रेजी वर्षको जुन महिनालाई प्राइड मन्थका रूपमा मनाउने गर्छन् । सोही दिवस मनाउन आफ्नो शरीरमा पेन्टिङ गर्दै मेकअप आर्टिस्ट अनिश तामाङ । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
मञ्जु टेलर काठमाडौं
२o७८ असार १७ बिहीबार o८:४५:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

परिवार र सामाजिक विभेदको चपेटामा क्वयेर समुदाय

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार १७ बिहीबार o८:४५:oo

महामारीमा रोजगारी गुमेपछि, पहिचान खुलेपछि हुने घरेलु हिंसा, सामाजिक विभेदलगायतका कारण क्वयेर समुदायमा आत्महत्याको दर बढ्दो

लाजिम्पाट बस्दै आएका रविन (नाम परिवर्तन) लाई मेनेन्जाइटिस भएको थाहा भएपछि ब्लु डायमन्ड सोसाइटीको सहयोगमा बिहीबार वीर अस्पताल भर्ना गरियो । तर, आफन्तले शुक्रबार अल्का अस्पताल पुर्‍याए । उनको त्यहीँ मृत्यु भयो । चिकित्सकले अत्यधिक अल्कोहलका कारण मेनेन्जाइटिस भएको खुलाएपछि प्रहरीले सोधपुछ गर्दा उनले पारिवारिक समस्याका कारण आत्महत्या गर्न खोजेको पुष्टि भयो । उनले आवश्यक औषधि सेवन गरिरहेकाले ट्रान्सजेन्डर भएको परिवारका सदस्यलाई थाहा थिएन । 

ओखलढुंगा घर भएका रविन परिवारबाट छुट्टिएर केही महिनादेखि लाजिम्पाटमा आफ्नो पार्टनरसँग बस्दै आएका थिए । उनले एचआइभीको औषधिसमेत प्रयोग गरिरहेका थिए । ट्रान्सजेन्डर भएको थाहा भएपछि पार्टनरले छाडेर हिँडे । त्यसपछि उनले अत्यधिक मदिरा सेवन गर्न थाले । त्यसक्रममै उनलाई मेनेन्जाइटिस भएको थियो । शुक्रबार नीलहीरा समाजको सहयोगमा आफन्तले शव बुझेका छन् । 

पिंकी गुरुङ, अध्यक्ष, नीलहीरा समाज

कोभिडको समयमा केही राहत वितरणका कार्य भइरहेका छन्, तर सबैले यसको लाभ लिन सकिरहेका छैनन् । योसँगै बाध्यतावश पुनः यौन व्यवसायमा फर्किएकाहरूले दैनिक प्रहरीको कुटाइ खाइरहेका छन् । गत शुक्रबार पेप्सीकोला क्षेत्रमा प्रहरीले एकजनालाई अमानवीय ढंगले कुटपिट गरेको पाइएपछि मानवअधिकार आयोगमा उजुरी दिएका छौँ । यस्ता घटना बढ्दै गएका छन् ।

महामारीमा रोजगारी गुमाएका, क्वयेर भएको थाहा पाएपछि हुने घरेलु हिंसा, सामाजिक विभेदलगायतका कारण क्वयेर समुदायमा आत्महत्याको दर बढेको छ । पहिचान खुलाएर समाजमा स्थापित क्वयेर समुदायको संख्या न्यून छ । परिवारका सदस्यहरूले नै विभेद गर्ने भएकाले अधिकांशले सहरमै विभिन्न पेसा व्यवसाय अपनाएर बस्ने गरेका छन् । तर, कोरोना महामारीका कारण पेसामा फर्कन नसकेकाहरू मारमा परेका छन् । नीलहीरा समाजको एक तथ्यांकअनुसार निषेधाज्ञाका कारण सहरमा रोजगारी गुमाएका र आफ्नो पहिचान खुलाएर गाउँ फर्किन नसकेकामा आत्महत्याको दर बढिरहेको छ । महामारीपछि मात्रै क्वयेर समुदायभित्र २३ जनाले आत्महत्या गरेका छन् । १६ जनाले आत्महत्याको प्रयास गरिसकेका छन् ।

