मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३१ सोमबार २१:५९:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चेक रिपब्लिकनसँग स्कटल्यान्ड स्तब्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३१ सोमबार २१:५९:००

स्ट्राइकर प्याट्रिक सिकको दुई गोलको सहयोगमा सोमबार राति युरोकप फुटबल प्रतियोगितामा चेक रिपब्लिकनले स्कटल्यान्डमाथि २–० को सनसनी जित दर्ता गरेको छ । समूह ‘डी’मा चेक रिपब्लिकन जितका साथ शीर्ष स्थानमा उक्लेको छ । यस समूहमा इंग्ल्यान्ड तीन अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड र क्रोएसियाले आ–आफ्नो पहिलो खेल गुमाएका छन् । 

सन् १९९८ पछि स्कटल्यान्ड पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फर्किएको थियो । ह्याम्डेन पार्क ग्लास्गो मैदानमा स्कटल्यान्डविरुद्ध प्याट्रिकले दोस्रो गोल चालू प्रतियोगिताकै उत्कृष्ट रह्यो । 

लगभग मैदानको मध्यभागबाट प्याट्रिकले प्रहार गरेको बल सीधै स्कटल्यान्डको गोलपोस्टभित्र छिरेको थियो । प्याट्रिकले स्कटल्यान्डका गोलरक्षक डेभिड मार्सल सानो डिबक्स क्षेत्रभन्दा हल्का बाहिर आएको फाइदा उठाउँदै गोल गरेका थिए । प्याट्रिकको सनसनीपूर्ण दोस्रो गोल गर्दा नौ हजार स्कटिस समर्थकसमेत स्तब्ध भएका थिए । 

यसअघि खेलको ४२औँ मिनेटमा प्याट्रिकले चेक रिपब्लिकनलाई १–० को अग्रता दिलाएका थिए । डिबक्सभित्र भ्लादिमिर कोउफलको क्रसमा उनले हेडिङ गोल गरेका हुन् । पहिलो तथा दोस्रो हाफमा दुवै टोलीले प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रदर्शन गरेका थिए ।  

खेलमा स्कटल्यान्डले चेक रिपब्लिकनलाई सहजै हराउने अनुमान गरिएको थियो । तथ्यांकले पनि स्कटल्यान्ड चेक रिपब्लिकनभन्दा बलियो नै थियो । किनभने चेक रिपब्लिकनले स्कटल्यान्डलाई अन्तिमपटक सन् २०१० को युरोकप छनोटमा १–० ले हराएको थियो । त्यसयताको भिडन्तमा स्कटल्यान्डले चेक रिपब्लिकनलाई निराश बनाउँदै आइरहेको थियो । पछिल्लो तीन खेलमा स्कटल्यान्डले चेक रिपब्लिकनलाई हराएको थियो । 

खेलकै नायक प्याट्रिकले २७ अन्तर्राष्ट्रिय खेलमा १३ गोल गरेका छन् । उनले पछिल्लो ११ अन्तर्राष्ट्रिय खेलमा सात गोल गरेका छन् । खेलको १८औँ मिनेटमा स्कटल्यान्डले नजिकको दूरीबाट अग्रता लिन चुकाएको थियो । रोबर्टसनको पासमा लेन्डन डेकेसको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो । यसैगरी ४८औँ मिनेटमा रोबर्टसनको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।