मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हेमन्त केसी जाजरकोट
२०७७ चैत ३० सोमबार ०९:०४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हिमालय आधारभूत विद्यालयको नियति : वर्षामा पानी परे, हिउँदमा हावाहुरी चले पढाइ बन्द

Read Time : > 1 मिनेट
२०७७ चैत ३० सोमबार ०९:०४:००

नलगाड नगरपालिका–८ मंसिरीमा रहेको हिमालय आधारभूत विद्यालयको संरचना निकै जीर्ण छ । चारैतिर पहाड र बीचमा अग्लो डाँडामा ०३९ मा स्थापना गरिएको विद्यालयमा झ्यालढोका, शौचालय र खानेपानीको सुविधासमेत छैन । विद्यालयमा ६१ जना विद्यार्थी अध्ययनरत छन् । निकै पुरानो र जीर्ण भएकाले गोठमा रूपान्तरण हुँदै गरेको स्थानीय बताउँछन् ।

कार्यालय रहेको कोठामा मूलढोकाबाहेक झ्यालमा पल्ला नहुँदा हावाहुरीले बस्न सक्ने अवस्था नभएको प्रधानाध्यापक मनोज शर्माले बताए । वर्षायाममा वर्षेझरीका कारण चुहिने हुँदा कार्यालयकै सामग्री बचाउन धौधौ पर्ने गरेको पीडा उनी सुनाउँछन् । विद्यालय अनुगमनका लागि अहिलेसम्म एकपटक मात्र शिक्षाका कर्मचारी पुगेका छन् । निम्न आर्थिक अवस्था भएका परिवार मात्र गाउँमा बस्ने हुँदा विद्यालयको मुहार बदल्न सक्ने अवस्था नरहेको स्थानीय भविलाल बुढा बताउँछन् ।

विद्यालयको भवन जीर्ण बन्दै
वर्षायाममा पानी पर्नेबित्तिकै विद्यालय बन्द गर्नुपर्ने अवस्था र हिउँदयाममा हावाहुरीका कारण पठन–पाठनमा चुनौती थपिँदै गएको छ । विद्यालयमा तीनकोठे एक जीर्ण कच्ची भवन र अर्को दुई कोठा दिवा खाजा पकाउने कच्ची भवन छ । तर, ती भवन पनि कतिवेला भत्किन्छ ठेगान नभएको प्रधानाध्यापक शर्माको भनाइ छ ।

राज्यको उपस्थिति नै कमजोर रहेको मंसिरी गाउँमा सरकारी गतिविधि निकै कम हुने गरेका छन् । विद्यालयमा के–कति बजेट आउँछ, सार्वजनिक लेखापरीक्षण हुन्छ कि हुँदैन, त्योसम्म स्थानीयलाई थाहा हुन्न । प्रधानाध्यापकसहित तीनजना शिक्षक, एकजना बालविकास शिक्षिका र एकजना कार्यालय सहयोगी विद्यालयमा कार्यरत छन् । विद्यालय सञ्चालन गर्न आधारभूत विषयसमेत नहुँदा आफू हैरान भएको प्रधानाध्यापक शर्माले गुनासो गरे । उनका अनुसार खानेपानी घरबाटै बोकेर ल्याउनुपर्ने अवस्था छ । दिसा–पिसाबका लागि शौचालय नहुँदा जंगलमा जानुपर्ने बाध्यता छ । 

नगरपालिकाले सहयोग नगरेको गुनासो
नलगाड नगरपालिकाले विद्यालयलाई सहयोग गर्ने बजेट नभएको भन्दै पन्छाउने काम गरिरहेको शर्माले बताए । नगरप्रमुख टेकबहादुर रावलले भने विद्यालयको समस्याबारे अघिल्लो वर्ष मात्र जानकारी आएकाले यो आर्थिक वर्षमा जस्तापाता फेर्न ६० हजार र शौचालय निर्माणका लागि ४० हजार रुपैयाँ छुट्याएको जानकारी दिए । ‘नजिकै अर्को विद्यालय भए मर्ज गर्ने भन्ने थियो, तर कतै देखिएन । विद्यार्थी संख्या कम छ,’ उनले भने ।

विद्यालयमा शिक्षकको तलबभत्ता र अडिट खर्चबाहेक अन्य खर्च कहिले पनि नआएको शर्माले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सर्जन पुनले भने आफूहरूको पहुँच नहुँदा विद्यालयको यो हबिगत भएको गुनासो गरे ।