आठ सन्तान जन्माएकी धनमायाले श्रीमान् र तीन सन्तान उहिल्यै गुमाइन् । ५८ वर्षका माइला छोरा गत मंसिरमा बिते । कान्छा छोराको मुटुको उपचारमा सात लाख ऋण लाग्यो । कान्छी छोरीको स्वास्थ्य असामान्य छ । ६१ वर्षको उमेरमा घर फर्किएका दुर्गाप्रसादको ‘आइक्यु लेबल’ ९ वर्षको बालकको जस्तो छ । अब कसले कसको स्याहार गर्ने ?
आशा मारेको छोरा फर्केकोमा धनमाया तिम्सिना औधी खुसी छिन् । आठ सन्तान जन्माएकी उनले बालबच्चा सानै हुँदा श्रीमान् गुमाइन् । तीन सन्तान सानैमा बिते, त्यो पनि जम्मा २२ दिनको अन्तरमा । हुर्किएका केदारनाथ गत मंसिरमा बिते । कान्छा छोरा धर्मानन्द मुटुका बिरामी छन्, जसको उपचारमा गत एक वर्षमा सात लाख ऋण लागेको छ । धनमायाकी कान्छी छोरी पविमाया पनि स्नायुसम्बन्धी रोगले पीडित छिन् । यति ठूलो दुःखको पहाड झेलेकी धनमायाको उत्तराद्र्धमा आशाको किरण लिएर फर्किएका छन्, छोरा दुर्गाप्रसाद । तर, आमाले छामछुम गर्दा पनि दुर्गाप्रसादको बोली फुटेन । आमा अलमल परेकी छिन् ।
२० वर्षमा जेल परेका दुर्गाप्रसाद ६१ वर्षको उमेरमा घर फर्किएका छन् । छोरा आइतबार घर फर्कँदै छ भन्ने खबर पाएकी आमा बाटो हेरेर बसिरहेकी थिइन् । अपराह्न साढे ३ बजे घरमास्तिर गाडी रोकियो । गाडीबाट झरेर छोरा घरतिर ओरालो झरे । पिँढीमा बसिरहेकी आमाको मुहारमा झन्झन् उज्यालो थपियो ।
आमाले छोरालाई एकोहोरो हेरिरहेकी थिइन् । जेलमा हुँदा उनले आमाको नाम लेखेकाले परिवार पत्ता लागेको थियो । तर, आमालाई प्रत्यक्ष भेट्दा उनले कुनै प्रतिक्रिया जनाएनन् । दुर्गाप्रसादलाई आमाको छेउमा ल्याएर राखियो । ‘यो त बिरामी छ कि क्या हो ?’ आमाले सही शंका गरिन् । तर, छोराको वास्तविक स्वास्थ्य अवस्थाबारे आमालाई जानकारी छैन । ४१ वर्षसम्म अनाहकमा जेल बसेका दुर्गाप्रसादको ‘आइक्यु लेभल’ नौ वर्षका बालकको जस्तो छ भनेर डाक्टरले भनेका छन् ।
बोलाउँदा पनि नबोलेपछि आमाले भनिन्, ‘बोल्न पनि नसक्ने भएछ ।’ दुर्गाप्रसादलाई लिएर फर्केका भाइ प्रकाशचन्द्रले धनमायालाई ढाडस दिँदै भने, ‘कोलकाता धेरै टाढा छ । हिजोदेखि हिँडेको नि त गाडीमा ! रातभरि–दिनभरि हिँड्दा–हिँड्दा थाकेको छ ।’ घर छाडेर कहीँ नगएकी धनमायालाई रेलबारे भने जानकारी रहेछ । भनिन्, ‘रेलमा आएको भए सजिलो हुन्थ्यो नि !’
