मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३ आइतबार
  • Sunday, 19 September, 2021
२८ जेठमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएपछि शव निकालिँदै
२०७८ असार ६ आइतबार ०७:५९:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रदेश २ मा ६ वर्षमा पाँच सय ५६ बालबालिकाको डुबेर मृत्यु

Read Time : > 4 मिनेट
२०७८ असार ६ आइतबार ०७:५९:००

गर्मी बढेसँगै पोखरीमा नुहाउन जाने संख्यामा वृद्धि, पोखरीधनीको र अभिभावकको लापरबाहीका कारण बर्सेनी पानीमा डुबेर मृत्यु हुने घटना बढेको प्रहरीको भनाइ

घटना एक : गत २८ जेठमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाले ज्यान गुमाए । बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दाकुमारी भगत, १३ वर्षीया अञ्जु पूर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललिता साह तेलीको मृत्यु भएको हो । सो घटनाको विषयमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतो र कांग्रेस उपसभापति विमलेन्द्र निधिले सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् । घटना भएको क्षेत्र महतो र निधिको निर्वाचन क्षेत्र हो ।

घटना दुई : सर्लाहीको बरहथवा गत बुधबार नगरपालिका–५ निवासी मुकेश गुप्ताका दुई वर्षीय छोरा ओम गुप्ताको चापाकलको पानी जमाउन खनेको खाडलमा डुबेर ज्यान गयो । खेल्ने क्रममा आफ्नै घरअगाडि चापाकलको पानी जमाउन खनेको खाडलमा उनी परेका थिए ।  पानीमा डुबेर अचेत भएको अवस्थामा उनलाई तत्काल उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा पुर्‍याइयो । तर, चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।

घटना तीन : सप्तरीको महादेवा गाउँपालिका–२ का अनिल मण्डलकी पाँच वर्षीया छोरी अपेक्षाकुमारीको १ असारमा पोखरीमा डुबेर मृत्यु भयो । घरनजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेकी थिइन् । डिलबाट चिप्लिएर पोखरीमा डुब्दा बेहोस भएकी उनलाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटना चार : रौतहटको गरुडाबाट जिगडिया जाने बाटोमा पानी जमेको खाल्डोमा डुबेर २१ साउन ०७४ मा चार बालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गरुडा नगरपालिका–४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह, नौ वर्षीया संगीता साह, जोगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना साह र प्रेम साहकी नौ वर्षीया छोरी सुस्मिता साह थिए । परिवारले दिएको जानकारीअनुसार चार दिदीबहिनी बिहान ११ बजे घाँस काट्न खेत गएका थिए । घाँस काटेर घर फर्कने क्रममा सडकछेउको खाल्डोमा जमेको पानीमा नुहाउन जाँदा डुबेर उनीहरूको मृत्यु भएको थियो । सडक मर्मतका लागि डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर चारैजना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

...                        ...                         ...

माथि उल्लिखित चार प्रतिनिधिमूलक घटनामध्ये तीनवटा एक साताभित्रका हुन् । रौतहटको घटना चार वर्षअघिको हो । एउटै पोखरीमा पाँचजनासम्म बालबालिकाको एकैपटक मृत्युु हुँदासमेत राज्य बालबालिकाको सुरक्षाका लागि गम्भीर देखिएको छैन । तराई मधेसमा नदी, खोला, पोखरी, नाला, खाल्डोमा डुबेर मृत्यु हुनेको संख्या वर्षेनी बढ्दो क्रममा छ । ६ वर्षमा प्रदेश २ का आठ जिल्लामा आठ सय ६३ जनाको पानीमा डुबेर ज्यान गएको छ । पोखरीमा डुबेर ज्यान गुमाउनेमध्ये ६४ प्रतिशत बालबालिका छन् । गत पाँच आर्थिक वर्ष र चालू आवको जेठ मसान्तसम्ममा तीन सय ४३ बालक र दुई सय १३ बालिका गरी पाँच सय ५६ जना बालबालिकाले ज्यान गुमाएका थिए । मृत्यु हुनेमध्ये ७२ प्रतिशत बालबालिका १० वर्षमुनिका छन् । डुबेर मृत्युु हुनेमा सबैभन्दा बढी पोखरीमा ५९ प्रतिशत, नदीमा ६ प्रतिशत, नालामा ४ प्रतिशत, खोलामा १४ र खाल्डोमा १७ प्रतिशतको मृत्युु भएको देखिन्छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ८३ जनाको पोखरीमा डुबेर मृत्यु भएको थियो । चालू आवको एक महिना बाँकी छँदै एक सय ७३ जनाले ज्यान गुमाइसकेका छन् ।  

