मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १७ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७८ बैशाख १७ शुक्रबार o९:१७:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेची अस्पतालको तीनवटै डायलाइसिस मेसिन निजीलाई जिम्मा

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख १७ शुक्रबार o९:१७:oo

अस्पतालकै कोठामा निजीले डायलाइसिस सेवा दिन्छ, बिरामी भन्छन्– निजीले लिएपछि झनै गाह्रो भयो

मेची अस्पतालले मिर्गौला रोगीका लागि निःशुल्क चलाइरहेको डायलाइसिस सेवा निजी अस्पताललाई दिएको छ । तीनवटा मेसिनसहित अस्पताल विकास समितिको निर्णयका आधारमा निजीलाई सेवा सञ्चालनको जिम्मा लगाएको हो ।

काठमाडौंको बिराङ हेल्थ केयरलाई गत पुसदेखि डायलाइसिस सेवा जिम्मा लगाइएको हो । अस्पतालमा रहेको तीनवटा मेसिनसमेत निजीलाई नै सञ्चालन गर्न दिइएको छ । अस्पतालकै भवनमा डायलाइसिस सेवा चलाइरहेको बिराङले थप दुईवटा डायलाइसिस मेसिन ल्याएको छ । तर, यो मेसिन सधैँ बिग्रँदा मिर्गाैलाका बिरामी समस्यामा परेका छन् । अस्पताल विकास समितिले विनासूचना र विनाप्रतिस्पर्धा सरकारी सम्पत्ति निजीलाई जिम्मा लगाएको हो । पाँच वर्षको सम्झौता गरेर डायलाइसिस सेवा बिराङलाई दिइएको मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा.पिताम्बर ठाकुरले बताए । मेची अस्पताल प्रदेश सरकारद्वारा सञ्चालित अस्पताल हो । 

लालप्रसाद सापकोटा, मिर्गौला रोगी

हामीले उजुरी दर्ता त गरायौँ । फेरि अस्पतालमै पुर्‍याएको छ रे । अस्पतालमा केही सुधार आएको छैन । निजीलाई के स्वार्थले दिएको हो कुन्नि त्यो पनि बुझ्न सकेनौँ । पहिला अनुभवी कर्मचारी थिए । नयाँ नर्सहरूले नजानेर होला जतापायो त्यतै घोचिदिन्छन् । कहिलेकाहीँ त डायलाइसिस गर्न पनि नजाउँजस्तो हुन्छ ।

सरकारी अस्पतालको डायलाइसिस सेवा निजीलाई दिएको विषयमा सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखालाई समेत जानकारी छैन । महाशाखा प्रमुख सागर प्रसाईंले यसबारेमा जानकारी नभएको बताए । तर, मेची अस्पतालका मेसु डा. ठाकुर भने प्रदेशमा पनि जानकारी गराइएको दाबी गर्छन् । उनको कार्यकाल जेठसम्म मात्रै बाँकी छ ।

अहिले मेची अस्पतालमा नियमित रूपमा सातामा करिब ४० जनाले डायलाइसिस सेवा लिइरहेको ठाकुरले बताए । बिराङले एकजनाको एकपटक डायलाइसिस गरेबापत राज्यले दिने दुई हजार तीन सय रुपैयाँ पाउने उनले बताए । ‘एकजनाको एकपटकको २५ सय आउँछ । त्योमध्ये दुई सय अस्पताल विकास समितिले राख्छ । बाँकी २३ सय बिराङलाई दिन्छौँ,’ ठाकुरले भने । यसअघि मेचीले पाँचजना कर्मचारी राखेको थियो । तीमध्ये दुईजना प्राविधिक करारमा थिए । पुराना कर्मचारीमध्ये करारका दुईजना मात्र अहिले छन् । बाँकी तीनजना स्टाप नर्स बिराङले राखेको छ । उनीहरू सिकारु हुन् । ‘भवनसमेत उहाँहरूले बनाउने हो । बनाइसक्न लाग्नुभएको छ । कर्मचारी पनि उहाँहरूले नै राख्नुहुन्छ,’ ठाकुरले भने, ‘करारका दुईजनालाई पनि असारबाट उहाँहरूले नै तलब खुवाएर राख्ने हो ।’

सरकारले तीनवटा मात्र डायलाइसिस मेसिन दिँदा सबै बिरामीको डायलाइसिस गर्न नसकिएकाले निजीलाई दिनुपरेको ठाकुरले बताए । ‘सरकारले २÷३ वटा मात्र मेसिन दिन्छ । यसले त थोरै बिरामीलाई मात्र गर्न सकिन्छ,’ उनी भन्छन्, ‘बिराङले २० वटा पुर्‍याउँछु भनेको छ । यसले त झापाका सबैलाई डायलाइसिस गर्न सकिन्छ ।’ तर, मेची अस्पतालमा थप पाँच मेसिनका लागि बजेट आएको छ । उक्त मेसिन खरिदका लागि टेन्डरको प्रक्रियामा रहेको अस्पतालले जनाएको छ । यो मेसिन पनि बिराङलाई नै सञ्चालनका लागि दिने तयारी छ । यद्यपि मेसु ठाकुरले भने अस्पताल विकास समितिको निर्णयले मात्र टुंगो लाग्ने बताए । 

