निस्कनासाथ भने, ‘म निर्दोष थिएँ’
इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना भारतको जेलमा विनासुनुवाइ ४१ वर्ष बिताएर शनिबार थुनामुक्त भए । कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होम (केन्द्रीय सुधार गृह)बाट दिउँसो करिब साढे १२ बजे रिहा भएपछि दुर्गाप्रसादले बोलेको पहिलो वाक्य थियो– म निर्दोष थिएँ ।
२० वर्षको उमेरमा जेल परेका तिम्सिना ६१ का भए । उनी मानसिक रूपमा ९ वर्ष ९ महिनाको बालकजस्तै रहेको कोलकाता विश्वविद्यालयको मनोविज्ञान विभागले गरेको परीक्षणले पत्ता लगाएको थियो । उनी मानसिक रूपमा मात्रै होइन, शारीरिक रूपमा समेत असाध्यै कमजोर देखिन्छन् ।
सेता कमिज पाइजामा लगाएर उनलाई प्रहरी र आफन्तले समाएर बाहिर निकालेका थिए । उनी राम्ररी हिँड्न पनि सक्दैनन् । युवा उमेरमा जेल परेका दुर्गाप्रसाद ४१ वर्षपछि बाहिरी संसारमा आउँदा खुलेर बोल्न सकेनन् । चार दशकपछि थुनामुक्त भएका दुर्गाप्रसादलाई लागेछ– कतै जेल सार्न लागेको बुझेछन् । रिहाइ भएपछि गाडीमा फर्कँदै गर्दा उनले मलिन स्वरमा प्रश्न गरे– हामी दार्जिलिङ जान लागेको हो ? ‘प्रत्येक ६ महिनामा उनलाई दार्जिलिङ जिल्ला अदालतमा हाजिर गराउन लगिने गरेको रहेछ, त्यसै कारण उनले यो प्रश्न गरेको हुन सक्छ,’ तिम्सिनालाई लिन पुगेका उनका भाइ प्रकाशचन्द्र बताउँछन् ।
दुर्गाप्रसाद राम्ररी बोल्न सक्दैनन् । केही प्रश्नको जवाफ दिन्छन्, तर मलिन स्वरमा । ४१ वर्षअघि युवा अवस्थामा जेल परेका दुर्गाप्रसादको न्यायको आवाज जसरी दबिए, उनको स्वर पनि उसै गरी दबिएको छ । रिहाइ हुनेबित्तिकै उनलाई सञ्चारकर्मीले घेरे । उनलाई सञ्चारकर्मीले अनेक प्रश्न गरे । तर, उनले बोल्नै सकेनन् । उनको मलिन आवाजमा जम्मा एउटा वाक्य निस्कियो– म निर्दोष थिएँ ।
दमदम जेलबाट कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालय करिब एक घन्टाको दूरीमा पर्छ । जेलबाट ल्याउन महावाणिज्य दूतावासले गाडी उपलब्ध गराएको थियो । गाडीमा उनका भाइ प्रकाशचन्द्रले पुराना कुरा स्मरण गराए । तर, उनले कुनै प्रतिक्रिया दिएनन् । भाइ प्रकाशचन्द्रले मोबाइलमा उनकी वृद्ध आमाको फोटो देखाएर सोधे, ‘उहाँ को हो ?’ ४१ वर्षपछि पनि आमाको तस्बिर भने उनले चिने । ‘आमा’ जवाफ फर्काए । त्यसपछि सानो स्वरमा एउटा गीत गुनगुनाए– ‘रेसम फिरिरी...।’
दाइलाई लिन गएका भाइ प्रकाशचन्द्र दाइले ४१ वर्षसम्म अन्याय भोगेको भन्दै निकै भावुक देखिए । ‘मेरो दाइको जस्तो अन्याय कसैलाई पनि नहोस्,’ उनले भक्कानिँदै भने, ‘दाइको त जीवन नै सकियो । कस्तो मान्छे कस्तो हुनुभयो । पहिला हामी खेल्दै हुर्किएका थियौँ । अहिले उहाँको अवस्था यस्तो भयो ।’ शारीरिक अवस्था हेर्दा विगतमा दुर्गाप्रसादले शारीरिक यातना भोगेको देखिने प्रकाशचन्द्र बताउँछन् । ‘खुट्टामा चोट देखिन्छ । उहाँले चोट देखाउनुभयो,’ उनी भन्छन्, ‘यो हेर्दा विगतमा धेरै यातना भोगेको अनुमान गर्न सकिन्छ ।’
