मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७८ जेठ २४ सोमबार ११:०७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकालाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउनु कति आवश्यक ?

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ जेठ २४ सोमबार ११:०७:००

बालबालिकालाई विभिन्न रोगविरुद्ध धेरै पहिलेदेखि नै भ्याक्सिन लगाउने गरिएको हो । पोलियो, डिप्थेरिया, मेनिन्जाइटिसलगायत बालबालिकाले लगाउने भ्याक्सिनको सूची लामो छ, जुन जन्मिएको केही साताबाटै लगाउन सुरु गरिन्छ । 

त्यसो भए कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनचाहिँ लगाउन मिल्ला कि नमिल्ला ? केही देशले यो प्रक्रियालाई निकै अघि बढाइसकेका छन् । अमेरिकाले झन्डै ६ लाख बालबालिकालाई भ्याक्सिन लगाएको जनाएको छ । त्यसमा १२ देखि १५ वर्षसम्मका बालबालिका छन् । उनीहरूले यो उमेरसमूहको नतिजालाई हेरेर अर्काे वर्ष अझ कम उमेरका बालबालिकामा पनि भ्याक्सिन लगाउने योजना बनाएका छन् ।

यो प्रक्रियामा बेलायत पनि अघि बढ्दै गरेको छ । बेलायतले अर्काे महिनासम्म सबै उमेरका नागरिकलाई भ्याक्सिन लगाउने जनाएको छ । बालबालिकालाई भ्याक्सिन लगाउने–नलगाउनेबारे भने स्पष्ट पारेको छैन । तर, यहाँ एउटा प्रश्न अनुत्तरित छ, के बालबालिकालाई भ्याक्सिन लगाएर समाज सुरक्षित रहला ? यो प्रश्न कठिन किन पनि छ भने देशअनुसार जवाफ पनि फरक भेटिन सक्छ । यो प्रश्नको नैतिक र व्यावहारिक आयाम पनि छन्, यदि बालबालिकालाई दिइने डोज स्वास्थ्यकर्मी वा अन्य गरिब देशका जोखिममा रहेका नागरिकलाई दिइने हो भने अरू धेरै जीवन बच्न सक्छ ।

बालबालिकामा कोभिडको जोखिम निकै कम
बालबालिकालाई भ्याक्सिन लगाइँदा त्यसबाट उनीहरूले थोरै मात्रै फाइदा पाउँछन् भन्ने तर्क धेरैको छ । ‘भाग्यवश निकै कममध्येको एउटा राम्रो विषय कोरोना भाइरसबाट बालबालिका बिरलै मात्र गम्भीर बिरामी भएका छन्,’ बेलायतले बनाएको भ्याक्सिनेसन एन्ड इम्युनाइजेसन कमिटीका सदस्य प्राध्यापक आदम फिन भन्छन् ।

बालबालिकामा देखिएको संक्रमण निकै सामान्य वा कुनै लक्षणविनाको हुने गरेको छ । जुन बालबालिकाभन्दा ठूलो उमेरका व्यक्तिमा देखिएको असरभन्दा ठीक उल्टो हो । बालबालिकाभन्दा ठूला उमेरका व्यक्तिहरूमा कोरोना भाइरसको असर गम्भीर देखिँदै आएको छ । त्यसैले प्रायः देशमा भ्याक्सिन लगाउने कार्यक्रममा पनि उनीहरूलाई नै प्राथमिकतामा राखिएको छ ।

केही देशले बालबालिकालाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन थालिसकेका छन् । यो प्रक्रियामा अमेरिका र बेलायत निकै अघि बढिसकेका छन् । अमेरिकाले झन्डै ६ लाख बालबालिकालाई भ्याक्सिन लगाइसकेको जनाएको छ ।

विश्वका सात देशमा गरिएको एउटा अध्ययनले यो महामारीमा कोरोना भइरसबाट संक्रमित बालबालिकामध्ये प्रत्येक १० लाखमध्ये दुई वा त्योभन्दा कम बालबालिकाको मृत्यु भएको छ । भ्याक्सिन यस्ता संक्रामक रोगका लागि साँच्चिकै निकै प्रभावकारी देखिएको छ, यद्यपि त्यसको फाइदा पूर्ण रूपमा लिनका लागि उत्तिकै विवेकपूर्ण तरिकाले प्रयोग गरिनुपर्छ ।

‘बालबालिकालाई भ्याक्सिन लगाउँदा अरूलाई पनि जोखिम कम’
बालबालिकालाई भ्याक्सिन लगाउनुको अर्काे सम्भावित फाइदा भनेको यसले अन्य व्यक्तिको जीवन बचाउन सक्नेछ । यो यसअघि यस्तै प्रकृतिको समस्यामा पनि प्रयोग गरिएको पद्धति हो । बेलायतमा दुईदेखि १२ वर्षसम्मका बालबालिकालाई नाकमार्फत एउटा स्प्रे दिइने गरिएको छ, जसले कुनै पनि संक्रामक फ्लुबाट उनीहरूका अभिभावकलाई बचाउने गर्छ ।

यसमा आधारित रहेर एउटा तर्क गरिएको छ कि बालबालिलाई समेत भ्याक्सिन लगाइँदा ‘हर्ड इम्युनिटी’ बन्नमा मद्दत पुग्नेछ । सबैजनासँग इम्युनिटी भएपछि भाइरस सर्न पाउँदैन । यसरी पनि सुरक्षित बन्न सकिन्छ ।कोभिडविरुद्धको भ्याक्सिन पनि संक्रमण रोक्न निकै प्रभावकारी देखिएको छ । पहिलो डोजको भ्याक्सिनले मात्रै पनि भाइरस संक्रमणको सम्भावना आधाले घटेको देखिएको छ । संक्रमण भइहाले पनि अर्काे व्यक्तिमा फैलाउने सम्भावना कमै हुने गरेको देखिएको छ ।

अहिलेसम्म बालबालिकाहरू संक्रमण फैलाउनेमा देखिएको छैन । यद्यपि, ठूला उमेरका बालबालिका भने संक्रमित हुने र संक्रमण फैलाउने सम्भावना केही बढी हुने देखिएको छ । ‘माध्यमिक तहका बालबालिकामा संक्रमण हुने र फैलाउने सम्भावना रहेको प्रमाण भेटिएका छन्,’ लन्डन स्कुलका डा. आदम कुचास्की भन्छन्, ‘त्यसैले बालबालिकालाई पनि भ्याक्सिन लगाइदिने हो भने संक्रमण फैलने सम्भावना कम हुनेछ ।’