मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार ०४:०९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शिक्षण र टेकु अस्पतालमा बेड भरिएपछि बरन्डामै संक्रमित

पाँच बेड क्षमताको टेकु अस्पतालको इमर्जेन्सीमा २६ बेड, आइसियूमा राख्नुपर्ने बिरामी तीन दिनदेखि इमर्जेन्सीमा ‘होल्ड’ 

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार ०४:०९:००

......

कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका बेड भरिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले बिरामीलाई बरन्डामै राखेर उपचार गर्न थालेको छ । बिहीबार केही बिरामीलाई बरन्डामै अक्सिजन दिएर राखिएको छ । नजिकै अरू बेड पनि तयारी अवस्थामा छन् । 

अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले अहिलेको संरचनाले धान्नै नसक्ने गरी बिरामी बढेकाले बरन्डामा पनि बेड विस्तार गर्नुपरेको बताए । ‘बिरामीको लोड थाम्नै नसक्ने अवस्था छ । भित्र भर्ना गर्न नसकेर बाहिरै राखिएको हो । बाहिरै भए पनि बिरामीलाई कम्तीमा अक्सिजन व्यवस्थापन गर्न सकिएको छ,’ उनले भने । 

शिक्षण अस्पतालको इमर्जेन्सीमा पछिल्लो समय प्रत्येक दिन ६०–७० जना बिरामी आउने गरेका छन् । डा. दासका अनुसार बिहीबार दुई सय ५० संक्रमित भर्ना भएका छन् । केही बिरामी बेड नपाएर कुरिरहेको उनले बताए । ‘बिहीबार साँझसम्म बेड नपाएर कुरिरहेका १४–१५ जना बिरामी छन्,’ उनले भने । 

शिक्षण अस्पतालमै ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ सञ्चालन गर्न निर्माण गरेको खाली भवनलाई कोरोनाका बिरामीको उपचारमा प्रयोग गर्ने तयारी छ । तर, यता बिरामी बरन्डामा राख्नुपर्ने अवस्था आइसक्दासमेत खाली भवन व्यवस्थापनमा भने ढिलासुस्ती भइरहेको छ । 

उता टेकु अस्पतालको इमर्जेन्सी पनि संक्रमितले भरिएको छ । पाँच बेड राख्न मिल्ने इमर्जेन्सीमा ठेलमठेल गरेर २६ बेड राखिएका छन् । आइसियूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई तीन दिनदेखि इमर्जेन्सीमै ‘होल्ड’ गरेर राखिएको छ ।

काभ्रेमा निर्माणको काम गर्दै आएका निरलाल चौधरीको शरीरमा अक्सिजन लेभल निकै कम भएपछि मंगलबार राति नै टेकु अस्पताल पु¥याइएको थियो । उनलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था छ, तर बेड खाली नभएका कारण तीन दिनदेखि इमर्जेन्सीमै ‘होल्ड’ गरिएको छ ।

निरलाललाई गत हप्ता नै कोरोना पुष्टि भएको थियो । सुरुका केही दिन काभ्रेमै उपचार गरिए पनि स्वास्थ्य बिग्रँदै गएपछि काठमाडौं ल्याइएको हो । ‘काठमाडौंमा जानेजतिका सबै अस्पतालमा बेड खोज्यौँ । कतै नभेटिएपछि टेकुमा ल्याएको । यता इमर्जेन्सीमा पनि बेड पाउन मुस्किल भयो, आइसोलेसनको त के आस गर्नु ?’ कुरुवा बसेका रामभजन देवले भने ।

शिक्षण अस्पतालभित्र बेड नपाएर बिहीबार राति बरन्डामै अक्सिजन लिइरहेका बिरामी । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

५६ वर्षीया संगीता थापा पनि इमर्जेन्सी वार्डको बाहिर राखिएको बेडमा बिहान ८ बजेदेखि अक्सिजन लिइरहेकी छिन् । अक्सिजनको लेभल घट्दै गएपछि परिवारका सदस्यले उनलाई धादिङबाट बिहीबार बिहानै टेकु अस्पताल पु¥याएका थिए । निमोनियाका लक्षणसँगै सास फेर्न गाह्रो भएकाले उनलाई कोरोना संक्रमण भएको अनुमान अस्पतालले गरेको छ, तर रिपोर्ट आइसकेको छैन । उनीजस्तै लक्षण देखिएका, तर रिपोर्ट आइनसकेका बिरामीलाई अस्पतालले इमर्जेन्सीबाहिरै राखेर अक्सिजन दिइरहेको छ । 

इमर्जेन्सीको ढोकाबाहिर, माथिल्लो तलामा जाने बाटो र प्यासेजमा समेत बेड राखेर अस्पतालले बिरामीलाई अक्सिजन दिँदै छ । दैनिक ५०–६० बिरामी भर्नाका लागि आउने गरेको अस्पतालले जनाएको छ । ‘अहिले नै अस्पतालको क्षमताभन्दा पाँच गुणा बढी बिरामी राखेर उपचार गरिरहेका छौँ । अब हामीसँग बेड राख्नका लागि खाली ठाउँ पनि छैन,’ अस्पतालका प्रवक्ता नवराज गौतमले भने । 

उपत्यकामा निजी अस्पतालमा समेत बेड पाइन मुस्किल हुन थालेकाले टेकु अस्पतालले अक्सिजन आवश्यक भएका बिरामीलाई अस्पतालबाहिरै राखेर भए पनि अक्सिजन सिलिन्डर उपलब्ध गराइरहेको बताएको छ । ‘इमर्जेन्सीमा राखिएका सबैजसो बिरामीलाई अक्सिजन दिइरहेका छौँ, बाहिरै होल्ड गरेर राखिएका बिरामीलाई पनि दैनिक १५ लिटरजति अक्सिजन चाहिने अवस्था छ,’ इमर्जेन्सी वार्डका इन्चार्ज लीलानाथ भण्डारीले भने, ‘इमर्जेन्सीका दुईजना स्टाफ अक्सिजन सिलिन्डर व्यवस्थापनमै खटिएका छन् । अक्सिजन नपाएर फर्किनु नपरोस् भनेर बिरामीलाई कुर्सीमा बसाएर भए पनि अक्सिजन दिइरहेका छौँ ।’ 

वार्डको क्षमताभन्दा बढी बिरामी हुँदा उपचारमा समस्या भइरहेको नर्स मीरा निरौलाले बताइन् । ‘अधिकांश बिरामी सिकिस्त छन्, औषधि दिनेदेखि लिएर सबै हेरचार स्टाफले गर्नुपर्ने अवस्था छ, वार्डमा यताउति हिँड्नसमेत अप्ठेरो हुने गरी बेड राख्नुपरेको छ,’ उनले भनिन् । 

८ वैशाखयताका १६ दिनमा काठमाडौं उपत्यकामा मात्रै ३७ हजार चार सय २३ संक्रमित थपिएका छन् । बिहीबार सबैभन्दा धेरै तीन हजार नौ सय ७२ संक्रमित थपिएका छन् । यो अवस्थामा निजी अस्पतालले तोकेको मनोमानी शुल्कबाट तर्सिएका नागरिक सरकारी अस्पतालमै पुग्ने गरेका छन्, तर राज्यको तयारी अपर्याप्त हुँदा उपचार जटिल बन्दै गएको छ ।