मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कञ्चन झा
२०७८ जेठ ११ मंगलबार ०८:५६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मुल्ला नसिरुद्दिन र केपी ओली !

Read Time : > 3 मिनेट
कञ्चन झा
२०७८ जेठ ११ मंगलबार ०८:५६:००

देश यतिवेला नियमित आकस्मिकतामा चलिरहेझैँ भान भइरहेको छ । न सरकार न दलहरूमा नै, नियमितता कतै छैन । जे हुन्छ, आकस्मिक हुन्छ । देशकै भविष्यसँग जोडिएका गम्भीर विषयहरू पनि परिपक्व हुन नपाउँदै आकस्मिकताको ऐंठनमा परिरहेका छन् । त्यसैले जनता उकुसमुकुसमा छन्, सास फेर्नै गाह्रो अवस्था छ । देशमा अकस्मात् नै यो आकस्मिकताको अवस्था आएको भने पक्कै होइन । यसपछाडि थुप्रै कारण होलान्, तर अगाडि देखिएका प्रमुख पात्र प्रधानमन्त्री केपी ओली नै हुन् । जसले देशलाई घिसार्दै यो अवस्थासम्म पुर्‍याए र अझै पनि देशको घिस्राइको पीडाले उनलाई पोलेको छैन । यो महामारीको बीचमा ओली र ओली प्रवृत्तिका भक्तजनले प्रस्ट पारेका छन्– देश नदुख्ने मात्र होइन, लाजमर्दाेमा पनि गर्व महसुस हुन्छ, उनीहरूलाई । संघदेखि प्रदेशसम्मका सरकारका पछिल्ला अमर्यादित, अराजनीतिक र असंवैधानिक गतिविधि त्यसैको पुष्ट्याइँ हो ।

प्रधानमन्त्री ओली निरन्तर ‘अपना काम बनता भाँडमे जाय जनता’ वाला शैलीमा अघि बढिरहेका छन् । आँखा चिम्लेर साथ दिइरहेकी छन्, राष्ट्रपति विद्यादेवी भण्डारीले । धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि भएको षड्यन्त्रपूर्ण आह्वान अनि त्यो षड्यन्त्र सुल्झाउन विपक्षी दलहरूबाट भएको प्रयासलाई तुहाउने प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीचको मिलिभगत ‘...देख्नेलाई लाज’ भनेझैँ भएको छ । एउटा प्रक्रिया पूरा नहुँदै प्रधानमन्त्री ओलीको इसारामा राष्ट्रपति भण्डारीबाट सरकार गठनको अर्को प्रक्रिया थालिनु आफैँमा सन्देहयुक्त थियो, सन्देह पुष्टिन धेरै बेर लागेन । आफैँले विश्वासको मत पु¥याउन सक्दिनँ भनेर लिखितम पठाएको भोलिपल्टै अपेक्षाविपरीत विपक्षीहरूले सरकार बनाउन सक्ने देखेपछि प्रधानमन्त्री ओलीले हालेको बहुमतको दाबीरूपी भाँजोमा राष्ट्रपतिबाट लालमोहर लाउने काम भयो । 

नेकपा एमाले र जसपाभित्रको विवादमा पूर्वाग्रही न्यायाधीश बनेर एउटा निक्र्योलमा पुग्ने र त्यसैमा टेकेर राष्ट्रपति संस्थाको मर्यादाविपरीत फैसला दिने अधिकार महामहिम भण्डारीलाई कहाँबाट आयो ?

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको मनगढन्ते दाबी र शेरबहादुर देउवाको प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षरसहितको दाबीलाई एउटै बास्केटमा राखेर तौलिएजस्तो गरिन् । दुवै दाबीको वजन के–कति रहेछ भन्ने मापन गर्न आवश्यक नै ठानिनन् । नयाँ सरकार गठनका लागि दुवैको दाबी नपुगेको भन्ने राष्ट्रपतिको दलिल साह्रै उदेकलाग्दो देखिन्छ । प्रतिनिधिसभाका सदस्यहरूको संविधानप्रदत्त अभिमतको अधिकारलाई राष्ट्रपतिले पूरापूर नजरअन्दाज गरेकी छन् । नयाँ सरकार गठनका लागि देउवालाई समर्थन जनाएका प्रतिनिधिसभाका सदस्यहरूलाई अमूक दलहरूले भविष्यमा कारबाही गर्ने भनेकोलाई आधार मानेर राष्ट्रपतिले बहुमत पुग्दैन भनी निर्णय लिन मिल्छ ? राष्ट्रपतिले विद्यमान वस्तुस्थिति हेर्ने हो कि भविष्यमा यस्तो हुन सक्ला भन्ने आकलन गरेर निर्णय गर्ने हो ? नेकपा एमाले र जसपाभित्रको विवादमा पूर्वाग्रही न्यायाधीश बनेर एउटा निक्र्योलमा पुग्ने र त्यसैमा टेकेर राष्ट्रपति संस्थाको मर्यादाविपरीत फैसला दिने अधिकार महामहिम भण्डारीलाई कहाँबाट आयो ? 

