मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण २७ बिहीबार
  • Saturday, 15 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ फाल्गुण २७ बिहीबार o६:५८:oo
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

पार्टीमा छलफल नगरी गरिने संवाद र सम्झौतामा हाम्रो सहमति हुँदैन : झलनाथ खनाल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ फाल्गुण २७ बिहीबार o६:५८:oo

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नयाँ परिस्थिति देखापर्‍यो । अब पार्टीलाई अगाडि बढाउने विषयमा प्रधानमन्त्री केपी ओलीसँग तपाईंहरूको संवाद कसरी अघि बढिरहेको छ ?

अहिलेसम्म त्यस्तो टेलिफोन, वार्ता, संवाद केही पनि भएको छैन । सर्वोच्च अदालतले गरेको फैसलाप्रति सहमत हुन सक्ने ठाउँ त म देख्दिनँ, किनभने त्यो राजनीतिक फैसला हो । तैपनि सर्वोच्च अदालतले गरेको फैसलालाई हामीले अस्वीकार गर्न मिल्दैन । एकीकृत भइसकेको नेकपा दुई समूहमा विभाजित भएको छ । यो विभाजन एकदमै दुःखद छ । तैपनि यो अवस्थालाई स्विकारेर जानुको विकल्प छैन । यस्तो घटनाक्रमपछि पार्टी अध्यक्षले हामीसँग जुन ढंगले संवाद र सम्पर्क गर्नुपर्ने हो, त्योचाहिँ अहिलेसम्म गर्नुभएको छैन । 

संवाद र सम्पर्क नभएको अवस्थामा अब तपाईंहरू कसरी अघि बढ्नुहुन्छ ? यसबीचमै तपाईंहरूले आफ्नो समूहका सांसद र केन्द्रीय सदस्यहरूसँग बेग्लै छलफल गरिसक्नुभएको छ, उहाँहरूको सुझाब के छ ?
हामी नेकपा एमालेको नवौँ महाधिवेशनले पारित गरेको कार्यदिशा, सिद्धान्त, लक्ष्य र विधानका आधारमा अघि बढ्छौँ । त्यो महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी, स्थायी कमिटी, पदाधिकारी आदिको नेतृत्वमा हामी अगाडि बढ्छौँ । अहिले सर्वोच्च अदालतको फैसलाले हामीलाई २ जेठ ०७५ को अवस्थामा पु¥याइदिएको छ । हामी त्यतिवेला पार्टी र जनवर्गीय संगठनको सम्पूर्ण संरचना जस्ता थिए, अब त्यही संरचनालाई मानेर अघि बढ्छौँ । 

यो तपाईंहरूको कुरा भयो, के त्यसरी जान प्रधानमन्त्री तथा अध्यक्ष तयार हुनुहुन्छ ?
हामी कति वेला बैठक बोलाइन्छ, सम्पर्क गरिन्छ भनेर अहिले पनि प्रतीक्षारत नै छौँ । हामी आशा गर्छौँ– चाँडोभन्दा चाँडो बैठक बोलाइन्छ, विचार–विमर्श हुन्छ, अनि अगाडि बढ्छौँ ।

तर, प्रधानमन्त्री ओली अहिले सरकार जोगाउन दबाबमा हुनुहुन्छ, सत्तासमीकरणबारे जसपासँग छलफलमा हुनुहुन्छ । यो सरकार जोगाउनेबारे तपाईंहरूको धारणाचाहिँ के हो ?
अब हामीलाई सर्वोच्च अदालतको फैसलाले ठूलो पार्टीको हैसियतमा उभ्याइदिएको छ । तर हामीसँग बहुमत छैन । यो पार्टीको नेतृत्वमा भएको सरकारलाई कसरी टिकाउने, के गर्ने भन्ने सन्दर्भमा पार्टीभित्रै पहिला विचार–विमर्श हुनुपर्छ । पार्टीले संस्थागत विमर्श नगरी गरिएका कुनै पनि वार्ता, सम्झौताप्रति हाम्रो सहमति हुँदैन ।

तपाईंहरूले सरकारमा वाम गठबन्धनकै निरन्तरताको पक्षमा निर्णय गर्नुभएको छ, तर तत्काल एमाले र माओवादीको गठबन्धन हुने सम्भावना कति छ ?  
हामीले दुईवटा पार्टीको गठबन्धन बनाएर राष्ट्रव्यापी रूपमा निर्वाचन सम्पन्न गर्‍यौँ । एउटै घोषणापत्रका आधारमा निर्वाचन सम्पन्न भएको हो र नेपाली जनताले कम्युनिस्ट आन्दोलनको एकीकरणलाई अनुमोदन पनि गरिसकेका थिए । यस्तो अवस्थामा अहिले दुईवटा पार्टीलाई छुट्याउने जुन निर्णय भएको छ, त्यो यथार्थमा कम्युनिस्ट आन्दोलनविरुद्ध, एकताविरुद्ध र प्रगतिविरुद्ध छ भन्ने छ भन्ने स्वतःसिद्ध छ । त्यसैले फेरि पनि गठबन्धनको पक्षमा जानुपर्छ भन्ने हाम्रो भनाइ हो । हामी अहिले पनि नेकपा एमालेलाई सुदृढ गर्दै सम्पूर्ण वामपन्थीको बीचमा एकताको पक्षमा छौँ । हामीले एकताको प्रयत्न गर्नुपर्छ । वामपन्थीहरूको एकता नभई मुलुकलाई समाजवादतिर लैजाने, अग्रगतितिर लैजाने, प्रगतितर्फ लैजाने कल्पनै गर्न सकिँदैन । त्यसकारण अहिले जुन अवस्थामा आइपुगेको भए पनि हामीले क्रमशः वाम एकता, पार्टी एकीकरण र अग्रगतिको दिशामा जानैपर्छ । 

तर, एमालेको बैठक नबसी प्रधानमन्त्रीले जसपासँग वार्ता गरिरहनुभएको छ , तपाईँहरूले पनि वाम गठनबन्धनको एजेन्डा उठाउनुभएको छ । पार्टीभित्र एकमत नभई फरक–फरक पहल किन भइरहेका छन् ? 
हाम्रो प्रस्ताव छलफलको लागि हो । त्यसबारे विचार–विमर्श गर्छौँ, सोचविचार गर्छौँ । के–कस्ता निर्णय हुन्छन् हेर्छौँ । छलफलविना कुनै निर्णय भयो भने त्यसवेला नै सोचविचार गरेर एउटा निष्कर्षमा पुग्छौँ ।

केन्द्रीय सदस्यहरूले चाहिँ यसबारेमा के सुझाब दिएका छन् ?
नेकपा एमालेमा पहिले जुन प्रकारको अनुशासनहीनता, विधिहीनता, अराजकताको अवस्था थियो । ती अवस्था अन्त्य गर्दै पार्टीलाई सही विचार, सही लक्ष्यसहित विधि–पद्धतिका आधारमा सञ्चालन गर्नुपर्ने कुरामा ध्यान दिनुपर्छ भन्ने सुझाब छ ।