१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

धुर्मुस–सुन्तली फाउन्डेसनको अभियान : हाम्रो रंगशाला, मेरो सिट

एक लाख दिनेको नाम स्टेडियमको सिटमा लेखिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:१२:oo

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको सिटमा व्यक्ति वा संस्थाले आफ्नो नाम लेखाउन सक्ने भएका छन् । फाउन्डेसनले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन अयोजना गरी ‘हाम्रो रंगशाला मेरो कुर्सी’ अभियान सार्वजनिक गरेको हो । 

फाउन्डेसनले यो अभियानमार्फत स्टेडियम निर्माण पूरा गर्न थप आर्थिक सहयोग जुट्ने अपेक्षा गरेको छ । अभियानअन्तर्गत स्टेडियमको दर्शक प्यारापिटमा रहेको सिटमा व्यक्ति वा संस्थाले नाम लेखाउन सक्नेछन् । ‘यो व्यक्तिको अग्रसरतमा निर्माण भइरहेको रंगशाला हो । यसमा हामी नेपालीको मात्रै लगानी छ ।

यो हाम्रो गर्वको कुरा पनि हो,’ पत्रकार सम्मेलनमा धुर्मुस (सीताराम कट्टेल)ले भने, ‘हामीले नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई थप अपनत्व महसुस होस् भन्ने उद्देश्यले नयाँ अभियान सुरुवात गरेका हौँ ।’ त्यसका लागि इच्छुक व्यक्ति वा संस्थाले एक लाख आर्थिक सहयोग गर्नुपर्ने छ । त्यस्ता इच्छुक व्यक्तिलाई थप सुविधा पनि हुनेछ । स्टेडियमको दर्शक प्यारापिट प्रवेश गर्ने कोठालाई ७७ वटै जिल्लाको नामले नामाकरण गरिने फाउन्डेसनले जनाएको छ । पैसा दिने व्यक्तिहरूको नाम पनि सम्बन्धित जिल्लाबाट नामाकरण भएको कोठाबाट प्रवेश गर्ने गरी लेखिनेछ । 

फाउन्डेसनले क्रिकेट स्टेडियमभित्र ३० हजार दर्शक अट्ने प्यारापिट निर्माण गर्ने योजना बनाएको छ । त्यसमा प्याराफिट ‘ए’ तर्फ १५ हजार र प्यारापिट ‘बी’तर्फ १५ हजार रहनेछन् । त्यसबाहेक भिआइपी प्यारापिट र दुईवटा भिआइपी टावर पनि हुनेछ । भिआइपी टावरका लागि पनि सर्वसाधारणले रकम दिन सक्नेछन् । उक्त टावर विज्ञापन प्रायोजनका लागि प्रयोग हुने छन्, यद्यपि निर्माणका लागि पैसा दिने व्यक्तिको नाम त्यहाँ राखिनेछ । 

यसै वर्ष तीन हजार दर्शक क्षमताको प्यारापिट बन्ने
अभियानकर्ता धुर्मुसले यो वर्षभित्रै तीन हजार क्षमताको प्यारापिट निर्माण पूरा हुने जनाएका छन् । बाँकी प्यारापिट पनि चाँडै निर्माण पूरा हुने उनले जनाए । ‘कतिपयलाई काम ढिला भइरहेको हो कि जस्तो पनि लाग्न सक्छ । तर, काम तीव्र गतिमा अघि बढिरहेको छ । सुरुवातमा मैदानबाहिरको काममै बढी समय खर्च भयो । खासमा मैदानको काम भने गत असार साउनबाट मात्रै सुरु भएको हो,’ उनले भने, ‘त्यसपछिको छोटो समयमै ३० प्रतिशत काम सकिसकेको छ । अब योभन्दा द्रुत गतिमा काम अघि बढ्नेछ ।’

फाउन्डेसनले २२ खेल खेल्न मिल्ने गरी खेलकुद केन्द्रको निर्माण अभियान थालेको हो । त्यसमध्ये अहिले क्रिकेट स्टेडियमको काम मात्रै अघि बढेको छ । अभियानकर्ता धुर्मुसले क्रिकेट स्टेडियमको काम सकिएपछि अरू खेलको संरचना निर्माणको काम पनि अघि बढ्ने जनाए । सो अभियानका लागि अहिलेसम्म ३२ करोड ३० लाख २४ हजार तीन सय ५४ रुपैयाँ सहयोग जुटेको फाउन्डेसनले जनाएको छ । त्यसमध्ये ४३ करोड ४८ लाख, ६ हजार तीन सय ८२ रुपैयाँ खर्च भएको छ । 

ad
ad