मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
२०७८ बैशाख ५ आइतबार ०२:५४:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोना भाइरस पुरानो हो कि नयाँ भेरियन्ट ? देश अझै अन्योलमा, भेरियन्ट छुट्याउने करोड–करोडका ६ मेसिन प्रयोगविहीन

हामीलाई जिम्मा दिए युके, साउथ अफ्रिका, ब्राजिल, भारतीय सबै भेरियन्ट छुट्याएर दिन्छौँ : जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित

Read Time : > 4 मिनेट
२०७८ बैशाख ५ आइतबार ०२:५४:००

अहिले फैलिएको भाइरसको स्वरूप के हो, कति संक्रामक र घातक छ, अन्य देशको भाइरससँग मिल्छ वा मिल्दैन भन्ने जान्न र त्यहीअनुसार रणनीति बनाउन जेनोम सिक्वेन्सिङ गर्नुपर्छ, यसका लागि राजधानीमा ६ मेसिन छन्, तर विभिन्न दाताले दिएका मेसिन थन्क्याएर सरकार आफैँ अन्धकारमा

......

छिमेकी भारतसँगै नेपालमा कोभिड– १९ को संक्रमण तीव्र गतिमा फैलिएको छ । अहिले गत वर्षकै भाइरस फेरि फैलिएको हो कि यो नयाँ ‘भेरियन्ट’ हो भन्नेमा सर्वत्र जिज्ञासा छ । भेरियन्ट पहिचान गर्न सरकार, विश्वविद्यालय तथा गैरसरकारी संस्थासँग ६ मेसिन भए पनि उपयोग गरिएको छैन । 

कोभिड– १९ को नयाँ भेरियन्ट हो कि होइन भनेर निश्चित गर्ने ‘जिनोम सिक्वेन्सिङ’ गर्न नेपालमा तीन मेसिन पहिले नै जडान भएका छन् । विधि विज्ञान प्रयोगशाला नास्टमा एक र सेन्टर फर डायनामिक नेपालसँग यस्ता दुई उपकरण थिए । त्यस्तै जैविक प्रविधि केन्द्रीय विभाग कीर्तिपुर र धुलिखेल अस्पतालमा नयाँ उपकरण आएको छ । त्यति मात्र होइन, विश्व स्वास्थ्य संगठनको अनुदानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि नयाँ ‘सिक्वेन्सिङ’ मेसिन आएको छ । तर आश्चर्य, यत्रो महामारीबीच पनि यी कुनै पनि उपरकण प्रयोग गरिएको छैन । 

त्रिविमा दुई करोडको मेसिन प्रयोगमा छैन : त्रिभुवन विश्वविद्यालय, जैविक प्रविधि केन्द्रीय विभाग कीर्तिपुरमा दाताको दुई करोड सहयोगमा एक महिनाअगाडि नै सिक्वेन्सिङ मेसिन जडान गरिएको छ । तर, जनशक्ति अभाव भन्दै मेसिन प्रयोगविहीन छ । 

पछिल्लो तीन महिनामा तीन मेसिन ल्याइएको छ । तर, स्वदेशमै भएका उपकरण चलाउनुको सट्टा सरकारले नमुना हङकङ पठाउने गरेको छ । एक महिनाअघि पठाइएको नमुनाले नयाँ भेटियन्ट पुष्टि गरेको थियो । त्यसयता १५ नमुना पठाइएको रिपोर्ट अझै आएको छैन ।

‘अहिले फैलिएको भाइरसको वास्तविक स्वरूप के हो, यो कति संक्रामक र घातक छ, अन्य देशको भाइरससँग मिल्छ वा मिल्दैन भन्ने जान्न र त्यहीअनुसार रणनीति बनाउन यी उपकरण अत्यावश्यक हुन्छन्,’ जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित भन्छन्, ‘तर, यसमा न सरकारको आफ्नै अग्रसरता छ, न गैरसरकारी क्षेत्रले गरेको प्रयासलाई हौसला छ ।’

