मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७८ बैशाख २४ शुक्रबार २०:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खोप प्रकरणले सरकारको अनैतिक चरित्र उदांगो भयो : देउवा

Read Time : > 1 मिनेट
२०७८ बैशाख २४ शुक्रबार २०:३२:००

कांग्रेस सभापति शेरबहादुर देउवाले कमिसनको खेलमा खोप आउन नसकेको घटनाले सरकारको अनैतिक चरित्र उदांगिएको भन्दै भर्त्सना गरेका छन् । उनले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको न्यूनतम जिम्मेवारीबोधसमेत नगरेको आरोप लगाएका छन् ।

‘सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होइन । जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो । जनताको जीवनरक्षा गर्नुपर्ने सरकार स्वयं जीवनदायिनी औषधि (खोप) भ्रष्टाचारमा संलग्न हुनुले यो सरकारको अनैतिक चरित्र उदांगाे भएको छ,’ देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु र यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु ।’ देउवाले जनताको जीवनरक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आइसियू बेड, खोपलगायतका औषधिको तत्काल व्यवस्था गर्न माग गरेका छन् । 

‘देशभरिका अस्पतालहरूमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहितका आइसियू बेड र औषधिको नितान्त अभाव भएको छ । अक्सिजन नपाएर बिरामी छटपटाएर मर्नु परेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनुपरेको दयनीय घटना देखापरेका छन्,’ देउवाले भनेका छन्, ‘कोभिड– १९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बाबजुत सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था गरेको छैन ।’ 

देउवाले विज्ञहरूले कोभिडको महामारी पटक–पटक आउन सक्ने, जुनसुकै वेला जोखिम बढ्न सक्ने भनेर दिएको चेतावनीलाई समेत अटेरी गरेका कारण यस्तो अवस्था आएको भन्दै यसको सरकार नै यसको जिम्मेवारी भएको बताएका छन् । 

‘समयमा कोभिड– १९ विरुद्धको खोपको व्यवस्था गरेन । फलस्वरूप अहिले नेपाल विश्वमा नै कोभिड– १९ को उच्च जोखिममा रहेका देशहरूमा गणना भएको छ,’ देउवाले भनेका छन्, ‘यस्तो अवस्था सिर्जना हुनुमा यो सरकार पूर्ण रूपमा जिम्मेवार छ ।’