मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ४ सोमबार
  • Monday, 20 September, 2021
सगरमाथा आरोही जाङ्बु शेर्पा
२०७८ जेठ १८ मंगलबार ०८:४७:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

कोरोना जितेर सगरमाथा आरोहण

Read Time : > 3 मिनेट
२०७८ जेठ १८ मंगलबार ०८:४७:००

कोरोना संक्रमण भएको ६ दिनमै जाङ्बु शेर्पाको रिपोर्ट नेगेटिभ आयो । त्यसपछि उनी ६ दिन घरमै आइसोलेसनमा बसेर बेसक्याम्प गए । सम्भवत संक्रमण जितेर सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो व्यक्ति हुन् ।

कोरोना भाइरस (कोभिड– १९) संक्रमण घातक बन्दै गइरहेको छ । संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या दिनहुँ बढ्दो छ । कोरोनामुक्त भइसकेकाहरूमा पनि गम्भीर खालका स्वास्थ्य समस्या देखिन थालेपछि त्रसित छन् । 

यसैबीच एउटा निकै खुसीको खबर पनि छ । जाङ्बु शेर्पाले कोरोनालाई मात्रै जितेनन् संक्रमणमुक्त भएपछि उनले विश्वको सर्वाेच्च शिखर सगरमाथाको समेत सफल आरोहण गरेका छन् । कोभिड संक्रमण जितेर सगरमाथा आरोहणजस्तो कठिन काम गर्न सकिन्छ भनेर उनले उदाहरण प्रस्तुत गरेका छन् । उनी बहराइनका राजकुमार मोहम्मेद हमाद मोहम्मेद अल खालिफाको टोली लिएर सगरमाथा आरोहणमा जाँदै थिए । राजकुमारको टोलीलाई आधार शिविर पुर्‍याएर आरोहणअघिको अभ्यास गराउँदै थिए । उनी र उनको टोलीले राजपरिवारका सदस्यहरूलाई दैनिक खुम्बू आइसफलमा अभ्यास गराउँदै फर्काउने थियो । यही क्रममा उनलाई असहज महसुस भयो । केही दिन औषधि खाएर बसे । शरीर अझै गल्दै गएपछि उनी टोलीलाई त्यहीँ छाडेर काठमाडौं फर्किए । 

काठमाडौं आएर परीक्षण गर्दा कोरोना संक्रमण देखियो । ६ दिन अस्पताल बसेर संक्रमण जितेका उनी थप ६ दिन घरमा आइसोलेसनमा बसेर फेरि बेसक्याम्प फर्किए । त्यसपछि राजकुमारको टोलीलाई बेसक्याम्पबाट लिएर आरोहणतर्फ लागे । उनले ११ मेमा बहराइनको राजकुमारको टोलीलाई सगरमाथाको चुचुरोमा पुर्‍याएर फर्किए । 

विश्वको सर्वाेच्च शिखरमा १७औँपटक पाइला राखेका जाङ्बुका लागि यो आरोहण भने फरक रह्यो । संक्रमण पुष्टि भएको दुई सातामै उनी सगरमाथाको शिखरमा पुगेका थिए । सम्भवत संक्रमण जितेर सगरमाथाको सफल आरोहण गर्ने उनी नै पहिलो व्यक्ति हुन् ।

परिवारको साथ र सहयोगले चाँडै कोरोनालाई जित्न सफल भएको बताउने उनी यो महामारीलाई जित्न सबैले एक अर्कालाई सहयोग गर्नुपर्ने बताउँछन् । ‘कोरोना भाइरससँग अहिले विश्व नै संघर्ष गरिरहेको छ । मेरो हकमा भन्नुपर्दा चाँडै राम्रो उपचार पाएँ,’ उनी भन्छन्, ‘त्योभन्दा महत्वपूर्ण कुरा आफ्नो परिवारका सदस्यहरूको साथ र सहयोग महत्वपूर्ण हुने रहेछ । यो संकटलाई पराजित गर्न सबैले एक–अर्कालाई सहयोग गर्न आवश्यक छ ।’ कोरोनालाई जितेर सगरमाथाको सफल आरोहण गरेका जाङ्बुको कथा उनकै शब्दमा :

बहराइनको राजपरिवारको टोलीलाई लिएर सगरमाथा आरोहणका लागि ४ अप्रिलमा काठमाडौंबाट हिँडेका थियौँ । पहिलो दिन लुक्ला बस्यौँ । त्यसको भोलिपल्ट नाम्चे हुँदै हामी ८ अप्रिलमा आधार शिविर पुग्यौँ । आधार शिविरमा पूजा गर्‍यौँ । अनि आरोहणअघिको अभ्यास थाल्यौँ । बहराइनको टोलीलाई दैनिक खुम्बू आइसफलमा अभ्यास गराएर फर्काउने गर्दै थियौँ । मलाई एक्कासि असहज महसुस भयो ।

छाती दुख्ने । खान मन नलाग्ने । राति निन्द्रा नलाग्ने । थकाई महसुस हुने हुन थाल्यो । टोलीमा हामीसँग डक्टर पनि थिए । केही दिन उनीहरूले दिएको औषधि खाएर बसेँ । औषधि खादाँसम्म ठीक भयो । तर, पछि फेरि उस्तै हुने भयो । एक दिन रिंगटा लागेर ढल्छु जस्तै भयो । धेरै मुस्किल भएपछि टिम लिडर (टासी लाक्पा शेर्पा)लाई भनेँ । उहाँले त्यसको भोलिपल्ट हेलिकोप्टर मगाइदिनुभयो । 

