प्रधानमन्त्री ओली भन्छन्– कोभिड– १९ संक्रमणको जोखिम बढ्यो, सावधानी अपनाऔँ (भिडियोसहित)

बिहिबार, २६ चैत, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले कोभिड– १९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिक साधारणसभालाई बिहीबार सम्बोधन गर्दै ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकाले सचेत बन्न आग्रह गरेका हुन् । 

उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरू अपनाउनुपर्ने बताए । भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुनेलगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनको भनाइ छ । 

उनले भने, ‘कोभिड– १९ को सन्दर्भमा म भन्न चाहन्छु, हाम्रो जनजीवनलाई ठप्प पनि नगरौँ, तर बाध्य भएरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ, यदि हामी सावधान भएनौँ भने । हामी सावधान हुनुपर्छ अहिलेदेखि, दूरी कायम गर्ने, मास्क लगाउने । किञ्चित हामी कोभिड– १९ लाई अवसर नदिऔँ । मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔँ ।’

ओलीले तातोपानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए । कोभिड– १९ विरुद्धको खोपले पनि शतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नुभन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरूलाई आग्रह गरे । उत्पादन बढाई निर्यात बढाउन सके व्यापार सन्तुलन कायम हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने ओलीको भनाइ छ ।

सुझावित समाचार