मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
हिरण्यलाल श्रेष्ठ
२०७७ चैत ९ सोमबार ०८:४३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बहुआयामिक नेपाल–बंगलादेश सम्बन्ध

Read Time : > 2 मिनेट
हिरण्यलाल श्रेष्ठ
२०७७ चैत ९ सोमबार ०८:४३:००

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । दुईदिने यस भ्रमणमा द्विपक्षीय सम्बन्धबारे कुरा हुने मात्र होइन, बंगलादेशको स्वतन्त्रताको ५०औँ स्वर्णजयन्ती र बंगलाबन्धु–सेख मुजिबुर रहमानको शतवार्षिकी समारोहमा समेत सहभागी हुनुहुनेछ । सीमा जोडिएका भारत र चीनपछि नेपालको तेस्रो नजिकको छिमेकी मुलुक बंगलादेश हो ।

नेपाल र बंगलादेशबीच प्राचीनकालदेखि नै सामाजिक–सांस्कृतिक सम्बन्ध थियो । आधुनिक कालमा व्यापार पारवहन, लगानी, पर्यटनको सम्बन्ध छ । पछिल्लो सम्बन्धका रूपमा बंगलादेश नेपालको विद्युत्काे भरपर्दाे बजार हुँदै छ । जलविद्युत् क्षेत्रमा लगानी गर्नसमेत बंगलादेश तत्पर भएको छ । राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणबाट दुई देशबीचको बहुआयामिक सम्बन्ध अरू उचाइमा उठ्ने विश्वास छ । 

ब्रिटिस साम्राज्यवादी शासनबाट स्वतन्त्रतापश्चात् सन् १९४७ मा इस्लाम धर्मका आधारमा भारतसित र पाकिस्तानसँग भाषाका आधारमा पूर्वी पाकिस्तानका रूपमा छुट्टिएको बंगलादेशले सेख मुजिबुर रहमानको नेतृत्वमा मुक्ति बाहिनीहरूले लडेर सन् १९७१ देखि बंगाली मातृभाषा पहिचानसहित स्वतन्त्रता प्राप्त गरेको थियो । पुरानो सभ्यता बोकेको नयाँ राष्ट्रको रूपमा अभ्युदय भएको बंगलादेशलाई नेपाल सरकारले १६ जनवरी १९७२ मा एक राजनीतिक वास्तविकताको रूपमा मान्यता दिएको थियो । नेपालले ढाकामा १९७२ मा राजदूतावास स्थापना गर्‍यो, बंगलादेशले पनि काठमाडौंमा आफ्नो दूतावास स्थापना गर्‍यो । 

सम्बन्धको विकास : सन् १९७६ मा नेपाल र बंगलादेशबीच व्यापार र भुक्तानी सम्झौता, पारवहन सम्झौता, हवाई सम्झौता र प्राविधिक सहयोग सम्झौताहरू भए । अल्पावधिमा नै दुई देशबीच आर्थिक र व्यापारिक क्षेत्रमा सम्बन्ध दु्रततर गतिमा विकास हुन थाल्यो । १९७८ मा नेपाल–बंगलादेशबीच संयुक्त आर्थिक आयोगको स्थापना भयो । 

म प्रतिनिधिसभाको परराष्ट्र तथा मानवअधिकार समितिको सभापति हुँदा मेरो नेतृत्वमा ८–१३ मार्च, १९९८ मा १० सदस्यीय सर्वदलीय सांसदहरूको प्रतिनिधिमण्डलले काँकडभिट्टा, सिलगुडी, फुलबारी, बंगलाबन्ध हुँदै मोगंला बन्दरगाहसम्म स्थलगत अध्ययन भ्रमण गरेको सम्झन्छु ।

बंगलादेशले भूपरिवेष्ठित नेपाललाई द्विदेशीय व्यापारका लागि मात्र होइन, समुद्रपारका मुलुकहरूसँग व्यापार गर्न पनि पारवहन सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । दुई देशका राष्ट्रप्रमुख, प्रधानमन्त्री, सांसद, व्यापारी तथा उद्योगपतिहरूको एक–अर्काे देशको भ्रमणका क्रमबाट नेपाल र बंगलादेशबीचको बहुआयामिक सम्बन्ध सुदृढ हुँदै आएको छ । 

