मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण १० सोमबार १०:१५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

किन बारम्बार खेर जान्छ गर्भ ?

डाक्टरको सल्लाह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण १० सोमबार १०:१५:००

क्लिनिक रिपोर्टअनुसार करिब १५ प्रतिशत गर्भावस्था विभिन्न कारणले खेर जाने गर्छ । दुर्घटनावश वा अन्य स्वास्थ्य समस्याका कारण गर्भ खेर जानु मातृस्वास्थ्यमा एक गम्भीर समस्या मानिन्छ । दुर्घटनावश हुने यस्ता समस्यालाई मेडिकल साइन्सले सामान्य माने पनि बारम्बार गर्भ खोर जानु गम्भीर स्वास्थ्य समस्या हुन सक्छ । 

सामान्यतया महिनावारी रोकिएको २० साताभित्रको समयमा गर्भ खेर जानुलाई गर्भ गुमाउनु भन्ने गरिन्छ । कतिपयमा यस्तो समस्या दोहोरिएको पनि पाइन्छ । जसमध्ये १ देखि २ प्रतिशत महिला प्रभावित हुने गर्छन् । अर्थात् सयजना गर्भवतीमा एक वा दुईजनाले बारम्बार गर्भ खेर जाने समस्य भोग्ने गर्छन् । 

गर्भ बारम्बार खेर जानुका विभिन्न कारणहरू हुने गर्छन् । जसमध्ये १० देखि १५ प्रतिशतले एनाटोमिकका कारण लगातार गर्भ गुमाउने गर्छन् । अर्थात् यो अवस्थामा पाठेघरमा विभिन्न समस्या हुने गर्छ । पाठेघरमा जन्मजात समस्या हुनु, इन्ट्रायुटरिन, गर्भाशयको फाइब्रोसिस र पोलिप्सलगायतका कारणबाट यो अवस्था आउन सक्छ । 

यसबाहेक अटोइम्युन रोगका कारण पनि २० प्रतिशत महिलाले गर्भ गुमाउने गर्छन् । साथै संक्रमणका कारण ५ प्रतिशत र इन्डोक्राइनका कारणबाट १७ देखि २० प्रतिशत महिलाको लगातार गर्भ खेर जाने हुन्छ । हुनतः गर्भ रहेको २० साताभित्र गर्भ खेर जाने वास्तविक कारण पत्ता लगाउन निकै गाह्रो हुन्छ । गर्भ खेर गएकामध्ये ५० प्रतिशतको कारण नै पत्ता लगाउन सकिँदैन । स्वास्थ्य चेकजाँच गर्दा सामान्य देखिए पनि बारम्बार यो समस्या दोहोरिएको हुन्छ । पर्याप्त चेकजाँचबाट यसको उपचार भने गर्न सकिन्छ । 

यो समस्याको पहिचान गर्न हार्मोन परीक्षण, प्रोल्याक्टिन, एन्टी थाइराइड एन्टिबडिज, ब्लड सुगर, अल्ट्रासाउन्ड, जेनेटिक स्क्रिनिङजस्ता प्रक्रिया अपनाउन चिकित्सकहरूले सुझाब दिन्छन् । यसबाहेक आवश्यकताअनुसार संक्रमणको परीक्षण, अटोइम्युन परीक्षण, इन्डोमटेरियल बायोप्सीजस्ता परीक्षण पनि गर्न सकिन्छ । 

समस्याको उपचार
 शल्यक्रिया
बारम्बार गर्भ खेर जाने समस्या व्यवस्थापनका लागि पाठेघरको शल्यक्रिया उपयुक्त माध्यम मानिन्छ । गर्भाशय दुई भागमा बाँड्ने अतिरिक्त कोशिकाहरू जस्तै सेप्टस, फाइब्रोइड वा दागहरूको शल्यक्रिया गर्न सकिन्छ । यसले पाठेघरको आकारमा सुधार ल्याउन सकिने हुँदा गर्भाशयको समस्या कम गर्न सकिन्छ ।

 ब्लड थिनिङ मेडिसिन
अटोइम्युन र ब्लड क्लोटिनजस्ता समस्या भएका महिलामा औषधिको सहयोगबाट उपचार गर्न सकिन्छ । यस्ता औषधि गर्भावस्थाको समयमा प्रयोग गर्न सकिन्छ । साथै मिसक्यारेजको समस्या कम गर्न वा रक्तस्राव रोक्न पनि औषधि उपयुक्त हुन्छन् । चिकित्सकको सल्लाहमा औषधि प्रयोगमा ल्याउन सकिन्छ । 

 स्वास्थ्य समस्या पहिचान
कतिपय अवस्थामा अन्य स्वास्थ्य समस्याका कारण पनि बारम्बार गर्भ खेर गइरहेको हुन्छ । यसका लागि गर्भावस्थाअघि नै स्वास्थ्य परीक्षण गराउन आवश्यक हुन्छ । जसले भविष्यमा आउन सक्ने समस्या समयमै निदान गर्न सकिन्छ ।

  जेनेटिक स्क्रिनिङ 
समयअगावै गर्भ खेर जानुको मुख्य कारणमा जिनको भूमिका पनि महत्वपूर्ण हुन सक्छ । गर्भ खेर जाने प्रत्येक पाँचजनामध्ये एकजनामा क्रोमोजोमको असन्तुलन पाइने गरेको छ । क्रोमोजोमको समस्या देखिए चिकित्सकहरूले आइभिएफ गर्न सल्लाह दिन सक्छन् । 

 जीवनशैली
हरेक व्यक्तिको स्वास्थ्य अवस्था दैनिक जीवनशैलीसँग सम्बन्धित हुने गर्छ । केही प्रतिशतमा धुम्रपान, अल्कोहल र अस्वस्थ खानपानको दैनिक प्रयोग पनि कारण बन्न सक्छ । स्वस्थ गर्भका लागि अस्वस्थ जीवनशैली त्याग्नुपर्ने हुन्छ ।