मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ८ बुधबार १०:४१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

‘मिक्स भ्याक्सिन’ प्रयोग गर्न मिल्छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ८ बुधबार १०:४१:००

कोरोना भाइरस पुनः तीव्र रूपमा फैलिन थालेपछि संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । नयाँ भेरियन्ट फैलिएसँगै अस्पतालहरूमा बिरामीको संख्या बढ्न थालेको हो । कोभिड–१९ र म्युटेन्ट भएका नयाँ भेरियन्टहरूमा निकै फरकसमेत देखिएकाले अघिल्लो वर्षभन्दा यो वर्ष महामारी जोखिम अझै बढ्ने विज्ञहरूले अनुमान गरेका छन् । नयाँ भेरियन्टले बालबालिका बढी संक्रमण भइरहेकाले अघिल्लो वर्षभन्दा यो वर्ष जोखिम बढ्ने उनीहरूले अनुमान गरेका हुन् । सोहीकारण स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्न सरकारले अपिल गरेको छ । 

योसँगै कोभिड– १९ विरुद्ध प्रयोगमा आइरहेका भ्याक्सिन नयाँ भाइरसविरुद्ध प्रभावकारी हुने÷नहुने विषयमाथि पनि बहस भइरहेको छ । हालसम्मका अध्ययनअनुसार, कोभिड– १९ विरुद्ध उत्पादन गरिएको भ्याक्सिनहरूले अन्य केही म्युटेन्ट भाइरसविरुद्ध पनि सक्रिय हुने देखाएका छन्, तर सबै भाइरसका लागि प्रभावकारी नहुन सक्छन् । भ्याक्सिन लगाएका व्यक्तिमा कोभिडलगायत भाइरस संक्रमण भइहाले पनि गम्भीर समस्या नहुने अध्ययनहरूले देखाएका छन् । यसकारण खोपको आवश्यकता र माग बढ्न थालेको छ । 

भ्याक्सिनको माग बढेसँगै विभिन्न देशले फरक–फरक कम्पनीले उत्पादन गरेका भ्याक्सिन भिœयाइरहेका छन् । भ्याक्सिन दुई डोज लगाउनुपर्ने भएकाले फरक–फरक कम्पनीका भ्याक्सिन लगाउँदा के हुन्छ भन्ने प्रश्न उठेको छ । खासगरी पहिलो डोज लगाएको भ्याक्सिन समयमा उपलब्ध नहुँदा अर्को भ्याक्सिन प्रयोग गर्न मिल्ने÷नमिल्ने विषय अझै ट्रायल (परीक्षणकै क्रममा)मै छ । दुई वा दुईभन्दा बढी भ्याक्सिन मिश्रण गरेर प्रयोग गर्न सम्भव भएमा छोटो समयमा धेरै संख्यामा खोप वितरण गर्न सकिने भन्दै बेलायतमा परीक्षण थालिएको छ । खोपको मिश्रण सम्भव भए भाइरसविरुद्ध दीर्घकालीन र स्थायी प्रतिरोधात्मक क्षमता दिन सकिने अनुमान गरिएको छ । 

बेलायतमा अक्सफोर्ड भ्याक्सिन गु्रपले गरिरहेको अनुसन्धानमा ५० वर्षमाथि उमेर समूहका आठ सयभन्दा बढी व्यक्ति समावेश छन् । यसबाहेक एक हजार ५० जना स्वयंसेवकमा पहिलो डोज लगाइसकेको र अर्को डोज दिने तयारी भइरहेको छ । स्वयंसेवकहरूमा भ्याक्सिनको पहिलो डोज फाइजर वा एस्ट्राजेनेका लगाएका व्यक्तिमा दोस्रो डोज मोडर्ना वा कोभ्याक्स लगाइएको छ । पहिलो चरणको ट्रायलको नतिजा अर्को महिना प्रकाशित गरिने जनाइएको छ । वैज्ञानिकहरूले खोपको मिश्रण सुरक्षित हुने अनुमान गरेका छन् । परीक्षणअन्तर्गत कुनै साइडइफेक्ट वा अनावश्यक प्रतिक्रिया देखिए थप जाँच गरिने बताइएको छ । सहभागीहरूमा रगतको माध्यमबाट शरीरमा एन्टिबडी र टी सेलहरू उत्पादनबारे परीक्षण गरिनेछ । 

वरिष्ठ भाइरोलोजिस्ट डा. शेरबहादुर पुनले तत्कालै मिश्रण भ्याक्सिन नलगाउन आग्रह गरेका छन् । उनले भने, ‘संक्रमण बढिरहेको समयमा एउटा भ्याक्सिन अपुग हुँदा दोस्रो डोज अर्को भ्याक्सिन लगाउन मिल्ने÷नमिल्नेबारे बहस चलिरहे पनि यसबारे कुनै आधिकारिक तथ्य सार्वजनिक भएको छैन । नेपालमा यसबारे कुनै आधिकारिक परीक्षण भएको छैन । साथै अन्य देशले गरिरहेका परीक्षण पनि पूर्ण भइनसकेकाले तत्कालै मिश्रण भ्याक्सिन प्रयोगमा ल्याउन मिल्दैन ।’ 

एजेन्सीको सहयोगमा