नेपाल र बंगलादेशबीचको सम्बन्ध असल छिमेकी सम्बन्धको सिद्धान्त र पारस्परिक लाभमा आधारित छ । नेपाल बंगलादेशको रेलवे, सडक सञ्जाल र बन्दरगाहसँग जोडिन चाहन्छ, बंगलादेश नेपालको जलविद्युत् खरिद गर्न चाहन्छ ।

लुम्बिनीमा बंगलादेशको विहार : बंगलादेशमा इस्लाम धर्मको बाहुल्य भए तापनि चटगाउँको पहाडी भागमा बौद्धमार्गीहरू छन् । प्राचीनकालमा पूर्वी बंगला बौद्ध धर्म एवं सभ्यताको केन्द्र थियो । अतिशा दीपंकर त्यहाँबाट नेपाल आएर एक वर्ष ठमेलमा बसेका थिए ।

उनले पाँच महिनामा पाँचवटा चैत्य बनाए र तिब्बततर्फ लागे । शेष जीवन तिब्बतमा बौद्ध धर्मको प्रचारमा समर्पित गरेका अतिशा दीपंकर बंगलादेशका धर्मदूत हुन् । गत वर्षको २७ जुलाईमा प्रधानमन्त्री सेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्ले लुम्बिनीमा बंगलादेशको वास्तुशैलीको विहार स्थापना गर्ने निर्णय गरी लुम्बिनी विकास कोषसित सम्झौतासमेत गरिसकेको छ । 

राष्ट्रपति भण्डारीको भ्रमणकालमा हुने सम्झौता : नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको यसपटकको राजकीय भ्रमणमा उच्चस्तरीय भेटवार्तापछि विभिन्न तीनवटा सम्झौतामा हस्ताक्षर हुँदै छ । यो अवसरमा सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र र कृषि तथा पशुपक्षीमा प्रयोग हुने विषादी सम्बन्धमा सहयोग आदान–प्रदानको सम्झौता हुनेछ । रोहनपुर–सिंहवाद रेलवे मार्गमा नेपालको पहुँच पुर्‍याउने विषयमा पनि दुई देशबीच समझदारीपत्र आदान–प्रदान हुनेछ । यसबाट पारवहन क्षेत्रमा थप सुविधा नेपाललाई उपलब्ध हुनेछ । 

पारस्परिक लाभ : नेपाल र बंगलादेशबीचको सम्बन्ध असल छिमेकी सम्बन्धको सिद्धान्त र पारस्परिक लाभमा आधारित छ । नेपाल बंगलादेशको रेलवे, सडक सञ्जाल र बन्दरगाहसँग जोडिन चाहन्छ । बंगलादेश नेपालको जलविद्युत् खरिद गर्न चाहन्छ । यस क्षेत्रमा लगानी गर्न पनि चाहन्छ । नेपाल–बंगलादेशबीच प्रत्यक्ष सीधा प्रसारण लाइन नबनेसम्म मौजुदा नेपाल–भारत प्रसारण लाइनहरू नै बंगलादेशसँगको विद्युत् व्यापारमा प्रयोग गर्न दिन भारत सहमत भइसकेको अवस्था छ । 

नेपाल र बंगलादेश सार्क, बिमस्टेक, जिबिएम वेसिन (गंगा–ब्रम्हपुत्र) विकास, बिबिएन (उपक्षेत्रीय सहयोग संगठन)मार्फत क्षेत्रीय सहयोगमा आबद्ध छन् । संयुक्त राष्ट्रसंघ र असंलग्न अभियानमा बंगलादेशलाई प्रवेश गराउन नेपाल प्रस्तावकमध्ये एक थियो । नेपाल–बंगलादेशबीच द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तीनै तहमा परस्पर सहयोग कायम छ । गत वर्ष बंगलादेशका राष्ट्रपति हमिदले नेपालको भ्रमण गर्नुभएको थियो । यसर्थ, नेपालको राष्ट्रपतिको यो फिर्ती भ्रमण हो । यी भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ, विकसित र फलदायी हुने आशा छ । 

(श्रेष्ठ परराष्ट्रविद् तथा ‘नेपाल–बंगलादेश सम्बन्ध’का लेखक हुन्)