रोजगारी गुम्दा रोगले भन्दा पनि भोकले मर्ने स्थिति निम्तिएका कतिपय व्यक्तिहरू पुनः यौन व्यवसायमा फर्किन बाध्य छन् । निषेधाज्ञामा स्वास्थ्यको ख्याल नगरी यौन व्यवसायमा फर्किएकाहरूको दैनिकी झन् जटिल बनेको छ भने प्रहरीबाट कुटपिटको घटनासमेत दैनिक भइरहेको नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङ बताउँछिन् । ‘कोभिडको समयमा केही राहत वितरणका कार्य भइरहेका छन्, तर सबैले यसको लाभ लिन सकिरहेका छैनन् । योसँगै बाध्यतावश पुनः यौन व्यवसायमा फर्किएकाहरूले दैनिक प्रहरीको कुटाइ खाइरहेका छन् । शुक्रबार मात्रै पेप्सीकोला क्षेत्रमा प्रहरीले एकजनालाई अमानवीय ढंगले कुटपिट गरेको पाइएपछि मानवअधिकार आयोगमा उजुरी दिएका छौँ । यस्ता घटना बढ्दै गएका छन्,’ उनले भनिन् । विश्वभर जुन महिनालाई सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषता भएका व्यक्तिहरूले ‘प्राइड मन्थ’ अर्थात् गौरव महिनाको रूपमा मनाइरहेका छन् । तर, नेपालमा भने पहिचानकै आधारमा पाइला–पाइलामा विभेद खेपिरहेका क्वयेर समुदाय महामारीमा हिंसा सहन नसकेर आत्महत्या गर्न विवश बनेका छन् । समाजबाट मात्र नभई कानुनी रूपमा समेत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले विभेद भोगिरहेका छन् । क्वयेर समुदायले सामाजिक विभेद, लैंगिक पहिचानसहितको नागरिकता, समलिंगी विवाहका विषयलाई लिएर संघर्ष गर्दै आएको छ ।

कानुनमै विभेद
क्वयेर समुदायले समाजमा मात्र नभई कानुनी रूपमै विभेद भोगिरहेका छन् । नेपालमा समलिंगी विवाहलाई मान्यता दिइएको छैन । संविधानमा लिंगका आधारमा विभेद नगरिने उल्लेख भए पनि विवाहको हक महिला र पुरुषलाई मात्र दिएको छ । यस्तै, नागरिकतामा पनि विभेद कायमै छ । ट्रान्सजेन्डरहरूले शल्यक्रियापछि मात्रै नागरिकता पाउने प्रावधान छ । कानुनी रूपमै लंैगिक पहिचानसहित बाँच्न पाउने अधिकारमै विभेद हुनु दुर्भाग्य रहेको बताउँछिन् क्रुसेड नेपालकी अध्यक्ष रुविना तामाङ । ‘हामीले प्रत्येक दिन आफ्नो पहिचानकै लागि लड्नु परिरहेको हुन्छ । तर, हामीलाई कानुनले समेत विभेद गरेको छ । नागरिकताका लागि महिला, पुरुष र अन्य भनेर छुट्याइएको त छ, तर अन्यभित्र को पर्छन् भन्ने स्पष्ट छैन । हामीलाई आफूले छानेको व्यक्तिसँग विवाह गर्ने अधिकारसमेत दिइएको छैन । सामाजिक विभेदको त कुनै लेखाजोखा नै छैन,’ उनले भनिन् ।