भोलिपल्ट ३ बजे काठमाडौं आइपुगेँ । एयरपोर्टबाट सीधै सोह्रखुट्टेस्थित इरा अस्पताल पुगेँ । सबै परीक्षण भयो । छातीमा संक्रमण देखियो । डाक्टरको सल्लाहअनुसार त्यहीँ भर्ना भएँ । साँझतिर अस्पतालले कोरोना संक्रमण देखिएको खबर सुनायो । मैले मेरो टोली आधार शिविरमै छ, म जानुपर्छ भनेँ । तर, अस्पतालले १५ दिन त्यहीँ बस्नुपर्छ भन्यो । 

त्यसको ६ दिनपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । त्यो दिन साँझ ५ बजेतिर अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएँ । डाक्टरले रिपोर्ट नेगेटिभ आएपछि पनि आरोहणमा जान हुन्न भन्नुभएको थियो । त्यसैले घर फर्किएर थप ६ दिन आइसोलेसनमै बसेँ ।

त्यसपछि भने आरोहणमा जान्छु भन्ने निर्णय गरेँ । टोलीलाई सम्पर्क गरेँ । २ मेमा काठमाडौंबाट लुक्ला पुगेँ । भोलिपल्ट हेलिकोप्टरमार्फत आधार शिविर पुगेँ । आधार शिविर त पुगेँ, तर फेरि छाती दुःखेजस्तो भयो । समस्या होला कि जस्तो महसुस भयो । 

आधार शिविर पुगेको तीन दिनसम्म अर्थात् ६ मेसम्म त्यहीँ आराम गरेर बसेँ । त्यसपछि भने केही सहज महसुस भयो । हामी ७ मेमा आधार शिविरबाट क्याम्प–२ पुग्यौँ । एक दिन हामी त्यहीँ आराम गरेर बस्यौँ । ९ मेमा क्याम्प–३ पुग्यौँ । त्यही साँझ ५ बजेतिर क्याम्प–४ पुग्यौँ । केही समय खाजा खाएर अगाडिको आरोहण सुरु भयो । 

आगाडि बढ्दै गएपछि केही मुस्किल महसुस भयो । मलाई कोरोना संक्रमण हुँदा सास फेर्न मुस्किल भएको थियो । त्यसैले फेरि त्यस्तै समस्या भयो कि भन्ने डर लाग्यो । अलि अगाडि पुगेपछि थाहा भयो मेरो अक्सिजनको मास्क बिग्रिएको रहेछ । 

अगाडि बाल्कुनी भन्ने ठाउँ आउँछ, जहाँ अक्सिजनको सिलिन्डर फेर्न वा त्यससम्बन्धी काम गर्न मिल्छ । त्यहाँ पुगेर मास्क मिलाउने प्रयास गरेँ । निकै गाह्रो भयो । त्यहाँ अरू उपाय थिएन । हामीसँग अतिरिक्त मास्क थिएन । त्यसैले फर्किनुपर्छ कि जस्तो भएको थियो । 

जसोतसो मिलाएँ । त्यसपछि टिमलाई लिएर अघि बढेँ । हामी ११ मेको बिहान ६ बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पुग्न सफल भयौँ । त्यसपछि फर्किएर क्याम्प फोरमा झर्‍यौँ । त्यहाँ केही समय आराम गरेर त्यही दिन क्याम्प–३ मा आएर बस्यौँ । १२ मेमा आधार शिविर पुगेर बस्यौँ । आधार शिविरबाट हेलिकोप्टरमार्फत लुक्ला हुँदै काठमाडौं फर्कियौँ ।

यसरी आरोहण सफल भयो । धेरैपटक सकिन्नजस्तो भएको थियो । शारीरिक रुपमै धेरै मुस्किल भइरहेको थियो । धेरै थकान महसुस भएको थियो । टोलीलाई त्यो कुरा भन्न पनि मिलेन । उनीहरू विश्वास गरेर आएका हुन्छन् । उनीहरूको विश्वासलाई तोड्न पनि भएन । यो आरोहण मेरा लागि महत्वपूर्ण पनि थियो । आरोहण टोलीमा बहराइनको राजपरिवारका सदस्यहरू थिए । साथै, सगरमाथाको उचाइ बढेपछिको पनि पहिलो आरोहण थियो । 

त्यसले गर्दा पनि आरोहण छाड्न मन लागेन । काठमाडौं आएर पनि पुनः फर्किएर टिमलाई भेट्न पुगेँ । त्यो निर्णय सही भयो जस्तो लाग्छ । कोरोना संक्रमण भएपछि पनि आरोहण गर्न सकिँदो रहेछ भन्ने महसुस भयो । अहिले संक्रमण बढ्दै गएको अवस्थामा आफ्नो ख्याल गर्नुपर्ने अवस्था छ । सबैलाई यही अनुरोध गर्छु कि सबैले सबैलाई सहयोग गरौँ । यो संकटलाई जित्न परिवारको सहयोग अझ महत्वपूर्ण हुने रहेछ । अस्पतालमा उपचार गर्दा होस् वा घरमै आइसोलेसनमा बस्दा, सम्भव रहेको माध्यमबाट परिवारको साथमा रहौँ । भर्चुअल्ली भए पनि आफ्ना आफन्तहरूसँग कुराकानी गरिरह्यौँ भने आत्मबल बढ्ने गर्छ । उच्च आत्मबलले यो संकटलाई जित्न सहज हुनेछ ।