मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
केदार दाहाल काठमाडौं
२०७८ बैशाख १२ आइतबार १०:२४:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

३ आन्तरिक विमानस्थललाई एयरबस र बोइङ उड्नसक्ने बनाइँदै

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
२०७८ बैशाख १२ आइतबार १०:२४:००

८१ अर्ब लागतमा पाँच वर्षभित्र देशभरका आन्तरिक विमानस्थल विस्तार गर्ने र नयाँ टर्मिनल भवन बनाउने तयारी

सरकारले तराईका ३ आन्तरिक विमानस्थललाई सानो एयरबस र बोइङ जहाज अवतरण गर्न सक्ने गरी विस्तार गर्ने योजना बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर, नेपालगन्ज र धनगढी विमानस्थललाई विस्तार गरी साना एयरबस र बोइङ उडानयोग्य बनाउन लागेको हो । प्राधिकरणले तत्कालै विराटनगर र नेपालगन्ज विमानस्थलको टर्मिनल भवन निर्माणका लागि प्रक्रियासमेत अगाडि बढाएको छ । आन्तरिक विमानस्थललाई हब विमानस्थलका रूपमा विकास गर्न पाँच वर्षभित्र ८१ अर्बभन्दा बढी खर्च हुने अनुमान नेपाल नागरिक उड्डयन प्राधिकरणको छ ।   

प्राधिकरणका अनुसार तराईका विमानस्थलहरूको धावनमार्ग ठूलो जहाजको भार थेग्न सक्ने कम्तीमा १२ सेन्टिमिटर मोटाइको हुनेछ । त्यस्तै, सबै विमानस्थल सुविधासम्पन्न र रात्रिकालीन उडान गर्न योग्य बनाइनेछ । तराई क्षेत्रमा एयरलाइन्सहरूले प्रादेशिक उडान सुरु गरेकाले अब हब विमानस्थलका रूपमा विस्तार गर्नुको विकल्प नभएको अधिकारी बताउँछन् । पहाड र हिमाली भेगका विमानस्थलको धावनमार्ग पनि विस्तार गर्ने योजना प्राधिकरणको छ । सम्भव हुने हिमाली र पहाडी विमानस्थलमा कम्तीमा ४२ सिट क्षमताको एटिआर लैजान मिल्ने गरी विस्तार गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणको राष्ट्रिय गौरवको आयोजना निर्देशनालयका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।  

५४ विमानस्थलमध्ये ३२ सञ्चालनमा
देशभर रहेका ५४ विमानस्थलमध्ये ३२ वटा सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका अधिकांश विमानस्थलका टर्मिनल भवन पनि पुराना छन् । प्राधिकरणले ५ वर्षभित्र सम्भव भएसम्म सबै विमानस्थलका पुराना टर्मिनल भवन विस्थापित गर्ने तयारी गरेको छ । राजविराज विमानस्थमा पाँच वर्षमा ४ अर्ब ५० करोड खर्च गरिँदै छ । विमानस्थल विस्तारका लागि मुआब्जामा मात्रै १ अर्ब ७० करोड खर्च हुने भएको छ । सो विमानस्थलको धावनमार्ग १७ सय मिटरको हुनेछ । जनकपुर विमानस्थलमा १ अर्ब रुपैयाँ खर्च हुनेछ । भरतपुर विमानस्थलमा एटिआर ७२ जहाज उडान–अवतरण गर्न मिल्ने गरी विस्तार गर्न ४ अर्ब ५० करोड खर्च हुने अनुमान छ । 

धनगढी विमानस्थलमा १२ अर्ब ४० करोड खर्चेर २५ सय ५० मिटर लामो धावनमार्ग बनाइने योजना छ । उक्त विमानस्थलमा एयरबस ३२० जहाज उडान–अवतरण गर्न सकिनेछ । चन्द्रगढी विमानस्थलमा पनि पाँच वर्षभित्र ७ अर्ब ५६ करोड खर्च गरेर हब विमानस्थल बनाइने लक्ष्य राखिएको छ । नेपालगन्ज विमानस्थललाई १२ अर्ब लगानीमा हब विमानस्थलका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ । विराटनगर विमानस्थललाई पनि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ । जसका लागि ८ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसको मास्टर प्लान पनि तयार पारिएको प्राधिकरणले जनाएको छ । ३ हजार मिटरको धावनमार्ग बनाइने योजनामा ४७ अर्ब खर्च हुने अनुमान छ ।  

