Skip This
स्वेज नहरको ट्राफिक जामको चर्चा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
सल्भाटोर आर. मेर्कोग्लिआनो
२o८१ बैशाख २६ बुधबार १o:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

स्वेज नहरको ट्राफिक जामको चर्चा

Read Time : > 2 मिनेट
सल्भाटोर आर. मेर्कोग्लिआनो
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:o६:oo

स्वेज नहरबाट बर्सेनि विश्वको १२ प्रतिशत व्यापारिक सामान ढुवानी हुने गर्छ 

बुधबार स्वेज नहर विश्वभरका समाचारमा छायो । ५९ मिटर चौडा ‘इभर गिभन’ नामक कन्टेनर जहाज नहरको पूर्वी किनारमा ठक्कर खाँदा बर्सेनि विश्वको १२ प्रतिशत व्यापारिक मालसमान ढुवानी हुने मार्ग बन्द भयो । प्रतिघन्टा १५ माइलको गतिमा रहेको १३ सय फुट लम्बाइ र दुई लाख टनको अल्ट्रालार्ज इभरग्रिनले नहर बन्द गर्दा विश्व नै तरंगित भयो । अन्यथा समुद्री ढुवानी आममानिसको चासोमा नपर्ने भएकाले सामान्यतया यिनको समाचार राष्ट्रिय समाचारमा पनि आउँदैनथ्यो । धेरै चर्चामा नरहे पनि विश्व–व्यापारमा समुद्री ढुवानीको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । 

स्वेज नहरको पछिल्लो घटनाले विश्वव्यापी समुद्री व्यापारको कठोर प्रकृतिबारे स्मरण गराउँछ । साथै समुद्री चेक प्वोइन्टमाथिको खतराबारे पनि मानिसलाई सचेत गराएको हुनुपर्ने देखाएको छ । स्वेज नहर अवरुद्ध हुँदा ठूलो असर पर्‍यो । प्रतिदिन ३३ लाख टन कार्गो यो नहर भएर आवतजावत गथ्र्यो । इभर ग्रिन कन्टेनर जहाजले नहरको आवागमन रोकेपछि ढुवानी कम्पनीले आफ्ना जहाजलाई अफ्रिका महादेश घुमाउन थाले । स्वेज नहरमा एक दिनमा तय हुने दूरी पार गर्न अफ्रिका वरिपरिबाट दुई हप्तासम्म लाग्छ । अवरोधले एसिया र युरोपबीचको मालसामान, इन्धन र अत्यावश्यक समग्रीको ढुवानीमा पनि ढिलाइ हुन थाल्यो । 

बुधबार स्वेज नहर विश्वभरका समाचारमा छायो, अन्यथा समुद्री ढुवानी आममानिसको चासोमा नपर्ने भएकाले सामान्यतया यिनको समाचार राष्ट्रिय समाचारमा पनि आउँदैनथ्यो । धेरै चर्चामा नरहे पनि विश्व व्यापारमा समुद्री ढुवानीको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । 

एसियाका पार्टपुर्जामा निर्भर युरोपेली उद्योग बन्द गर्नुपर्ने अवस्था छ । इन्धनको मूल्य बढ्ने चर्चा चल्यो । यान्त्रिक गडबडी वा मानवीय कमजोरी वा तीव्र बतास वा अन्य जुनसुकै कारणले इभर ग्रिन स्वेज नहरमा अड्किएको भए पनि यसको प्रभाव स्वेज नहरबाट हजारौँ माइल टाढासम्म महसुस भयो । स्वेज नहर सन् १८६९ नोभेम्बरमा खुला भएको थियो । फ्रान्स र ब्रिटेनको संयुक्त प्रयासमा दश वर्षमा बनेको यो नहर सुचारु हुँदा ठूलो प्रचार भएको थियो । यस नहरले एसिया र युरोप आवागमनका लागि अफ्रिका महादेश घुम्नुपर्ने बाध्यता अन्त्य गरिदियो । पहिलो विश्वयुद्धमा टर्कीले पूर्वबाट र दोस्रो विश्वयुद्धमा जर्मनीले पश्चिमबाट यस नहरमाथि आक्रमण गरेका थिए । 

