मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३ आइतबार
  • Sunday, 19 September, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २० सोमबार १५:५७:००
Read Time : > 6 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निषेधाज्ञा थप कडा, कालोबजारी गर्नेलाई कडा कारबाही : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)

Read Time : > 6 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २० सोमबार १५:५७:००

प्रधानमन्त्री केपी ओलीले निषेधाज्ञा थप कडा पारिने बताएका छन् । देशवासीको नाममा सोमबार सम्बोधन गर्दै ओलीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि विज्ञको सुझाबको आधारमा निषेधाज्ञालाई थप कडा पार्न लागिएको बताएका हुन् । 

उनले प्रदेशहरूमा मन्त्रीहरूलाई फोकलपर्सनको रूपमा खटाइएको पनि बताए । प्रदेश र स्थानीय तहलाई सक्रिय बनाउने उनले बताए । प्रदेश सरकारले मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड र सानालाई ननकोभिड अस्पतालका रूपमा सञ्चालन गर्ने र होटेललाई क्वारेन्टिन बनाइने उनले बताए । 

सबै सरकारी तथा निजी अस्पतालले दैनिक शय्याको विवरण स्वास्थ्य मन्त्रालयलाई पठाउनुपर्ने र लुकाएको पाइए कारबाही गरिने पनि उनले बताए । कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् ।

नेपाली सेनालाई हजारजनाको उपचार हुने अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको पनि उनले बताए । सञ्चालनमा नरहेका अक्सिजन प्लान्टलाई तत्काल सञ्चालनमा ल्याइने, उत्पादित अक्सिजनलाई अस्पतालमा प्रयोग गरिने उनले जानकारी दिए । अन्य क्षेत्रमा पनि प्रतिबन्ध लगाइने व्यवस्था गरिएको उनले जानकारी दिए । 

 कोभिडको उपचार, शव व्यवस्थापन गर्ने चिकित्सक, कर्मचारी, शव जलाउनेलाई स्केलको ५० प्रतिशत भत्ता र बिमाको व्यवस्था गरिएको उनले बताए । 