नेपालमा सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषता भएका व्यक्तिहरूको संख्या कति छ भन्ने कुनै आधिकारिक तथ्यांक छैन । नीलहीरा समाजका अनुसार नेपालमा करिब नौ लाख जति एलजिबिटिआइक्यूभित्र पर्ने व्यक्तिहरू छन् । यसमध्ये आफ्नो पहिचान खुलाएर समाजमा आउनेको संख्या निकै न्यून छ । लंैगिक पहिचान खुलाउँदा परिवारका सदस्यबाट खेप्नुपर्ने विभेद र भविष्यप्रतिको असुरक्षाका कारण अधिकांशले पहिचान लुकाएर बस्नुपरेको बताउँछिन् रुबिना । ‘क्वयेर भनेर चिन्नेबित्तिकै हामीले बाहिर जागिर पाउँदेनौँ, कोठाभाडामा पाउँदैनौँ, पाइहालेमा पनि अन्यको तुलनामा दोब्बर भाडा तिरेर बस्नुपर्ने अवस्था छ । हाम्रो हाउभाउ देख्नेबित्तिकै विभेद सुरु हुन्छ, बच्चैदेखि म किन अरू मान्छेजस्तो भइनँ भन्ने दोषी महसुस गराइन्छ,’ उनी भन्छिन्, ‘विद्यालयमा साथीभाइबाट हुने विभेद, शिक्षकहरूले प्रयोग गर्ने अपशब्द, परिवारका सदस्यले गर्ने व्यवहार, बाहिरी समाजले हेर्ने दृष्टिकोणले गर्दा किशोरावस्थासम्म आइपुग्दा नै मानसिक रूपमा विचलित भइसकेको हुन्छ । जब आफ्नो पहिचानसहित बाहिर आउने प्रयास गर्छ, बाँच्नका लागि प्रत्येक पाइलामा घृणाका पात्र भइन्छ । 

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले समाजमा सम्मानका साथ बाँच्न पाउन कानुनी प्रावधानसँगै सामाजिक जनचेतना पनि उत्तिकै आवश्यक रहेको बताउने रुबिना तामाङ मेकअप आर्टिस्ट पनि हुन् । यौनिकताको विषयमा जनचेतनामूलक कार्यक्रम गरिरहेकी तामाङले क्वयेर समुदायमा एचआइभी र एसटिआई रोकथाम तथा नियन्त्रणमा समेत काम गरिरहेकी छिन् । ‘हाम्रो समुदायलाई अगाडि बढाउन समाज र राष्ट्र पनि जिम्मेवार हुनुपर्छ । मैले बच्चादेखि परिवार र समाजमा जुन विभेद भोगेँ, अबको पुस्ताले यस्तो विभेद भोग्नु नपरोस् र आफ्नो पहिचान लुकाएर बस्नलाई बाध्य नपारियोस् भनेरै हामीले प्राइड मन्थ मनाइरहेका छौँ,’ उनले भनिन् ।

सबैको हाँसोको पात्र बन्ने हो कि भन्ने चिन्ता
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाइरहेको गौरव महिनाको परिभाषा सबैका लागि एउटै छैन । परिवारको साथ पाएर निश्चित पेसामा स्थापित भइसकेका क्वयेर समुदायको हरेक व्यक्तिले पनि समाजमा कुनै न कुनै माध्यमबाट विभेद भोगिरहेका छन् । तीमध्ये एक हुन् मेकअप आर्टिस्ट अनिश तामाङ । प्रेमका लागि कुनै लिंग हुँदैन भन्ने जनचेतनाका लागि पेन्टिङ बनाइरहेका उनी नेपालको पहिलो बडी पेन्टर पनि हुन् । क्वयेर समुदायका व्यक्तिमाथि हुने विभेदविरुद्ध सरकारी तवरबाट गरिएका कार्य पर्याप्त नभएको उनी बताउँछन् ।