नेपालमा संक्रामक रोगको परीक्षण गर्ने सबैभन्दा ठूलो प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु हो । नयाँ संक्रमण पत्ता लगाउन विश्व स्वास्थ्य संगठनले ६० लाख रुपैयाँको लगानीमा यो प्रयोगशालालाई जिन (आनुवंशिक) सिक्वेन्सिङ मेसिन दिएको हो, तर जनशक्ति नभएकाले उपकरण चलेको छैन । ‘मेसिन त आइपुगेको छ, तर जिन सिक्वेन्सिङ गर्न सक्ने जनशक्ति अहिले छैन, त्यसैले उपकरण सञ्चालन गरिएको छैन,’ प्रयोगशालाकी निर्देशक डा. रुणा झाले नयाँ पत्रिकासँग भनिन् ।

यत्रो अन्तर्राष्ट्रिय आपत्मा पनि नयाँ जनशक्ति खोज्न, काममा लगाउन र सहयोग लिन सरकारले पहल गरेको छैन । ‘उपकरण चलाउने हो भने जनशक्ति भर्ना गर्न सकिन्छ, तर बजारमा पनि धेरै जनशक्ति छैन । तैपनि मान्छे खोजेर उपकरण चलाउने प्रयासमा छौँ,’ उनले भनिन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको उपकरण केही दिनमा सञ्चालनमा आउने दाबी गर्छन् । ‘अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लागि सिक्वेन्सिङ मेसिन आइसकेको छ । जडान गर्न बाँकी छ । केही दिनभित्रै सञ्चालनमा आउनेछ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मेसिन सञ्चालनमा आएपछि नमुना हङकङ पठाउनु नपर्ने उनको भनाइ छ । ‘अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नास्ट र स्वास्थ्य मन्त्रालयको समन्वयमा काम गर्ने भनेर टिम तयार गरिएको छ,’ उनी भन्छन् । 

डब्लुएचओले दिएको ६० लाखको मेसिन टेकुमा थन्कियो : विश्व स्वास्थ्य संगठनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिएको ६० लाखको मेसिन कोठामा थन्क्याइएको छ । जनशक्ति नभएकाले चलाउन नसकिएको प्रयोगशालाको भनाइ ।

जिन सिक्वेन्सिङ गर्न माइक्रोबायोलोजी, भाइरोलोजी, मलिक्युलर बायोलोजी र बायोइन्फम्र्याटिक्सको पूर्ण ज्ञान भएका जनशक्तिको समूह आवश्यक पर्छ । ‘सामान्यतया पाँचजना विज्ञको टिम आवश्यक पर्छ । कहिलेकाहीँ एउटै व्यक्तिमा तीनवटै ज्ञान हुन्छ । त्यस्तोमा कम जनशक्ति भए पनि पुग्छ,’ उनी भन्छन्, ‘सरकारी प्रयोगशालामा यस्तो जनशक्ति नभएकाले सरकारलाई उपकरण सञ्चालन गर्न कठिन छ । तर, महामारीका वेला राज्यले तत्काल दरबन्दी सिर्जना गरी जनशक्ति भर्ना गर्नुपर्छ ।’ 

त्रिभुवन विश्वविद्यालय, जैविक प्रविधि केन्द्रीय विभाग कीर्तिपुरका प्रमुख डा. कृष्णदास मानन्धर उपकरण आए पनि सञ्चालनमा नआएको बताउँछन् । ‘एक महिनाअगाडि हामीले जिन सिक्वेन्सिङ गर्ने मेसिन ल्याएका हौँ । तर, अहिलेसम्म सञ्चालनमा ल्याउन सकिएको छैन,’ डा. मानन्धरले भने, ‘मुख्यतः जनशक्ति नै नभएकाले समस्या भयो । जनशक्ति व्यवस्थापनका लागि पहल गर्न स्वास्थ्य मन्त्रालय र केन्द्रीय प्रयोगशालालाई आग्रह गरेका छौँ ।’ 

