
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई आइसोलेसन किट वितरण सुरु गरेको छ । कोरोना संक्रमित बिरामीहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन सोमबारदेखि किट वितरण सुरु गरिएको हो । होम आइसोलेसनमा रहने कोभिड– १९ का बिरामीको रोग प्रतिरोधात्मक क्षमता बढाउने किसिमका औषधिहरूसहितका आवश्यक सामग्रीहरू रहेको आइसोलेसन किट बनाई निःशुल्क वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेका अनुसार प्रत्येक संक्रमितलाई पेपर माक्स १० थान, स्यानिटाइजर १०० एमएल १ सिसी, जिंक २० एमजीको १० ट्याब्लेट, भिटामिन सी १० ट्याब्लेट, भिटामिन ई १० ट्याब्लेट, बी कम्प्लेक्स १० ट्याब्लेट, क्याल्सियम १० ट्याब्लेट, भिटामिन डी चार ट्याब्लेट, डिजिटल थर्मोमिटर एक सेट, प्यारासिटामोल पाँच सय एमजीको १० ट्याब्लेट, लिभोसिट्रिजिन पाँच एमजीको १० ट्याब्लेट रहेको आइसोलेसन किट बनाई वितरण सुरु गरिएको छ ।
पछिल्लो समय गाउँपालिकाभित्र कोरोनाको बिरामी थपिँदै गएकाले कोरोनाका जटिल बिरामीबाहेक अन्यलाई घरमा नै राखिने भएकाले किट आवश्यक रहेको उनको भनाइ छ ।
अहिले कोरोना संक्रमण दर बढ्दै गएकाले सामाजिक दूरी कायम गर्ने, माक्स लगाउने, वेलावेलामा साबुनपानी या स्यानिटाइजर प्रयोग गर्न र अतिआवश्यक नभई घरबाहिर ननिस्कन पनि गोसाइँकुण्ड गाउँपालिकाले सबै नागरिकमा अनुरोध गरेको छ ।