मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गत २५ मेमा जर्ज फ्लोयडलाई घाँटी थिच्दै प्रहरी अधिकृत चोभिन (बाँया), अदालतको फैसलापछि चोभिनलाई प्रहरीले नियन्त्रणमा लिँदै (दायाँ)
एजेन्सी मिनियापोलिस
२०७८ बैशाख ९ बिहीबार १०:४६:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

फ्लोयडको हत्यामा पूर्वप्रहरी चोभिन दोषी ठहर

Read Time : > 1 मिनेट
एजेन्सी मिनियापोलिस
२०७८ बैशाख ९ बिहीबार १०:४६:००

अमेरिकाको मिनियापोलिसका पूर्वप्रहरी अधिकृत डेरेक चोभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोयडको हत्यामा अदालतले दोषी ठहर गरेको छ । गत वर्ष २५ मेमा डेरेकले अश्वेत नागरिक फ्लोयडलाई पक्राउ गरेपछि भुइँमा लडाएर घुँडाले घाँटी थिचेपछि उनको मृत्यु भएको थियो । मिनियापोलिसको अदालतले फैसला सुनाएलगत्तै अदालतबाहिर भेला भएका फ्लोयडका ठूलो संख्याका समर्थकले खुसी साटासाट गरेका छन् । 

जमानतमा रिहा भएका चोभिनलाई फैसला सुनाउनुअघि हतकडी लगाएर अदालतमा उपस्थित गराइएको थियो । हेन्नेपिन काउन्टीका न्यायाधीश पिटर केहिलले फैसलाको पाठ सुनाउँदै फैसला सर्वसम्मत रहेको बताएका छन् । अदालतको जुरीमा सात महिला र पाँच पुरुष रहेका छन् । अदालतको फैसलामा गम्भीर अपराध गरेको भन्दै चोभिनलाई ४० वर्ष जेल सजाय हुने उल्लेख छ । चोभिनलाई दोषी ठहर्‍याउनुअघि अदालतमा ११ घन्टासम्म बहस भएको थियो । चोभिनमाथि तीन आरोप थियो ।

चोभिन सबै आरोपमा दोषी भेटिएको अदालतको भनाइ छ । चोभिनविरुद्ध पहिलो, दोस्रो डिग्रीको मर्डर र नरसंहार गरेको मुद्दा चलाइएको थियो । फैसला भएसँगै चोभिनको जमानत स्वतः रद्द भयो । फ्लोयडका भाइले अदालतको फैसलापछि आफूहरूले पुनः एकपटक सास लिएको प्रतिक्रिया दिएका छन् । फ्लोयडका भाइ रोडनीले अमेरिकामा कालो वर्णमाथि धेरै ज्यादती भएको प्रतिक्रिया दिएका छन् । ‘विगत सय वर्षदेखि अमेरिकामा कालो वर्णमाथि यस्तै ज्यादती भइरहेको छ,’ उनले भने, ‘हामीले यस्तै जित हात पार्नुपर्छ ।’

अदालत परिसरमा फ्लोयडका समर्थक

मिनियापोलिस प्रहरीमा १९ वर्ष बिताएका चोभिनले फ्लोयडलाई नौ मिनेट २९ सेकेन्ड घाँटीमा घुँडाले थिचेको भिडियो सार्वजनिक भएको थियो । जसमा फ्लोयडले पटक–पटक ‘म सास फेर्न सकिरहेको छैन’ भन्ने सुनिएको थियो । त्यसपछि प्रहरीले फ्लोयडलाई कारमा बस्न भनेका थिए । भुइँमा लडेका फ्लोयडले केही पनि प्रतिक्रिया दिएनन् । तत्कालै प्रहरीले फ्लोयडलाई अस्पताल पुर्‍याएको थियो । फ्लोयडको निधन अस्पताल पुग्नुअघि नै भएको चिकित्सकले जानकारी दिए । 

फ्लोयडमाथि एउटा पसलमा २० डलरको नक्कली नोट दिएको आरोप छ । सो घटनालाई जातीय विभेद र प्रहरीको क्रूरताको रूपमा व्याख्या गर्दै अमेरिका र विश्वका अन्य कतिपय मुलुकमा विरोध प्रदर्शन भएका थिए । फैसला आउनुअघि अमेरिकी सहरमा हिंसा भड्किने खतरा भन्दै सुरक्षा सतर्कता व्यापक बनाइएको थियो । अदालतमा उपस्थित हुँदा चोभिनले मास्क लगाएका थिए । बहस चलिरहँदा उनले केही पनि प्रतिक्रिया नदिएको एजेन्सीहरूले जनाएका छन् । दोस्रो डिग्रीको हत्या गरेका चार्जमा चोभिनले ४० वर्षको जेल सजाय पाउन सक्ने न्यायाधीश काहिलले बताएका छन् । 

मुद्दाका क्रममा ३८ जना प्रत्यक्षदर्शीसँग सोधपुछ भएको छ । यसैबीच, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रिय टेलिभिजनमार्फत कालो वर्णहरूका लागि ऐतिहासिक दिन भएको प्रतिक्रिया दिएकी छन् । ‘लगभग एक वर्षदेखि हामी एउटा फैसलाको प्रतीक्षामा थियौँ, मेरो विचारमा अदालतको यो फैसला अमेरिकाकै जित हो,’ उपराष्ट्रपति ह्यारिसले भनिन्, ‘इतिहासले पनि यो फैसला एकपटक फर्केर हेर्नेछ ।’ फ्लोयडका वकिल बेन क्रुम्पले फैसला इतिहासमै एउटा कोसेढुंगा हुन सक्ने बताएका छन् । 

‘यो फैसला इतिहासको महत्वपूर्ण मोड हो, कानुन प्रवर्तनको उत्तरदायित्वको आवश्यकतामा स्पष्ट सन्देश दिएको छ,’ वकिल बेनले भने, ‘यो सबै अमेरिकीका लागि न्याय हो ।’ अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले न्यायाधीशहरूले न्यायकै पक्षमा फैसला गरेको बताएका छन् । ‘न्यायाधीशहरूको जुरीले सही फैसला गरेको छ, हामी यस्तै सत्यताले भरिएको न्यायको प्रतीक्षामा थियौँ,’ ओबामाले भने ।