स्कुल पढ्दा अनिशले थुप्रै विभेद भोगे । लैंगिक पहिचान नै छुट्याउन नसक्ने उमेरमा शिक्षकहरूबाटै ह्यारेसमेन्ट हुन्थे । उनलाई कलेज पढ्दा कतै फेरि मजाक त बन्ने होइन भन्ने चिन्ताले सताउँथ्यो । उनले जब मेकअप पेन्टिङ सामाजिक सञ्जालमा पोस्ट गर्न थाले, पेन्टिङको विषयसँगै पहिचानलाई लिएर थुप्रै नराम्रो कमेन्ट आउँथे । उनी बडी पेन्टिङकै माध्यमबाट समाजमा स्थापित हुन खोजिरहेका छन् । पेसाप्रतिको लगाव र क्षमतालाई समाजले सम्मान गरे पनि उनले अझै विभेद भोगिरहेका छन् । भन्छन्, ‘सुरुमा आफ्नो पहिचानसहित बाहिर आउँदा फेरि मेरो मजाक उडाइन्छ भन्ने डर लागिरहन्थ्यो, तर कलेजमा विभेद भोग्नुपरेन । स्कुलमा मलाई जसरी एलियनको रूपमा हेरिन्थ्यो, मैलै आज त्यो भोग्नुपरिरहेको छैन, तर कलेज, परिवारका सदस्य र समाजमा केही व्यक्तिले मात्रै हाम्रो पहिचानलाई स्वीकार गरेर मात्र पुग्दैन ।’

कार्तिक क्षेत्रीले पाँच वर्षदेखि ठमेलमा रेस्टुरेन्ट चलाउँदै आएका छन् । पिंक टिफनी नामक रेस्टुरेन्ट चलाइरहेका कार्तिक दुईपटकसम्म लकडाउन हँुदा पनि घर फर्केका छैनन् । लकडाउनका कारण रेस्टुरेन्ट बन्द छ, सामान्य अवस्थामा फर्किन अझै समय लाग्छ, तर पनि घर फर्किन चाहँदैनन् । उनले आफ्नो पहिचान खुलाएरै रेस्टुरेन्ट चलाइरहेका छन्, सामाजिक सञ्जालमार्फत आफूलाई क्वयेर एक्सपोज गरिसकेका छन् । सामाजिक सञ्जालमार्फत पोस्ट गरिरहने भएकाले परिवारका सदस्यलाई समेत थाहा भइसकेको बताउने कार्तिक घर नफर्किनुको कारण बताउन चाहँदैनन् । भन्छन्, ‘यतै आफ्नो व्यवसाय सुरु गरेको छु । फेसबुकतिर क्वयेर समुदायको पोस्ट गरिरहेको हुन्छु परिवारमा थाहा भइसकेको होला ।’

किन मनाउँछन् क्वयेर समुदायले प्राइड मन्थ ? 
प्रत्येक वर्ष जुन महिनालाई सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरूले ‘प्राइड मन्थ’ अर्थात् गौरव महिनाको रूपमा विश्वभरि नै मनाउने गर्छन् । सन् १९६९ मा भएको स्टोनवाल विद्रोहको सम्मानको रूपमा प्रत्येक वर्ष ‘प्राइड मन्थ’ मनाइने गरिन्छ । स्टोनवाल विद्रोह अमेरिकामा समलिंगी मुक्ति आन्दोलनका लागि सहयोगी बिन्दु थियो । नेपालमा ‘गौरव महिना’ सन् २०१९ देखि गौरव यात्राका रूपमा मनाइन थालिएको छ । सीमान्तकृत यौन अभिमुखीकरण, लंैगिक पहिचान र यौन विशेषता भएका व्यक्तिहरूले २९ जुन ०१९ मा गौरव यात्रा आयोजना गरेका थियो, जुन स्टोनवाल विद्रोहको ५०औँ जन्मजयन्तीको भोलिपल्ट थियो । त्यसपछि जुन महिनाको दोस्रो शनिबारलाई गौरव दिवसका रूपमा मनाइँदै आइएको छ । तर, कोभिड महामारीका कारण दुई वर्षदेखि क्वयेर समुदायले गौरव यात्रा मनाउन पाएका छैनन् । नेपालको सन्दर्भमा आफ्नो पहिचान खुलाएर समाजमा सम्मानका साथ बाँच्न पाउनुपर्ने अधिकारका लागि प्रत्येक वर्ष गौरव महिना मनाइने गरिन्छ ।