प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनावको मिति तोकिएको छ । षड्यन्त्रको तानाबाना बुनेर डकैत शैलीमा घोषणा गरिएको चुनावका कारण मुलुक झनै द्वन्द्वमा जाने खतरा बढेको छ । सरकारबाट एकपछि अर्को संविधानविपरीतका गतिविधि भइरहँदा विपक्षीहरू त्यसविरुद्ध सशक्त रूपमा उभिन नसक्नुले पनि ओलीलाई मनपर्दी गर्न दुरुत्साहन मिलेको हो । देश कोरोना महामारीको चपेटामा छ । बिरामीहरू उपचार नपाएर छटपटिँदै छन् । कैयौँ जनता भोकभोकै छन् । व्यापार–व्यवसाय चौपट छ । यस्तो वेलामा ओली सरकार चुनावको चुर्ण बाँडिरहेको छ । अहिलेकै अवस्थामा चुनाव सम्भव पनि छैन र उपयुक्त पनि छैन । विपक्षी दलहरू मात्र होइन कि देशकै ठूलो हिस्सा अहिले चुनाव चाहँदैन । तर, केपी ओलीलाई मात्र चुनावको चटारो किन त ? आफू नेतृत्वबाट नहटेर जसरी पनि चुनाव गर्ने ओलीको मरिहत्ते देख्दा प्रशस्तै आशंका उब्जिन्छन् । विद्यमान व्यवस्था आत्मसात् गर्न नसकेका ओलीको विगतको पृष्ठभूमि अनि विधि–विधानमाथि उनले गर्दै आएका निर्मम मजाक साँच्चै नै झस्काउने खालकै छन् । उनले चालिरहेका पछिल्ला हरेक कदम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै भत्काउनेतर्फ उद्यत् छन् । त्यसैले जति सक्यो चाँडो केपी ओलीका अवाञ्छित कदममा किल्ला ठोक्न ढिलाइ गर्नुहुँदैन । जनताले सदासयता देखाउँदै ओलीलाई एउटा उचाइमा त पुर्‍याए, तर त्यो उचाइको मूल्य उनले बुझेनन् । त्यसैले ओली यतिवेला त्यो उचाइको अवमूल्यन गर्दै भत्काउन अग्रसर भएका छन् । जहाँबाट उनी स्वयं पनि खसेर भुइँमा बजारिने निश्चित छ ।

ओलीको सत्तारोहरणदेखि विद्यमान अवस्थासम्म गम्दा मुल्ला नसिरुद्दिनसँग सम्बन्धित एउटा लोककथा मानसपटलमा ताजा भएर आउँछ । कथा यस्तो छ : मुल्ला नसिरुद्दिन एक साँझ घरको छतमा बसेर मनमोहक वातावरणको मजा लिइरहेका हुन्छन् । मुल्ला नसिरुद्दिनलाई लाग्छ कि त्यो सुमधुर साँझको मजा उनको गधाले पनि उठाउन पाओस् । त्यसपछि उनी तल गएर आफ्नो गधालाई जसतसो छतमा लिएर जान्छन् । तर, त्यो गधाले सुमधुर साँझप्रति कुनै परवाह नै गर्दैन । ठिंग उभिई मात्र रहन्छ । यो देखेर उनी खिन्न हुन्छन् । त्यसपछि मुल्लाले त्यो गधालाई तल लैजान खोज्छन् । तर, गधाले मान्दैमान्दैन । र, उनी आफैँ मात्र तल झर्छन् । तल झरेको केही बेरमै छतबाट ड्वाङड्वाङ आवाज आउन थालेपछि मुल्ला हेर्न भनेर फेरि उक्लिन्छन । गधाले छतमा लात्ती हानिरहेको देखेपछि उसलाई तल झार्न खोज्छन् । तर, गधाले मान्दैन, बिच्केर मुल्लामाथि नै लात्ती बर्साउँछ । मुल्ला छतबाट सोझै भुइँमा खस्न पुग्छन् । गधा आफैँ पनि लगातारको लात्ती हानाइबाट छत भत्किँदा जमिनमा बजारिन्छ । यो घटनाबाट मुल्लाले मुख्यतः तीनवटा सन्देश अनुभूत गर्छन् : 

पहिलो– कुनै पनि गधालाई कहिल्यै पनि उचाइमा पुर्‍याउनु हुँदैन । गधा उचाइमा पुग्यो भने सबैभन्दा पहिला त्यसले सो उचाइलाई नै भत्काइदिन्छ । दोस्रो– जसले गधालाई त्यो उचाइमा पुर्‍याएको हुन्छ, उसलाई नै त्यहाँबाट खसालेर नोक्सान पुर्‍याउँछ । तेस्रो– आफैँ पनि खस्छ । सायद आमनेपालीले पनि यतिवेला मुल्ला नसिरुद्दिनले जस्तै अनुभूत गरिरहेका छन् !