गर्मी महिनामा पोखरीमा डुबेर मृत्युु हुनेको संख्या धेरै

पानीमा डुबेर मृत्युु हुने मुख्य कारणमध्ये पहिलो विपन्न तथा सीमान्तकृत समुदायको जल र जमिनमा पहुँच नहुनु सरोकारवालाहरू बताउँछन् । दलित सरोकार मञ्च नेपालका अध्यक्ष युक्तिलाल मरिकका अनुसार अधिकांश दलित बस्तीमा खानेपानी र नुहाउन पानीको अभाव छ । ‘अझै पनि गाउँघरमा विपन्न नागरिकले नुहाउने, कपडा र भाँडाकुँडा सफा पोखरीमै गर्न विवश छन् । अभिभावकसँग बालबालिकाहरू पनि पोखरीमा जाने गर्नाले दुर्घटना हुने गरेको देखिएको छ,’ अध्यक्ष मरिकले भने, ‘दलित बस्तीमा चपाकल भए पनि दलितहरू भूमिहीन भएकाले त्यसबाट निस्किने पानी व्यवस्थापन गर्न गाह्रो हुन्छ । जल र जमिनमा दलितहरूको पहुँच नभएकाले बर्सेनि दर्जनौँ दलित बालबालिकाले ज्यान गुमाउँछन् ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले गर्मीको समयमा बालबालिकाहरू धेरै पोखरीमा नुहाउन जाने भएकाले सबैभन्दा बढी घटना गर्मीकै सिजनमा हुने गरेकोे पाइएको बताए । गर्मी बढेसँगै गाउँघरमा पोखरीमा नुहाउने क्रम बढ्ने र लापरबाहीका कारण यस्तो घटना बढी हुन थालेको उनले बताए । ‘डुबेर बालबालिकाको बढी मृत्यु हुनुका पछाडि मुख्यतः अभिभावकको लापरबाही नै देखिएको छ,’ उनले भने, ‘घरनजिकैको पोखरीमा स–साना बालबालिका नुहाउन जाँदा अभिभावकले निगरानी गर्नुपर्ने हो । बालबालिकामाथि अभिभावकले निगरानी राखेको देखिँदैन, जसकारण अनाहकमै बालबालिकाले ज्यान गुमाउनु परेको छ ।’

पछिल्लोपटक धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पोखरीमा डुबेर पाँचजना बालिकाको मृत्युु हुुनुुमा पोखरीधनी पनि जिम्मेवार रहेको पाइएको छ । डिएसपी मिश्रले भने, ‘पाँचजना मृत्यु भएको घटनास्थल हेर्दा पोखरीको डिल पनि नभएको, एउटै पोखरीको एकछेउमा ५ फिट र अर्काे छेउमा १२ फिटसम्म पानी जमेको पाइएकाले यसमा पोखरी धनीको लापरबाही प्रस्टै देखिन्छ ।’ उनले बालबालिकालाई जोगाउन पोखरी, नहर, कुलोसहितका जलाशय भएको स्थानमा जान नदिन गाउँघरमा विशेष सचेतना अभियान सञ्चालन गर्नुपर्ने र त्यसका लागि स्थानीय तहले अभिभावकसँग अन्तक्र्रिया गर्नुपर्ने डिएसपी मिश्रले बताए ।

