मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ बैशाख १८ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख १८ शनिबार o७:१९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात सुरु शनिबारदेखि आयात गरिने विद्युतकाे प्रतियुनिट मूल्य ३.८१ भारु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख १८ शनिबार o७:१९:oo

नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत् खरिद गर्न सुरु गरेको छ । प्राधिकरणले शनिबार राति १२ बजेबाट २ सयदेखि २ सय ५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्दै छ । 

योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत् खरिद गर्न प्राधिकरण सफल भएको शाक्यको भनाइ छ ।

कार्यकारी निर्देशक शाक्यले सबै शुल्कसहित विद्युत्को प्रतियुनिट मूल्य ३ दशमलव ८१ भारतीय रुपैयाँ रहेको उल्लेख गरे । ‘प्राधिकरणले पहिलोपल्ट भारतीय बजारले निर्धारण गरेको दरमा शनिबारका लागि खरिद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारु ३७ पैसा सस्तोमा विद्युत् पाएका छौँ, यसबाट हाम्रो करिब ३० लाख ४८ हजार रुपैयाँ बचत भएको छ, अन्य दिनमा पनि विद्युत् खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ,’ उनले भने । प्राधिकरणले अहिले भारतबाट ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४ दशमलव १८ भारु छ । प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत विद्युत् आयात गरिरहेको छ । 

प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत् निगम लिमिटेड (एनभिभिएन) बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २ सय ५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३ सय ५० मेगावाटसम्म र मे–जुनमा २ सय मेगावाटसम्म विद्युत् खरिद–बिक्री (पिपिए) सम्झौता भएको छ । पिपिएको म्याद ३० जुन २०२१ सम्म रहेको छ । 

भारतीय एक्सचेन्ज बजारबाट विद्युत् खरिदका लागि प्राधिकरणका तर्फबाट सम्पूर्ण कारोबार भारतीय नोडल कम्पनी एनभिभिएनले गर्नेछ । एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ । एक्सचेन्ज बजारमा कारोबार भएको विद्युत्को दैनिक बिल एनभिभिएनले पेस गरेपछि ५ दिनभित्रमा प्राधिकरणले भुक्तानी पठाउनुपर्ने व्यवस्था रहेको कार्यकारी निर्देशक शाक्यले उल्लेख गरे । 

प्राधिकरणले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएपछि आन्तरिक रूपमा खपत गरेर जगेडा भएको विद्युत् भारतीय बजारमा बिक्री गर्ने योजना बनाएको छ । नेपाल भारतीय ऊर्जा एक्सचेन्ज बजारको सदस्य भएको र प्रवेश पनि पाइसकेकाले विद्युत् बिक्रीका लागि पनि थप सहज हुने कार्यकारी निर्देशक शाक्यले बताए ।