आमा धनमायाका अनुसार बाल्यकालमा दुर्गाप्रसाद सधैँ कमाउन ‘देश’ जान्छु भन्थे । छोरालाई सुम्सुम्याउँदै उनले पुराना दिन सम्झिन्, ‘त्यतिवेला दसैँ आउँदै थियो, हलो जोत्दै थियो, पछि त टाप कसेछ । इलाममा तोरी बेच्न भनेर गएछ, दिदीकोमा बसेछ । राति नै ओड्ने फालेर त्यहाँबाट पनि भागेछ ।’
दार्जिलिङमा एक महिलाको हत्या अभियोगमा १९८० मा पक्राउ परेका दुर्गाप्रसादले ४१ वर्ष भारतीय जेलमा बिताए । उनका विरुद्ध दार्जिलिङ पुलिसमा नैन घलेले उजुरी हालेका थिए । तर, त्यसपछि जाहेरवाला कुनै अड्डा–अदालत धाएनन् । दुर्गाप्रसादमाथिको आरोप प्रमाणित हुनु त परै, सुनुवाइसमेत भएको थिएन । तैपनि यत्रो वर्ष उनले जेलमै बिताउनुपर्यो ।
आमाछोराको पुनर्मिलन
दुर्गाप्रसादसँगै कोलकातास्थित दमदम जेलमा बसेका राधेश्याम दासले छुटेपछि वेस्ट बंगाल रेडियो क्लबमा खबर गरेका थिए । रेडियो क्लबको पहलमा परिवार भेटिएको थियो । क्लबकै पहलमा अधिवक्ता हीरक सिन्हाले निःशुल्क बहस गरे । कोलकाताको उच्च अदालतले उनको मानसिक अवस्था ठीक नभएको भन्दै छाड्न आदेश दिएको थियो । त्यही आदेशअनुसार उनी शनिबार थुनामुक्त भएका हुन् ।
जेलबाट छुट्दा भारत र नेपालका सञ्चारकर्मीबाट घेरिएका थिए, दुर्गाप्रसाद । सञ्चारकर्मीले केही प्रश्न गरे । उनले एउटा मात्रै वाक्य बोले, ‘म निर्दोष थिएँ ।’ करिब एक घन्टाको यात्रा गरेर उनलाई कोलकातास्थित नेपाली महावाणिज्यदूतावास लगियो । गाडीमा चढेका उनले हामी दार्जिलिङ हिँडेको हो ? भन्दै प्रश्न गरे । सायद दार्जिलिङसँग उनको अमिट छाप छ ।
कोलकाताबाट घर फर्कंदा उनी बसमा भाइ प्रकाशचन्द्रसँगै बसे । गाडीमा चिया खान पाएनन् । जब कि दिनमा तीनपटक चिया खाने जेलको रुटिन थियो । शनिबार साँझ ६ बजे कोलकाताबाट छुटेको बस १४ घन्टापछि आइतबार बिहान ८ बजे काँकडभिट्टा आइपुग्यो । चार दशकपछि दुर्गाप्रसादले मातृभूमि टेके । काँकडभिट्टास्थित विश्व सेवा विस्तार संस्थाको कार्यालयमा आइपुग्नसाथ उनलाई पानी दिइयो । उनले खान मानेनन् । बरु चिया मागे । यो संस्थाले पनि उनको उद्धारमा सहयोग गरेको थियो ।
संस्थाका प्रतिनिधिले उनलाई काँकडभिट्टामा तपाईं किन जेल पर्नुभयो भनेर सोधे । मलिन स्वरमा उनले भने, ‘मर्डर ।’ प्रतिप्रश्न गरियो, ‘तपाईंले मर्डर गरेको हो ?’ उत्तर थियो– ‘होइन ।’ तपाईंको भाइको नाम के हो ? उनले भने– ‘केदारनाथ ।’ केदारनाथको गत मंसिर अन्तिममा मृत्यु भएको छ । काँकडभिट्टाबाट गाडी उकालो लाग्यो, इलामको लुम्बाकतर्फ । ३ बजे दुर्गाप्रसाद घर पुगे । उनी भारत जाँदा घर इलामको एकतप्पामा थियो । पछि उनको परिवार लुम्बाकमा बसाइँ सर्यो । उनी लुम्बाकमा पहिलोपटक आएका हुन् ।
उनले आमालाई उपहार दिए । वेस्ट बंगाल रेडियोका सचिव अम्बरेशनाथ विश्वासले आमाका लागि भनेर रसगुल्ला (मिठाई) पठाइदिएका थिए । दुर्गाप्रसादको हातबाट आमाले समातिन् । गुलियो मिठाईको साथमा आमाछोराको पुनर्मिलन भएको छ, तर अगाडि तेर्सिएका दुःखका पहाडले जीवन सुमधुर बनाइराख्न सहज छैन । किनकि ८५ वर्षकी आमाका अगाडि बिरामी छोराछोरी छन् ।