मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ फाल्गुण ११ मंगलबार ०३:१२:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

न्यायालयबाट कहिलेकाहीँ अनुपयुक्त निर्णय आउँछ, तर जे भए पनि हाम्रो राजनीति सिद्धिदैन : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ फाल्गुण ११ मंगलबार ०३:१२:००

संसद् विघटनलाई आफ्नो राजनीतिक बाध्यता भएको भन्दै अदालतले यसलाई सदर गर्ने दाबी गर्दै आएका प्रधानमन्त्री केपी ओलीले तीन महत्वपूर्ण सन्दर्भसहित पहिलोपटक संसद् पुनस्र्थापनाको सम्भावनातर्फ संकेत गरेका छन् । कञ्चनपुरमा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनस्र्थापना भए नयाँ प्रधानमन्त्रीको खोजी सुरु हुने, यसले आफ्नो राजनीतिमा कुनै फरक नपर्ने र कहिलेकाहीँ न्यायालयबाट अनुपयुक्त निर्णय हुने गरेको सन्दर्भ जोडेर संसद् पुनस्र्थापनाको सम्भावना औँल्याएका छन् । 

‘यदि पुनस्र्थापना हुने हो भने के हुन्छ ? यसो कल्पना गरौँ । पुनस्र्थापना हुने हो भने प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ, प्रधानमन्त्री खोज्न पार्टी खोज्न हिँड्नुपर्छ । कुनै पार्टीको बहुमतको सरकार हुँदैन । त्यसो भएपछि समीकरणका अनेक खेल र सांसद किनबेचका खेल हुन्छन् । कसलाई कुन पद, कसलाई कुन पद, भागबन्डा यही तमासाको राजनीति फेरि सुरु हुन्छ,’ संसद् विघटनविरुद्धको रिटमाथिको सुनुवाइ सकिएको तीन दिनपछि प्रधानमन्त्री ओलीले भने । 

ओलीले कहिलेकाहीँ न्यायालयले समेत अनुपयुक्त निर्णय गर्ने गरेको भन्दै संसद् पुनस्र्थापनाको अर्को सम्भावनातिर संकेत गरे । ‘कुन समयमा न्यायालयले न्याय निरुपण कति गर्न सक्छ, त्यो बेग्लै कुरा हो । न्यायालयका सबै निर्णय सबै समयमा उपयुक्त नहुन पनि सक्छन् । त्यसै कारण मान्छेले पुनरावेदन गर्छन् । किन पुनरावेदन गर्छ ? पुनरावेदनबाट किन जित्छ फेरि ? कहिले–कहिले न्यायालयका फैसलाहरू उपयुक्त नहुन पनि सक्दारहेछन् । यो न्यायालयसँग सम्बन्धित कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसको न्यायिक प्रक्रिया आफ्नो छ, तर हामी न्यायालयमाथि विश्वास गर्दछौँ ।’ उनले आफूले लोकतन्त्रमा न्यायालयलाई दबाब दिने, धम्क्याउनेमा विश्वास नगर्ने गरेको पनि सुनाए । ‘लोकतन्त्र, शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायालयको मर्यादा र त्यसमाथिको विश्वास आदिमा लोकतन्त्र बाँचेको हुन्छ,’ ओलीले भने । 

प्रधानमन्त्री ओलीले तेस्रो सन्दर्भका रूपमा अदालतबाट जस्तो फैसला आए पनि आफ्नो राजनीति नसिद्धिने बताए । ‘मैले विराटनगरमा बोल्दा भनेको थिएँ, केही मान्छेहरू यसो भयो भने त आफ्नो राजनीति नै सिद्धिन्छ भनेर छटपट–छटपट गरिराख्या छन् । हामी देश बनाउने अभियानमा छौँ, जस्तो भए पनि हाम्रो राजनीति सिद्धिदैन, केही भए पनि सिद्धिदैन । देश बनाउने हाम्रो अभियान र लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन अगाडि बढिरहन्छ मैले भन्या हुँ,’ प्रधानमन्त्री ओलीले भने । 

शनिबार विराटनगर पुगेर ‘सेटिङ’मा संसद् पुनस्र्थापना भए आन्दोलन हुने चेतावनी दिएका ओलीले कञ्चनपुरमा पुगेर भने सफाइ दिए, ‘आन्दोलन भनेको उनीहरूले नाराजुलुस, ढुंगामुढा हान्ने के–के बुझेछन् । मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई सुदृढ बनाउने आन्दोलन भनेको थिएँ । लोकतान्त्रिक आन्दोलन भनेको समग्र राष्ट्रिय परिवर्तनको अग्रगामी आन्दोलन हो,’ ओलीले भने, ‘मैले हाम्रो आन्दोलन निरन्तर अगाडि बढिरहन्छ भनेँ । अरूले आन्दोलन गर्छु भनेर धम्की दियो भने । मैले कसैलाई धम्की दिइरहनुपर्ने कुनै आवश्यकता छैन । अदालतलाई हामीले धम्की दिने बानी पनि छैन । हामी स्वतन्त्र न्यायालय, शक्ति पृथकीकरणको सिद्धान्तलाई मान्छौँ ।’

प्रधानमन्त्री ओलीले अहिले आफूहरूको ध्यान विकासतर्फ केन्द्रित भएको बताए । प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारीपछि मित्रराष्ट्र भारतसँग तथ्य, प्रमाणका आधारमा वार्ता गरिरहेको पनि सुनाए । ‘नेपालकै भूमि नक्सामा सामेल भएको, संवाद र वार्ताको विषय बनेको छ । छाङरूमा बिओपी राखेका छौँ, त्यहाँ जाने बाटो बनाउँदै छौँ । छाङरू दुर्गम थियो, अब रहँदैन । दार्चुलाबाट तिंकरको होस् वा उरैको नाकामा ध्यान दिएका छौँ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले अहिले जेमा पनि फोहोरी राजनीतिको खेल खेल्ने र तमासाको प्रवृत्ति आएको बताए । ‘समाजमा केही आपराधिक तत्व पनि छन् । विकृत मनस्थिति भएका तत्व पनि छन् । उनीहरूले अपराध कर्म गर्छन् । भर्खरै भागरथी भट्टको बलात्कार र हत्या भयो । केही मान्छेले त्यो दुःखद घटनामा राजनीति गर्ने चेष्टा गरे,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘अब निर्मला पन्तका हत्यारालाई पनि अविलम्ब सार्वजनिक गर्नोस् र अपराधीलाई न्यायको कठघरामा उभ्याउनोस् ।’