मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २८ शुक्रबार ०६:५९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

काठमाडौं महानगरपालिकाले  रोक्यो खोप कार्यक्रम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २८ शुक्रबार ०६:५९:००

काठमाडौं महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका लागि दिँदै आएको कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेल शनिबारदेखि स्थगित हुने भएको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलसम्म खोप कार्यक्रम स्थगित भएको जनाएको हो ।

विभागका प्रमुख हरिबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वाथ्य सेवा विभागबाट जेठ २८ गतेबाट भेरोसेल खोप जिल्लालाई छुट्याएको संख्या पूरा भइसकेको सूचना प्राप्त भएकाले जेठ २८ गतेबाट महानगरपाालिकाले १ देखि ३२ वडा वडाहरूमा सञ्चालन गर्दै आएको खोप अभियान अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।’

खोप कार्यक्रम ३२ वटै वडामा खोपकेन्द्र बनाएर लगाउन थालिएको थियो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरू यसअघिको कार्यक्रममा छुटेकाले २५ जेठदेखि उनीहरूलाई पहिलो मात्रा दिन थालिएको थियो ।

२५ जेठमै वडाहरूलाई अर्को परिपत्र जारी गर्दै, त्यसअघि तोकिएका (६० देखि ६४ वर्ष उमेर समूह) बाहेक यसअघि खोप लगाउन छुटेका र अहिले बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जब ट्रेनिङमा रहेका नर्सिङ र प्यारामेडिक्स तथा यसअघि भेरोसेलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा छुटेकालाई परिचयपत्रका आधारमा खोप लगाउन अनुरोध गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २४ जेठको पत्र उद्धृत गर्दै विभागले वडाहरूलाई आग्रह गरेको थियो ।

छुट्ने भए ६० र ६१ वर्ष उमेर समूह
तालिकाअनुसार २५ जेठमा ६४ वर्ष, २६ गते ६३ वर्ष र २७ गते ६२ वर्षका उमेर समूहका लागि खोप दिइसकिएको छ । २८ जेठमा ६१ वर्ष र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिने तालिका थियो ।

तालिकाअनुसार ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिहरू छुट्नेछन् । यसअघि स्वास्थ्य मन्त्रालयको २२ वैशाख र जिल्ला विपद् व्यवस्थापन केन्द्रको २५ वैशाखको निर्णयअनुसार महानगरपालिकासहित २ जेठबाट काठमाडौं जिल्लामा कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । ११ जेठसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करिब एक लाख व्यक्तिले लगाएका थिए ।