दुर्गाप्रसादलाई छुटाउने वेस्ट बंगाल रेडियो क्लब
दुर्गाप्रसाद ४१ वर्षदेखि ट्रायलविना नै जेल बसिरहेको सूचना सबैभन्दा पहिला वेस्ट बंगाल रेडियो क्लबको ह्याम रेडियोबाट प्रकाशित भएको थियो । क्लबले दुर्गाप्रसादबारे समाचार मात्र प्रसारण गरेन, नेपालमा आफन्तको खोजीका लागि सहयोग पनि ग¥यो । यही क्लबको पहलमा अधिवक्ता हिरक सिन्हाको समूहले निःशुल्क मुद्दा पनि लडिदिए । यस संस्थाका सचिव अम्बारिशनान विश्वास दुर्गाप्रसादलाई स्वागत गर्न दमदम जेल पुगेका थिए । दुर्गाप्रसादलाई आफ्नै पहलमा छुटाउन पाउँदा उनी निकै भावुक देखिए । ‘दीपक जैसी (दुर्गाप्रसाद) छुट्दा म निकै खुसी छु । यो खुसी म व्यक्त गर्नै सक्दिनँ,’ भक्कानिँदै विश्वासले भने, ‘घरमा उहाँकी ८५ वर्षकी आमा हुनुहुन्छ । अब उहाँ आमालाई भेट्न जाँदै हुनुहुन्छ । यो हाम्रो क्लबको ठूलो उपलब्धि हो ।’ विश्वास दुर्गाप्रसादलाई अँगालो हाल्दै केही समय भावुक बने ।
छुटाउन दमदम जेल पुगेका विश्वासले दुर्गाप्रसादका लागि कमिज र पाइजामा लगिदिएका थिए । उनी दुर्गाप्रसादको स्वागतका लागि रजनीगन्धा फूलको माला लिएर जेलसम्म पुगेका थिए । जुन माला पश्चिम बंगालमा खुसी र दुःखको क्षणमा निकै महत्वपूर्ण छ । माला बोकेर विश्वासकी छोरी सबोर्नीनाग विश्वास र श्रीमती रिंकुनाग पनि जेलसम्म पुगेका थिए । ‘हाम्रो समाजमा रसगुल्लाको जति महत्व हुन्छ त्यति नै यो रजनीगन्धा मालाको महत्व हुन्छ । दुःखको क्षणमा यो सेतो रजनीगन्धाको माला मात्र लगाइन्छ भने सुखको क्षणमा यसको बीचमा राता फूलहरू मिसाइन्छ,’ सबोनीले भनिन्, ‘४१ वर्षपछि उहाँ छुट्दै हुनुहुन्छ । उहाँलाई यो माला लगाएर रसगुल्ला खुवाएर नेपाल पठायौँ ।’ विश्वासले दुर्गाप्रसादकी वृद्ध आमा धनमाया (८५)का लागि पनि उपहारका रूपमा रसगुल्ला पठाइदिए । ‘आमा तपाईंको प्रतीक्षामा हुनुहुन्छ । अब तपाईंले चाँडै आमालाई भेट्न पाउँदै हुनुहुन्छ,’ विश्वासले भने, ‘आमाका लागि यो रसगुल्ला पठाइदिएका छौँ ।’
दुर्गाप्रसाद सन् १९८० मा दार्जिलिङकी एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । विभिन्न जेलमा सार्दै उनलाई १४ वर्षयता दमदम केन्द्रीय सुधार गृहमा राखिएको थियो । उनीसँगै जेल बसेका राधेश्याम दास नामका एक भारतीय नागरिकले दुर्गाप्रसादका बारेमा वेष्ट बंगाल रेडियो क्लबलाई जानकारी दिएका थिए । वेष्ट बंगाल रेडियो क्बलको पहलमा नेपालमा रहेका उनका भाइ प्रकाशचन्द्र (काकाका छोराले) गत मंसिर २ गते दाइको अवस्थाबारे जानकारी पाएका थिए । त्यसयता दाइको रिहाइका लागि उनले पहल गर्दै आएका थिए । गत १० फागुनमा जेलमा पुगेर दाइलाई भेटेका प्रकाशचन्द्रले ११ फागुनमा कोलकातास्थित उच्च अदालतमा दाइको रिहाइका लागि निवेदन दिएका थिए ।