त्रिभुवन विश्वविद्यालयलाई त सिक्वेन्सिङ गर्न ‘हाइअर एजुकेसन रिफन्ड प्रोजेक्ट’ले दुई करोड खर्चेर सो उपकरण दिएको हो । सिक्वेन्सिङ गर्न आवश्यक खर्चसमेत सो संस्थाले सहयोग दिने भएको छ । ‘हामीले एकपटकमा २४ नमुना परीक्षण गर्ने सोच बनाएका छौँ । सरकारी प्रयोगशालाले आवश्यक ठानेर पठाएका नमुनाको सिक्वेन्सिङ गर्ने तयारी छ, तर जनशक्ति नभएकाले समस्या छ,’ उनले भने । 

धुलिखेल अस्पतालले आफ्नै स्रोतले ७० लाख खर्च गरेर उपकरण ल्याएको हो, यो उपकरण तीन महिनादेखि चालू अवस्थामा छ । तर, कोरोनाको नयाँ भेरियन्ट खोज्ने काममा यो उपकरण आवश्यक मात्रामा उपयोग गरिएको छैन । ‘हामी कोभिडको जिन सिक्वेन्सिङ गर्न सक्छौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको भेरियन्ट पत्ता लगाउन डेढ महिनाअघि पाँचवटा नमुना पठाएको थियो,’ प्रयोगशालाका चिकित्सक डा. राजीव श्रेष्ठ भन्छन्, ‘बेलायतबाट आएका पाँचमध्ये तीनजनामा युके भेरियन्ट भेटियो भनेर हामीले रिपोर्ट दिएका थियौँ, पछि सरकारले थप पुष्टि गर्न सोही नमुना हङकङसमेत पठाएको थियो । त्यहाँबाट पनि तीनजनामा युके भेरियन्ट देखिएको रिपोर्ट आयो ।’

तर, यति महत्वपूर्ण उपकरण जडान गरेको अस्पतालले तीन महिनामा जम्मा सात नमुनाको मात्र जिन सिक्वेन्सिङ गरेको छ, खासमा उपकरण उपयोग नै गरिएको छैन । ‘यो काम पिसिआर परीक्षण गरेजस्तो होइन, अस्पतालले आफ्नै खर्चले सिक्वेन्सिङको खर्च धान्न सक्दैन,’ डा. श्रेष्ठले भने । 

थप अनुसन्धानका लागि सरकारले कुनै समन्वय नगरेको एक जनस्वास्थ्य वैज्ञानिक बताउँछन् । ‘सरकारले चाह्यो भने त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै उपकरण आएको छ नि, तर उपकरणले आफैँ काम गर्ने होइन, इच्छाशक्ति चाहियो । त्यसैको कमी छ,’ उनी भन्छन् । 

एउटा उपकरणको मूल्य ३० लाखदेखि दुई करोड रुपैयाँ पर्छ  । त्यस्तै, सिक्वेन्सिङ गर्न चाहिने रिएजेन्टलाई २० हजारभन्दा माथि पर्छ । यसरी विज्ञहरूका अनुसार एउटा स्याम्पलको सिक्वेन्सिङ गर्न ६० हजारसम्म पर्छ  । ‘हरेक नमुनाको सिक्वेसिङ गर्न सम्भव हुँदैन, तर संक्रमणको ट्रेन्ड हेर्न नियमित रूपमा गर्नुपर्ने हो, तर स्वदेशमा गर्ने होइन, विदेश पठाउने प्रचलन छ,’ ती वैज्ञानिक भन्छन् । 

हामीलाई जिम्मा दिए युके, साउथ अफ्रिका, ब्राजिल, भारतीय सबै भेरियन्ट छुट्याएर दिन्छौँ : जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित

सेन्टर फर डायनामिक नेपालका प्रमुख तथा जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित भने आफूहरूसँग जिन सिक्वेन्सिङ गर्ने दुई मेसिन सञ्चालनमा रहेको बताउँछन् । ‘हामीसँग सानो र ठूलो गरी दुई मेसिन छन्, तर राज्यले अनुभूति गर्न चाहेको छैन । कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाउन हामीलाई अनुमति दिए एक साताभित्र नतिजा दिन्छौँ,’ उनी भन्छन् । 

‘अहिले फैलिएको भाइरसको वास्तविक स्वरूप के हो, यो कति संक्रामक र घातक छ, अन्य देशको भाइरससँग मिल्छ वा मिल्दैन भन्ने जान्न र त्यहीअनुसार रणनीति बनाउन यी उपकरण अत्यावश्यक हुन्छन्,’ डा. दीक्षित भन्छन्, ‘तर, यसमा न सरकारको आफ्नै अग्रसरता छ, न गैरसरकारी क्षेत्रले गरेको प्रयासलाई हौसला छ ।’

हाल विश्वमा देखिएको युके भेरियन्ट, साउथ अफ्रिकन भेरियन्ट, ब्राजिलियन भेरियन्ट र भारतीय डबल म्युटेन्ट भेरियन्ट नेपालमै पत्ता लगाउन सकिने उनले बताए । ‘सरकारले हाल युके भेरियन्टसमेत पत्ता लगाउन सकेको छैन । कोरोना जाँच गर्दा ‘एस जिन’ नभेटिएका आधारमा युके भेरियन्ट होला भन्ने अनुमान हुने गरकोे छ । तर, वैज्ञानिक अनुसन्धान गरिएको छैन, गर्न खोज्नेलाई प्रोत्साहन छैन,’ डा. दीक्षित भन्छन् । 

यसकारण सिक्वेन्सिङ नेपालमा भएन : डा. कृष्ण पौडेल, निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा 

हामीसँग भएका सिक्वेन्सिङ मेसिन नयाँ हुन्, भर्खरै आएका हुन् । अहिले नेपालका प्रयोगशालामा परीक्षण गरे पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मान्यता हुँदैन । नेपालमा परीक्षण गरे पनि त्यसलाई पुष्टि गर्न नमुना हङकङ पठाउनुपर्ने भएकाले दोहोरो झन्झटमा नपर्न नमुना सीधै हङकङ पठाउने गरिएको हो । तैपनि अहिले पनि १५ वटा नमुना पठाएका छौँ । तर, अब नेपालमा सुरुवात गर्न हामी प्रयासरत छौँ ।

धुलिखेलमा यसअघि सातवटा नमुनाको सिक्वेन्सिङ भएको थियो, तीन नमुनामा युके भेटियन्ट भेटिएको थियो । थप नमुना धुलिखेल पठाए सिक्वेन्सिङ गरेबापत उसलाई पैसा दिनुपर्छ । रकममा कुरा नमिलेका कारण पनि सहमति जुट्न सकेको छैन । केयूले प्रतिनमुना पाँच सय डलर माग गरेको छ । रकममा कुरा मिलेपछि हामी यहीँ प्रयोग गर्छौैँ । तर, नेपालमा गरे पनि डब्लुएचओले मान्यता नदिँदासम्म आइएचआरमा रिपोर्ट गर्न पुनः नमुना हङकङ पठाउनै पर्छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सिक्वेन्सिङ मेसिन आएकाले त्यसको गुणस्तर मापन गरेर सञ्चालनमा ल्याइने तयारी छ । जैविक प्रविधि केन्द्रीय विभाग कीर्तिपुरमा भएको मेसिनबाट पनि सिक्वेन्सिङ सुरु गर्ने र पुनः प्रमाणीकरणका लागि हङकङ पठाउने विषयमा पनि छलफल जारी छ ।