सन् १९५६ मा युद्धमार्फत इजिप्टका राष्ट्रपति गमाल अब्देल नासेरले नहरलाई राष्ट्रियकरण गरे । लगत्तै इजिप्टको इजरायल, फ्रान्स र बेलायतसँग स्वेज विवाद उत्पन्न भयो । परिणामस्वरूप मार्च १९५७ सम्म नहर बन्द हुन पुग्यो । जुन १९६७ मा सम्पन्न ६ दिने युद्धले स्वेज नहरलाई युद्धरत इजिप्ट र इजरायलबीच सीमा बन्ने स्थिति सिर्जना गरिदियो । यो स्थिति आठ वर्षसम्म कायम रह्यो । यस अवरोधले समुद्री पारवहनमा भीमकाय ‘सुपरट्याकं’को निर्माणको क्रान्ति निम्त्यायो । 

सन् १९५६ मा अमेरिकी नागरिक माल्कोम म्यालिनले समुद्री ढुवानीमा ‘इन्टरमोडलिजम’को अवधारणा विकास गरे । त्यसवेलासम्म मालसामानलाई ट्रकमा हालेर बन्दरगाहमा झार्ने र जहाजमा हाल्ने गरिन्थ्यो । खसाउने समयमा उही प्रक्रिया उल्टोबाट दोहोर्‍याइन्थ्यो । माल्कोमले विकास गरेको मोडुलर सिपिङ कन्टेनरमा मालसामान राखिएको कन्टेनर नै स्थानान्तरण गर्न सकिन्थ्यो । उनको परिकल्पनाअनुसार ‘एसएस आइयल एक्स’ जहाजले न्युजर्सीको न्युवार्कबाट टेक्ससको हुस्टन ५८ कन्टेनर लिएर पहिलो ढुवानी गरेको थियो । तर, माल्कोमले पनि इभर ग्रिनजत्रो भीमकाय विशाल जहाजको परिकल्पना गरेका थिएनन् होला । 

सन् २०२० मा महासागरमा ११ अर्ब टनको वार्षिक ढुवानी भयो । यसमध्ये ४० प्रतिशत हिस्सा कन्टेनरमा भए । सन् २००८ को आर्थिक मन्दी र सन् २०२० को कोभिड–१९ को संकटका वर्षमा बाहेक कन्टेनरमार्फत मालसमानको ढुवानीमा निरन्तर वृद्धि भएको छ । अहिले विश्वमा सबैभन्दा महत्वपूर्ण व्यापारिक मार्ग पूर्वीएसिया र युरोपबीचको समुद्री मार्गलाई मानिन्छ । एसिया र युरोपबीच सन् २०२० मा २.३ करोड कन्टेनर ढुवानी भयो । यो कन्टेनरमध्ये अधिकांश इतिहास सबैभन्दा विवादित बिन्दुबाट आवतजावत गरे । 

स्ट्रेट अफ सिंगापुर, मलाका स्ट्रेट, बब–अल–मान्डब, स्ट्रेट अफ जिब्राल्टर र स्वेज नहरजस्ता सबै चेक प्वोइन्ट विगतमा संयुक्त अधिराज्यको नियन्त्रणमा थिए । यी समुद्री मार्गको नियन्त्रणमार्फत औपनिवेशिक उचाइमा रहेको ब्रिटेनले समुद्री व्यापारमाथि नियन्त्रण राख्थ्यो । आज माथिका अधिकांश समुद्री मार्गमा अन्तर्राष्ट्रिय सम्झौताअन्तर्गतका कानुन लागू हुन्छ । तर, स्वेज नहर भने पूर्णतः इजिप्टको सञ्चालन र नियन्त्रणमा छ । 

(मेर्कोग्लिआनो क्याम्पबेल युनिभर्सिटीका इतिहासका प्राध्यापक हुन्)
सिएनएनबाट

ad
ad