भारतीय अदालतमा तिम्सिनाको मुद्दा दीपक जैसीको नाममा चलिरहेको छ । हत्या अभियोग लागे पनि त्यसलाई पुष्टि गर्ने कुनै बलियो प्रमाण छैन । प्रमाणका रूपमा सन् १९८० मा दार्जिलिङका नैन घलेले दिएको जाहेरी मात्र छ । तर, विनासुनुवाइ उनलाई भारतले ४१ वर्षदेखि बन्दी बनाइरहेको थियो । गत बुधबार उच्च अदालत कोलकाताले भाइ प्रकाशचन्द्रको रोहबरमा उनलाई छाड्ने आदेश दिएसँगै उनी रिहा भएका हुन् । शुक्रबार भाइले सबै कागजी प्रक्रिया पूरा गरेपछि दुर्गाप्रसाद शनिबार छुटे । उनका लागि कोलकाताका अधिवक्ता हिरक सिन्हालगायतको टोलीले निःशुल्क बहस गरेका थिए ।
तर, दुर्गाप्रसादले पूर्णरूपमा न्याय पाएका छैनन् । अदालतले उनको दिमागी हालत ठीक नभएको भन्दै तत्काललाई छाड्ने आदेश दिएको हो । यद्यपि उनको मुद्दाको अन्तिम फैसला भएको छैन । ‘कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमार्फत दाइको अवस्था ६÷६ महिनामा अदालतमा जानकारी गराउनुपर्छ,’ उनी भन्छन्, ‘न्याय कसरी पाइयो र ? दाइको फैसला भएको छैन । दिमागी अवस्था ठीक नभएको भनेर छाडिएको मात्र हो ।’
दुर्गाप्रसादको जीवनका कठिन मोड
४१ वर्ष जेलमा बस्दा दुर्गाप्रसादको अवस्था निकै नाजुक छ । अदालतले ‘दिमागी रूपमा ठीक नभएको’ भन्दै छाड्ने आदेश दिएको छ । तर, अब उनले झन् कठिन दिन भोग्नुपर्ने छ । घरमा आर्थिक अवस्था एकदम कमजोर छ । परिवारमा आमा, कान्छा भाइ र कान्छा भाइका छोरा मात्र छन् ।
उनका कान्छा भाइ केही महिनाअघि मात्र गम्भीर बिरामी परेका थिए । त्यस क्रममा करिब १० लाख खर्च भएको प्रकाशचन्द्र बताउँछन् । दुर्गाप्रसादको काम गर्ने अवस्था छैन । अब जीवनचर्या कसरी अघि बढ्ला भन्ने अन्योल छ । प्रकाशचन्द्र भन्छन्, ‘घरमा खाना पकाउने मान्छेसम्म छैनन् । तर, उहाँलाई नै स्याहार गर्ने मान्छे आवश्यक देखिन्छ ।’
दुर्गाप्रसादले जेलमा भोगेको शारीरिक, मानसिक यातनाको क्षतिपूर्ति पाउनेमा भाइ प्रकाशचन्द्र विश्वस्त छैनन् । ‘वकिलले पनि अहिले क्षतिपूर्ति पाउने अवस्था छैन भन्नुभएको छ । यसका लागि नेपाल सरकारले पहल गर्नुपर्छ रे,’ उनी भन्छन्, ‘जीवनमा केही गरौँ भन्ने वेलामा उहाँ जेल पर्नुभयो । अब केही गरेर खान सक्ने अवस्था छैन । ४१ वर्ष झुटो आरोप भोगेको मानसिक र शारीरिक यातनाको क्षतिपूर्ति कसले दिन्छ ?’