बिराङले दुईवटा नयाँ मेसिन ल्याएको छ । तर, यो मसिन काम लाग्ने अवस्थामा छैन । नयाँ मेसिनले डायलाइसिस गर्दा बिरामीलाई झनै गाह्रो हुने गरेको छ । ‘दुईवटा मेसिन आएपछि १८–२० जना बिरामी थपिएका छन् । सुरुमा मेसिनमा केही गुनासो आएको हो,’ उनले भने, ‘मेसिन न हो । मेसिनमा समस्या थियो । सामान्य समस्या त आइहाल्छ नि ! त्यो मर्मत भइसकेको छ ।’ बिराङले मेची अस्पतालकै एक कोठामा आफ्नो ब्यानर राखेको छ । तर, सबै सामग्री मेची अस्पतालकै चलाउँदै आएको छ । बिराङले गत पुसदेखि डायलाइसिस सेवा सञ्चालन गरेपछि बिरामीका गुनासैगुनासा छन् । विनाकुनै प्रक्रिया अस्पतालले बिराङलाई दिएपछि सधैँ बिरामीका गुनासो आउन थालेको हो । 

बिरामीको उजुरीको सुनुवाइ नै भएन
बिराङले डायलाइसिस मेसिन सञ्चालनमा ल्याएपछि पुराना र अनुभवी कर्मचारी सबै सरुवा भएका छन् । बिराङले डायलाइसिस गर्न थालेपछि बिरामीमा झनै समस्या देखिएपछि ४ चैतमा बिरामीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए । तर, बिरामीको उजुरीको सुनुवाइ नै नभएको गुनासो छ ।

देवीप्रसाद दाहाल, मिर्गौला रोगी

हप्तामा डायलाइसिस दुईपटक गराउँछु । अढाई वर्षमा कहिल्यै गाह्रो भएको अनुभव भएको थिएन । तर, पुसयता त डायलाइसिस गरे पनि धेरै गाह्रो हुन्छ । कहिलेकाहीँ त शौचालयसम्म पुग्न पनि मुस्किल हुन थालेको छ ।

‘हामीले उजुरी दर्ता त गरायौँ । फेरि अस्पतालमै पुर्‍याएको छ रे !’ नियमित डायलाइसिस गराइरहेका बिरामी लालप्रसाद सापकोटा भन्छन्, ‘अस्पतालमा केही सुधार आएको छैन । निजीलाई के स्वार्थले दिएको हो कुन्नि त्यो पनि बुझ्न सकेनौँ ।’ बिराङले तीनजना नयाँ स्वास्थ्यकर्मी राखेको छ । उनीहरूले डायलाइसिस गराउँदा धेरै पीडा हुने अनुभव छ, सापकोटासँग । ‘पहिला अनुभवी कर्मचारी थिए । अहिले पनि दुईजना प्राविधिक पुराना छन् । तर, उनीहरूले सबै भ्याउँदैनन्,’ उनी भन्छन्, ‘नयाँ नर्सहरूले नजानेर होला जतापायो त्यतै घोचिदिन्छन् । कहिलेकाहीँ त डायलाइसिस गर्न पनि नजाउँजस्तो हुन्छ ।’

दमक–२ का देवीप्रसाद दाहाल अढाई वर्षदेखि मेची अस्पतालमा नियमित मिर्गौलाको डायलाइसिस गराइरहेका छन् । उनको मृगौलाले काम गर्न छाडे पनि विगतमा अस्पतालका अनुभवी प्राविधिक र स्वास्थ्यकर्मीले डायलाइसिस गर्दा उनको स्वास्थ्यमा कुनै समस्या थिएन । तर, पुसयता डायलाइसिस गराए पनि उनलाई समस्या आइरहन्छ । ‘हप्तामा डायलाइसिस दुईपटक गराउँछु । अढाई वर्षमा कहिल्यै गाह्रो भएको अनुभव भएको थिएन,’ उनी भन्छन्, ‘तर, पुसयता त डायलाइसिस गरे पनि धेरै गाह्रो हुन्छ । कहिलेकाहीँ त शौचालयसम्म पुग्न पनि मुस्किल हुन थालेको छ ।’ 

बिराङले ल्याएको दुईवटा नयाँ मेसिनमा डायलाइसिस गर्दा भोलिपल्ट नै फेरि डायलाइसिस गर्नुपरेको अनुभव छ देवीप्रसादसँग । ‘पुरानो मेसिनमा तीन घन्टाको सट्टा दुई घन्टा गर्दा पनि स्वस्थ हुन्छ । स्कुटी चलाएर भद्रपुर पुगेर आउन सक्छु,’ उनी भन्छन्, ‘तर, यो नयाँ मेसिनमा गरेपछि डायलाइसिस गरेर आएकै दिन गाह्रो हुन्छ भोलिपल्ट नै इमर्जेन्सीमा भर्ना हुनुपर्छ ।’