चार अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ खर्ब  

प्राधिकरणले पाँच वर्षभित्र चारवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा २ खर्ब ५० अर्ब तथा मुआब्जामा ५ अर्ब रुपैयाँ खर्चने भएको छ । पछिल्लो साढे दुई वर्षमा प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मुआब्जामा मात्रै ३३ अर्ब खर्च गरिसकेको छ । विमानस्थल निर्माणमा ४९ अर्ब रुपैयाँ खर्च गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा उक्त रकम खर्च गरिएको हो । आगामी पाँच वर्षभित्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि कुनै प्रक्रिया अगाडि बढाइएको छैन । प्राधिकरणले निजगढमा पहिलो चरणको काम सम्पन्न गर्न १ खर्ब २० अर्ब खर्च हुने अनुमान गरेको छ ।  

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्राधिकरणले २३ अर्ब मुआब्जामा खर्च गरिसकेको छ । विमानस्थल निर्माणमा ६ अर्ब २२ करोड रुपैयाँ खर्च हुँदै छ । सन् २०१९ को डिसेम्बरमा सञ्चालनमा ल्याउने भनिए तापनि हालसम्म विमानस्थल सम्पन्न हुन सकेको छैन । २०२१ को अन्तिमसम्म विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइने निर्देशक अधिकारी बताउँछन् ।  

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पनि २२ अर्ब खर्च हुँदै छ । यता मुआब्जामा २ अर्ब ३० करोड रुपैयाँ खर्च भइसकेको छ । जसमा ५४ प्रतिशत काम सम्पन्न भइसकेको छ । सन् २०२२ मा सञ्चालन गर्ने लक्ष्य राखिएको विमानस्थलको कार्यप्रगति सन्तोषजनक रहेको निर्देशक अधिकारी बताउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारमा पनि १० अर्ब रुपैयाँ खर्च हुँदै छ । जसमा धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत क्षेत्रको पनि विस्तार र नयाँ संरचना तयार हुनेछ ।

भैरहवा र टिआइएमा अत्याधुनिक टर्मिनल भवन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार र भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप संरचना निर्माणमा अर्बौँ रुपैयाँ खर्च हुँदै छ । भैरहवामा दोस्रो टर्मिनल भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ  । त्रिभुवन विमानस्थल विस्तारको काम अगाडि बढाउने तयारी छ । एसियाली विकास बैंक (एडिबी) सँग ऋण लिएर त्रिभुवन विमानस्थल विस्तारको प्रक्रिया अगाडि बढाउन लागिएको हो । सन् २०१४ मा नै यसको ६० अर्ब लागत अनुमान गरिएको थियो । अहिले उक्त विस्तार आयोजनाको लागत १ खर्ब पुग्ने अनुमान गरिएको छ । यता गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १८ अर्ब खर्च गरेर दोस्रो टर्मिनल भवन निर्माणको तयारी थालिएको छ । जसको डिजाइनको तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले सार्वजनिक गरेका थिए । भैरहवा र त्रिभुवन दुवै विमानस्थलमा एडिबी ऋण दिन तयार रहेकाले आयोजना निर्माण प्रक्रिया अगाडि बढाइएको छ । 

एडिबीले यसअघि २३ अर्ब ऋण दिने सहमति गरिसकेको छ, जसमा झन्डै ६ अर्ब प्राधिकरणको वृत्ति विकास तथा प्राधिकरण छुट्याउन प्रयोग हुनेछ । यता १७ अर्ब २५ करोडमध्ये ८ अर्ब भैरहवामा थप संरचना निर्माण गर्न र बाँकी करिब १० अर्ब त्रिभुवन विमानस्थल विस्तार आयोजनाअन्तर्गत एप्रोन, समानान्तर ट्याक्सी वे र पार्किङ निर्माणमा खर्च हुनेछ । 

विमानस्थलको क्षमता विस्तारका लागि नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने मुख्य आयोजना हो । ३० अर्बभन्दा धेरै लगानी गर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाअन्तर्गत १० हजार वर्गमिटरको टर्मिनल भवन बन्‍नेछ । अहिलेको टर्मिनलको प्राथमिक क्षमता प्रतिघन्टा ६ सय यात्रु रहेको छ । हाल वार्षिक ४० लाख यात्रुलाई यसले सेवा दिइरहेको छ । पछिल्लो समयमा अहिलेकै टर्मिनलमा भएको लगानीबाट क्षमता करिब वार्षिक ८० लाख पुगेको छ ।