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
२० वैशाख २०७८
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
– एक वर्षअघि यसै समयतिर हामीहरू कोभिड– १९ को प्रारम्भिक असर भोग्दै थियौँ । मानिसको जीवन र अर्थतन्त्रको रक्षाबीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए । हामीले ‘जीवन पहिला’ भन्यौँ र त्यहीअनुरूप योजनाहरू बनायौँ । एक वर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले द्विविधा रहेन । देशवासीको जीवनरक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो । सबैको सहयोगमा गत वर्षको कात्तिक अन्त्यसम्ममा हामी महामारीलाई नियन्त्रण गर्ने स्थितिमा आइपुगेका थियौँ ।
– यस सफलताका लागि महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र सफाइकर्मीसहित सबै तह र तप्काका राष्ट्रसेवक कर्मचारीको भूमिका उल्लेखनीय रह्यो । त्यस असामान्य घडीमा संक्रमितहरूको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने सबैको त्याग, समर्पण र लगनशीलताको म उच्च प्रशंसा गर्दछु ।
– अहिले हामी कोभिड– १९ महामारीको दोस्रो लहरको सामना गर्दै छौँ । कोभिडको यो लहर नयाँ स्वरूपमा थप घातक रूपमा देखापरेको छ । संक्रमणको दर र मृत्युदर गत वर्षको तुलनामा बढी छ । हिजोको २४ घन्टाको तथ्यांकलाई उदाहरणको रूपमा लिँदा, पिसिआर परीक्षण गरिएका १६ हजार सात सय ७० केसमध्ये झन्डै ४३ प्रतिशत अर्थात् सात हजार दुई सय ११ मा संक्रमण देखिएको छ ।
– हिजो साँझसम्म कुल संक्रमित संख्या तीन लाख ३६ हजार ३० पुगेको छ । कुल संक्रमितमध्ये निको भएका संक्रमित ८४.५ प्रतिशत, निको हुने क्रममा रहेका संक्रमित १४.५ प्रतिशत र ज्यान गुमाउनेको संख्या ०.९९ प्रतिशत छ । ३० जिल्लामा दुई सयभन्दा बढी र १५ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित संख्या छ । ७२ जिल्लामा कोभिड संक्रमित रेकर्ड भएका छन् । वैशाख १९ गतेसम्मको कुल संक्रमितमा ३८.४ प्रतिशत काठमाडौं जिल्लामा मात्रै र ५०.४ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै छन् ।
– यस महामारीबाट संक्रमित भई अस्पतालमा उपचार गराइरहनुभएका र घरमै आइसोलेसनमा बसी स्वास्थ्यलाभ गरिरहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
– हालसम्म तीन हजारभन्दा बढी देशवासीले अनाहकमा यस महामारीबाट जीवन गुमाउनुपरेकोमा दुःख व्यक्त गर्दछु र उहाँहरूका शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
दिदीबहिनी तथा दाजुभाइहरू,
– गत वर्ष यो महामारी नेपाल भित्रिनुअघि नै सरकारले यसको रोकथाम र नियन्त्रणका लागि सरकारी निकायबीच समन्वय गरी प्रभावकारी काम गर्न माननीय उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड– १९ संकट व्यवस्थापन केन्द्रीय निर्देशक समिति गठन गरेको सबैलाई जानकारी नै छ । त्यसैको योजनामा देशभर होल्डिङ सेन्टर र आइसोलेसन केन्द्र बनाइएको थियो, क्वारेन्टिनको व्यवस्थापन र अस्पतालहरूमा शीघ्र उपचारको व्यवस्था मिलाइएको छ । शून्यको संख्यामा रहेको पिसिआर परीक्षण ल्याब संख्या क्रमशः बढाउँदै लगिएको थियो । हाल सरकारी र निजीस्तरका गरी ८७ स्थानमा पिसिआर परीक्षण हुने गरेको छ । सबैजसो अस्पताललाई कोभिडको उपचार गर्न सक्ने स्थितिमा पु¥याइएको छ । गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ । सबै स्थानीय तहमा पाँचदेखि १५ शय्याका आधारभूत अस्पताल निर्माण र केन्द्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीव्रता दिइएको छ ।
– अप्ठ्याराकै बीचमा हामीले कोभिड– १९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेका छौँ । आफ्ना देशवासीलाई कोरोनाविरुद्ध खोप लगाउनेमा हामी दक्षिण एसियामै भारतपछि पहिलो मुलुक हौँ । हालसम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइसकिएकोे छ । दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झन्डै तीन लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् । यस संख्यामा स्वास्थ्यकर्मीलगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेका छन् ।
– मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आपैmँ आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।
दिदीबहिनी तथा दाजुभाइहरू,
– कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील छ । नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो भन्नेमा म पुनः जोड दिन चाहन्छु ।
– त्यसैले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित छन् । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक एवं प्रभावकारी ढंगले कोभिडविरुद्धको लडाइँकार्य अघि बढाउन प्रदेश केन्द्रित हुने गरी अहिले नेपाल सरकारका एक–एकजना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकिएको छ ।
– संक्रमणको साङ्लो चुँडाउन अस्पताल वा आइसोलेसन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन, एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरूको सल्लाहअनुसार केही अवधिका लागि निषेधाज्ञा जारी गरिएको छ । यसलाई थप कडाइ गरिँदै छ र प्रभावकारी ढंगले लागू गर्न पहिले झैँ सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ ।
– यही २०७८ वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको छ ।
– २०७८ वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको छ ।
– स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको छ । नेपाली नागरिक प्रवेशका लागि नेपाल–भारतबीच रहेका सीमानाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको छ । आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत् सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
– भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइनेछ । सबै तहमा कन्ट्याक्ट ट्रेसिङ बढाउन लगाइएको छ ।
– स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिनेछ । कोही संक्रमित पाइएमा उनीहरूलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको छ ।
– प्रत्येक स्थानीय निकायले नेपालबाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको छ ।
– सरकारी तथा अन्य कार्यालयमा एकचौथाइ कर्मचारीबाट कार्यसम्पादन गराउन सुरु गरिएको छ । अत्यावश्यकबाहेक अन्य कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द रहनेछन् ।
– नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको छ ।
– वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिनेछ ।
– प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्नेछन् ।
– सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटेल, कारखाना, गोदामघरलगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ ।
– सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शय्या र तीमध्ये प्रयोग भएका वा नभएका शय्याको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्नेछ । कुनै अस्पतालले विवरण पूरा नपठाई शय्या लुकाएको भेटिएमा कारबाही हुनेछ ।
– ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिनेछ । सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ । लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिनेछ । लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिनेछ । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ ।
– कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिनेछ ।
– स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन संघ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ । कोभिड– १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ ।
– जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी २४सै घन्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लंघन गर्नेलाई कानुनबमोजिम दण्डित गरिनेछ । 
– संक्रमणको साङ्लो तोड्नका लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ । महामारी नियन्त्रण भएसँगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने नै छ ।
– जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्नेछन् । परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्नेछन् । अन्तरमन्त्रालय समन्वयमा काम गरिनेछ ।
दिदीबहिनी तथा दाजुभाइहरू,
– महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पूरा गर्छ । यसलाई प्रभावकारी बनाउन सरकारका साथै आमनागरिकको पनि उत्तिकै भूमिका हुन्छ । त्यसैले,
– सकभर घरमै बसौँ, घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाऔँ ।
– समयसमयमा साबुनपानीले हात धोऔँ वा स्यानिटाइजरले हात सफा गर्ने गरौँ ।
– भोजभतेर तथा पर्व घरमै मनाऊँ ।
– भौतिक दूरी कायम गरौँ, भिडभाडबाट टाढै रहौँ ।
– हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔँ ।
– चिकित्सक, विज्ञ तथा प्राविधिकहरूको सल्लाहलाई पालना गरौँ ।
– धैर्य गरौँ, संयमता अपनाऔँ ।
– सावधान होऔँ, तर आतंकित नहोऔँ ।
– गत वर्ष गरिएको बन्दाबन्दी र जारी गरिएको निषेधाज्ञाका समयमा हामीले पालना गरेको अनुशासनले महामारीको असर धेरै हदसम्म कम हुन गएको थियो । यसमा भएको हेलचेक्र्याइँले क्रमशः महामारी फैलिन बल पु¥याएको तथ्यलाई हामी सबैले मनन गरौँ । नभुलौँ, महामारीले कसैलाई पनि छाड्दैन ।
– अन्त्यमा, महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम र लिएका पहलमा सबैको साथ–सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, चालक–सहचालक, सफाइकर्मी एवं सम्बद्ध सबैलाई विचलित नभई आ–आफ्नो कर्तव्य निर्वाह गर्न म हार्दिक आह्वान गर्दछु ।
– राजनीतिक दलका नेता–कार्यकर्ता, सामाजिक संघसंस्था एवं प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई कोभिडविरुद्ध जनचेतना जगाउन र असहायलाई सहयोग गर्नसमेत आग्रह गर्दछु ।