मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ चैत २२ आइतबार १०:२५:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

बंगलादेशमा  एक साता लकडाउन

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ चैत २२ आइतबार १०:२५:००

कारोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेसँगै बंगलादेशले सोमबारबाट लागू हुने गरी देशभर एक साता लकडाउन घोषणा गरेको छ । सडक, यातायात र पुलमन्त्री ओबइदुल क्वाइदरले शनिबार भिडियोमार्फत लकडाउनसम्बन्धी सरकारको निर्णय सार्वजनिक गरेका हुन् ।

लकडाउनको समयमा उद्योग र कलकारखानाहरू भने सञ्चालन हुनेछन् । यद्यपि, कामदारले विभिन्न चरणमा सुरक्षासम्बन्धी सावधानी अपनाएर काम गर्नुपर्नेछ । यसअघि २६ मार्च २०२० मा बंगलादेशमा कोरोना भाइरस संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भएसँगै लकडाउन घोषणा गरिएको थियो ।

त्यसको वर्षदिनपछि फेरि लकडाउन घोषणा गरिएको छ । लकडाउनको समयमा आपत्कालीन सेवा क्षेत्र भने खुला नै रहनेछन् । यसअघि, बंगलादेशको राष्ट्रिय प्राविधिक सल्लाहकार समितिले धेरै संक्रमण देखिएका स्थानमा मात्रै लकडाउन गर्न सिफारिस गरेको थियो । सरकारले भने देशैभरि लकडाउन घोषणा गरेको हो । बंगलादेशको स्वास्थ्य निर्देशनालयका अनुसार सरकारले राजधानी ढाका, नारायणगन्ज र चटग्रामलाई उच्च जोखिम क्षेत्रको रूपमा वर्गीकरण गरेको छ । रंगमती, राजशाही, राजबारी र नरसिंदी जिल्लालाई मध्यम जोखिम क्षेत्रमा राखेको छ भने अरू २७ जिल्लालाई न्यून जोखिम क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ ।

उक्त समितिले कोरोना भाइरस संक्रमितको उपचार गर्न सरकारलाई अस्पतालहरूमा साधारण वार्ड र आइसियूमा शड्ढया थप गर्न पनि सुझाब दिएको छ । बंगलादेशमा शुक्रबार मात्रै ६ हजार आठ सय ३० जना संक्रमित फेला परेका थिए । यससँगै बंगलादेशमा ६ लाख २४ हजार पाँच सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा यहाँ ५० जनाको मृत्यु भएको छ । सरकारले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अहिलेसम्म नौ हजार एक सय ५५ जनाको मृत्यु भएको छ । 

लकडाउन घोषणासँगै ढाका छाड्नेहरूको लर्काे
सरकारले लकडाउन घोषणा गरेसँगै राजधानीबाहिरका सर्वसाधारण घर फर्कन थालेका छन् । सरकारले लकडाउन एक साताका लागि मात्रै भने पनि यो समयावधि अझ बढ्न सक्ने आशंकामा सर्वसाधारण घर फर्कन थालेका हुन् । 

मोहाखाली बस सञ्चालक संघका अध्यक्ष अबुल कलामले सरकारले लकडाउन घोषणा गरेलगत्तै शनिबार टिकट काट्नेहरूको संख्या वृद्धि भएको बताए । उनीहरूमध्ये धेरैले आइतबारका लागि टिकट काटेका छन् । ‘हामीले प्यासेन्जरको आवागमन वृद्धि भएको अनुभव गरेका छौँ । सम्भवतः आइतबार यो क्रम अझ बढ्ने अपेक्षा गरेका छौँ,’ उनले भने । 

हानिफ परिबहनका जनरल म्यानेजर मोसरेफ हुसेनले यातायात व्यवसायीहरूलाई यात्रुको आवागमन थेग्न मुस्किल परेको जनाए । ‘सरकारले कोरोना महामारीका कारण बसको आधा सिट खाली राख्नु भनेको छ,’ उनी भन्छन्, ‘तर, यात्रुको आवागमन बढ्न थालेपछि दबाब हामीमाथि थपिएको छ ।’