डायलाइसिस गरेर आएको भोलिपल्ट नै धेरैपटक पैसा खर्च गरेर पुनः डायलाइसिस गर्न गएका छन् दाहाल । ‘मेची अस्पतालमा निःशुल्क हुन्छ । तर, गाह्रो भएपछि त निजीमा डायलाइसिस गर्न जानै पर्‍यो । बिएन्डसीमा दुईपटक गएँ । त्यहाँ एकपटकको आठ हजार लिन्छ । हामीले कसरी धान्ने ?’ उनी भन्छन्, ‘एक÷दुईपटक मेची अस्पतालमा पनि इमर्जेन्सी जानुपर्‍यो । पहिला इमर्जेन्सीमा जाँदा पनि मेचीले पैसा लिँदैन थियो । अहिले २५ सय लिन्छ । त्यो पनि काउन्टरमा बिल काट्न लगाउँदैन । त्यहीँ पटके काटेजस्तो कट्छ । अढाई वर्षमा म कहिल्यै इमर्जेन्सी गएको थिइनँ । पुसयता चारपटक गइसकेँ । डायलाइसिस गर्न जाँदा नयाँ मेसिन नपरोस् भनेर प्रार्थना गरेर जान्छु । नयाँ पर्‍यो भने त घर आइपुग्नेबित्तिकै गाह्रो हुन्छ ।’

नयाँ मेसिनमा डायलाइसिस गराउँदा आइसियूमा

शिवसताक्षी नगरपालिकास्थित दूधेकी मिर्गौलाकी बिरामी सम्झना बुढाथोकी दुई वर्षयता मेची अस्पतालमा डायलाइसिस गराउँदै आएकी छिन् । गत पुसअघि उनलाई डायलाइसिस गराउँदा निकै सहज महसुस हुन्थ्यो । तर, निजीले मेची अस्पतालको डायलाइसिस चलाउन थालेपछि उनको स्वास्थ्यमा समस्या हुन थालेको छ । 

गत असोजमा उनलाई कोरोना संक्रमण भयो । त्यो वेला पनि त्यति गाह्रो भएको थिएन । तर, बिराङले ल्याएको दुईवटा मेसिनमा डायलाइसिस गराउँदा उनी साह्रै बिरामी भइन् । ‘कोरोना लाग्दा पनि सहजै जितेको थिएँ । तर, पुसदेखि यता दुईपटक साह्रै भएँ । डायलाइसिस गरेर घर जान नपाई अस्पताल जानुपर्‍यो,’ उनले भनिन्, ‘बिएन्डसी अस्पतालको आइसियूमा दुईपटक भर्ना भएँ । दुई हप्ता मात्र भयो निस्किएको । अहिले पनि नयाँ मेसिन पर्‍यो भने त गाह्रो हुन्छ । मेसिन नै राम्रोसँग सफा गर्दैनन् ।’ बिएन्डसीमा उनले दुईपटकमा ४० हजार रुपैयाँ खर्च गरिन् । स्वास्थ्य बिमा थियो । तर, औषधिको खर्च मात्र त्यति आएको हो । 

अस्पताल विकास समिति अध्यक्ष सोमनाथ पोर्तेल भन्छन्- बिरामीले राजनीति गर्न खोजे

अस्पताल विकास समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बिरामीकै सुविधाका लागि निजीलाई दिइएको दाबी गर्छन् । निजीले मेसिन थप्ने प्रतिबद्धता जनाएकाले डायलाइसिसको जिम्मा बिराङलाई लगाइएको उनले बताए । ‘बिराङले अब १० वटा मेसिन ल्याउँछ । पुराना तीनवटा छन् । हामी पाँचवटा खरिद गर्छौं । कम्तीमा ३० वटा मेसिन पुर्‍याउने लक्ष्य हो,’ उनी भन्छन्, ‘अनुभवी कर्मचारी पनि छन् । उनीहरूको तलब पनि बिराङले नै खुवाउँछ । संरचना पनि आफैँ बनाउँछ । नेपाल सरकारले जति पैसा दिन्छ त्यही आधारमा काम गर्छ । अनि कहाँ गलत भयो ?’ 

बिराङलाई स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको र त्यहीअनुसार मेची अस्पतालले जिम्मा दिएको उनको दाबी छ । जिल्ला प्रशासन कार्यालयमा बिरामीले हालेको उजुरीको विषयमा आफूलाई जानकारी नभएको उनले बताए । तर, बिरामीले राजनीति गर्न खोजेको उनको आरोप छ । ‘समस्या र गुनासो भए सीधै मकहाँ आए भइहाल्छ नि ! किन प्रशासन कार्यालय जाने ? कसैले राजनीति गर्न खोजेको हाला । म जान्दिनँ,’ अध्यक्ष पोर्तेलले भने, ‘त्यहाँ सबै राजनीतिक पहुँच लगाएर । भनेरै उपचार गर्न आएका छन् । उनीहरूले मलाई नै भन्न सकिहाल्छन् नि !’