दुर्गाप्रसादको परिवारका थप दुई बिरामी
दुर्गाप्रसादका कान्छा भाइ धर्मनन्द मुटुरोगी हुन्, बहिनी पविमायासमेत अढाई दशकदेखि स्नायुसम्बन्धी समस्यामा छिन्
ख्याम भुजेल
इलाम/इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना जेलबाट छुटेर आइतबार घर आइपुग्दै छन् । ६१ वर्षको उमेरमा घर फर्कदै गरेका दीपकलाई ९० वर्षकी आमा धनमायाले कुरेर बसेकी छिन् । तिम्सिनाको स्वास्थ्य अवस्था ३९ वर्षदेखि ठीक छैन । तर, घरमा उनका एक भाइ र एक बहिनी दुवै स्वास्थ्य समस्यामा छन् ।
दीपक घर फर्किने भएपछि परिवारका सदस्य स्वाभाविक रूपमा खुसी छन् । तर, सँगसँगै तीन–तीनजनाको उपचार कसरी गर्ने भनेर परिवारका सदस्यलाई चिन्ता परेको छ । बिरामी अवस्थामा फर्किंदै गरेका दुर्गाप्रसादको थप उपचार गर्नुपर्नेछ । ‘घर ल्याएपछि ठूलोबुबाको उपचार गर्न पाए हुन्थ्यो भन्ने लागेको छ,’ उनका कान्छा भाइका छोरा गोपाल तिम्सिनाले भने, ‘तर, बुबा आफैँ बिरामी हुनुहुन्छ, त्यसैले यसबारे उहाँलाई भन्न सक्ने अवस्था छैन ।’ गोपालका बुबा धर्मनन्द तिम्सिनामा केही समययता मुटुमा समस्या देखिएको छ । दुर्गाप्रसाद घर आइपुगेपछि आफन्तहरूसँग उपचारका बारेमा कुरा गर्ने सोच बनाएको गोपालले बताए । अर्कातिर फुपू पविमाया (दुर्गाप्रसादकी बहिनी) पनि अढाई दशकदेखि स्नायुसम्बन्धी समस्या भोगिरहेकी गोपालले बताए । ‘फूपूको पनि उपचार गर्न पाए हुन्थ्यो,’ उनले भने ।
वेलैमा उपचार नहुँदा पविमायाको अवस्था बिग्रँदो छ । पविमायाको २०५०/५२ देखि स्वास्थ्य अवस्था बिग्रिएको हो । तर, उनले उपचार पाएकी छैनन् । ‘फूपूलाई बिराम सुरु हुँदा परिवारमा आर्थिक अभाव पनि थियो होला, उपचार गराउँदा ठीक हुन्छ भन्ने बुबाहरूले पनि जान्नुभएन होला’, गोपालले थपे, ‘अब भए पनि उपचार गराउन पाए हुन्थ्यो भन्ने लागेको छ ।’ तर एकैपटक सबैको उपचार गराउन निकै गाह्रो छ ।
दुर्गाप्रसादलाई उपचार नगरी घरमा राख्दा झन् समस्या हुन सक्नेमा स्थानीय चिन्तित छन् । ‘घरमा दुईजना बिरामी छन्, अब अर्को बिरामीलाई पनि उपचार नगराई घर ल्याँउदा महाबिजोग हुन्छ,’ स्थानीय राम सञ्जेलले भने, ‘यहाँ त पकाएर दिने मान्छे पनि हुँदैनन्, अवस्था झन् जटिल हुन्छ ।’ कुनै सेवामूलक संघसंस्था या राज्यले उनीहरूको उपचारमा सहयोग गर्नुपर्ने सञ्जेलको भनाइ छ । ‘सबैको एकैपटक उपचार गराए पारिवारिक पुनर्मिलन र सामाजिक पुनस्र्थापना हुन सक्छ,’ उनले भने ।
प्रदेशसभा सदस्यसमेत रहेका दीपकका भाइ (माइलो बडाबाबुका छोरा) धीरेन्द्र शर्मा रमण पनि परिवारमा बिरामी सबैको उपचारको आवश्यकता महसुस गर्छन् । ‘सबैको उपचार गराउनुपर्ने अवस्था छ,’ धीरेन्द्रले भने, ‘दुर्गाप्रसाद आइपुगेपछि थप कुरा गर्नुपर्ला ।’ लामो समय जेल जीवन बिताएर आएका दुर्गाप्रसादको सामाजिक पुनस्र्थापनामा आफन्त र समाजले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
दुर्गाप्रसादका भाइ केदारनाथ तिम्सिना पनि स्नायुसम्बन्धी समस्याबाटै पीडित थिए । करिब १५ वर्षदेखि बिरामी परेका केदारनाथको गत मंसिर २८ गते मात्रै मृत्यु भएको थियो । दुर्गाप्रसादकी आमाको एउटा हात छैन । बुढेसकालसँगै श्रवण शक्ति पनि कमजोर भएकी आमा धनमाया पनि छोरोको स्याहार चाकर गर्ने अवस्थाकी छैनन् । परिवारको स्याहारचाकर गर्न सक्ने दीपकका कान्छो भाइका छोरा गोपाल तिम्सिना छन् । भर्खरै १२ कक्षा उत्तीर्ण गरेका उनलाई परिवारको व्यवस्थापन गर्ने कि पढाइलाई अघि बढाउने भन्ने ठूलो सकस छ । ‘परिवारको अवस्थाका कारण घर हेर्नै समस्या छ, यस्तोवेला कसरी पढ्न पाइएला र,’ गोपालले भने ।