साहित्यकार रामभरोस कापडी ‘भ्रमर’ले मधेसमा पोखरी आयस्रोतको प्रमुख आधार पोखरी रहेको बताउँदै विपन्न तथा सीमान्तकृत समुदायलाई गाउँघरमै खाने र नुहाउनका लागि पर्याप्त पानीको व्यवस्था नगरेसम्म पोखरीमा डुबेर मृत्युु हुने घटनामा कमी नआउने बताए । उनले भने, ‘बालबालिकाहरू पहिला गाईबस्तु चरीचरणका लागि चौरीचाजरमा बढी समय बिताउँथे, अहिले त्यो क्रम घटेको छ । खेल्ने ठाउँको अभाव र नुहाउने पानीको अभाव भएपछि स्वाभाविक रूपमा बालबालिकाहरू पोखरीमा नुहाउन जान्छन्, जसले गर्दा उनीहरू असुरक्षित भएका हुन् ।’ 

सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा पोखरी व्यवस्थित गर्ने कार्यक्रम ल्याएको छ : शैलेन्द्र साह , भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, प्रदेश २
तराई मधेसमा अझै पनि परम्परागत रूपमा खनिएका पोखरीको संख्या बढी छ । पहिला–पहिला गाउँमा हुनेखानेले पोखरी खने । त्यसवेला पोखरीमा बालबालिका डुबेर मृत्यु भएमा ज्यानमुद्दा लाग्ने कानुन थियो ।

जसले गर्दा धेरै पोखरी व्यक्तिको नाममा भए पनि पछि सरकारी स्वामित्वमा आएको छ । अहिले प्रत्येक पालिकामा यो विवाद कायम छ । मधेसमा पोखरीको संख्या धेरै भए पनि त्यसको व्यवस्थापन राम्रो हुन सकेको छैन ।

पोखरीको जुन मापदण्ड हुुनुपर्ने त्यो नभएका कारण बालबालिका बढी जोखिममा छन् । गर्मीको समयमा बालबालिकाहरू गाईबस्तु चराउन जाँदा पनि पोखरीमा नुहाउने चलन छ । जसले गर्दा पोखरीमा डुबेर मृत्युु हुनेहरूको संख्या बढ्दै गएको हो ।

आगामी आर्थिक वर्षमा प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा पोखरीलाई व्यवस्थित गर्ने कार्यक्रम ल्याएको छ । यो कार्यक्रमले पनि त्यस्तो घटना कम गर्न सहयोग पुर्‍याउनेछ ।

विपन्न समुदायका बालबालिकाका लागि नुुहाउन गाउँघरमै सानो आकारको ‘स्विमिङ पुल’ को व्यवस्था गर्नुपर्छ : रामभरोस कापडी ‘भ्रमर’, साहित्यकार

पहिलादेखि नै पोखरीमा डुबेर मृत्युु हुने गरेको हो । तराईमा पोखरी व्यवस्थापन राम्रोसँग हुन सकेको छैन । पुराना घाट धेरै छन् । त्यसैले बच्चाहरूलाई पोखरीबाट टाढा राख्नुपर्ने हुन्छ । गाउँघरमा अभिभावकहरूको धेरै कमीकमजोरी छ ।

अहिले सबैको घरघरमा चापाकल छ, त्यो पानी पोखरीमा जाने गर्छ । चापाकलमा नुहाउँदा पानी बग्ने व्यस्थापन हुँदैन, त्यसकारण पोखरीमा नुहाउन जाने गर्छन् । मधेसमा किसानहरूले पोखरीमा माछापालन गरेर जीविकोपार्जन गर्ने गरेका छन् ।

ती पोखरी पनि दुर्घटना बढाउने कारण भएका छन् । सार्वजनिक पोखरी सौन्दर्यकरणका लागि प्रदेश सरकारले करोडौँ लगानी गरेको छ, तर विपन्न समुदायका बालबालिकालाई गाउँघरमै सानो अकारको नुहाउन ‘स्विमिङ पुल’को व्यवस्था गरेको भए राम्रो हुन्थ्यो ।