रिसिङ गाउँपालिका– १ कोइदिमकी मीनमाया थापालाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । पुर्वीनवलपरासी स्थायी घर भई हाल अमेरिकामा बस्दै आएका टेक थापाले मिर्गाैलापीडित थापालाई नगद ११ हजार पाँच सय तीस रुपैयाँ सहयोग गरेका हुन् ।
उनले थापाको उपचारमा सहयोग पुग्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताए । ‘कोभिडका कारण जताततै निषेधाज्ञा छ । सवारीसाधन पनि चल्दैनन् । त्यसमा पनि ग्रामीण भेगमा एम्बुलेन्सको समेत अभाव छ, जसका कारण मीनमायालाई डायलाइसिस गराउन हिँडेर दमौली ल्याउनुपर्ने बाध्यता छ । उनको आर्थिक अवस्था पनि कमजोर भएको नयाँ पत्रिकाको समाचार पढेर थाहा पाएँ । त्यसैले थोरै भए पनि सहयोग गर्ने इच्छा भएकाले पैसा पठाएको हुँ,’ उनले भने, ‘पौष्टिक आहार खानका लागि उक्त रकमले थोरै भए पनि सहयोग पुग्ने विश्वास छ ।’
‘डायलाइसिस गराउन श्रीमतीलाई सात घन्टा बोकेर ल्याउने–लैजाने गर्छन् तिलबहादुर’ शीर्षकमा नयाँ पत्रिकामा शुक्रबार समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि अमेरिकामा बस्दै आएका थापाले सहयोग गरेका हुन् । विगत बीस वर्षदेखि अमेरिकामै बस्दै आएका थापा पेसाले आइटी इन्जिनियर हुन् ।
सोमबार उक्त रकम नयाँ पत्रिकाकर्मी उपेन्द्र खनालले मिर्गाैलापीडित मीनमाया र जेठो छोरा लालबहादुर थापालाई सत्रुघन मन्जु डायलाइसिस युनिटका इन्चार्ज शैलेश पण्डितको रोहवरमा हस्तान्तरण गरे ।
सहयोग रकम प्राप्त गरेपछि मीनमायाले बिरानो देशबाट समेत आफ्नो उपचारका लागि सहयोग जुटेकोमा खुसी व्यक्त गरिन् । ‘प्रत्येक सोमबार र बिहीबार डायलाइसिसका लागि दमौली आउनुपर्छ । घरको आर्थिक अवस्था पनि कमजोर छ । जागिर कसैको छैन । छोराहरू कृषि गर्छन् । खेतबारीबाट उब्जनी भएको अन्नबाट जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ । श्रीमान् वृद्ध हुनुभयो । म पनि बिरामी छु । मेरो हेरविचार गर्दैमा श्रीमानको दिन बित्छ । अझै डायलाइसिस गराउने दिनमा त तीन घन्टा बोकेर अस्पताल पु¥याउनुहुन्छ,’ उनले भनिन् ।
निषेधाज्ञाभर जेसिजले सवारीसाधनमा ल्याउने–लैजाने गरिदिने
दुवै मिर्गौला फेल भएकी थापालाई डायलाइसिस गराउन साताको दुई दिन दमौली अस्पताल ल्याउनुपर्छ । आर्थिक अवस्था कमजोर र निषेधाज्ञाका कारण श्रीमान् तिलबहादुरले श्रीमतीलाई बोकेरै डायलाइसिस गराउन ल्याएको थाहा पाएपछि व्यास नगर जेसिजले सहयोग गर्ने भएको हो ।
जेसिजले निषेधाज्ञाभर डायलाइसिस गराउन ल्याउने–लैजाने व्यवस्था गरिदिने अध्यक्ष लक्ष्मीभक्त खनालले बताए । ‘हामीलाई उहाँहरूको अवस्था यस्तो दयनीय छ भन्ने थाहा थिएन, समाचार आएपछि थाहा पायौँ । त्यसैले लकडाउनभर नै उहाँहरूलाई हामी सेवा दिन्छौँ,’ उनले भने । सोमबार अस्पताल प्रांगणबाट मीनमाया थापालाई जेसिजले घरसम्म सेवा दिएको छ ।