मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १० सोमबार
  • Tuesday, 07 January, 2025
धोबीखोला करिडोरअन्तर्गत कपनस्थित निर्माणाधीन सडक । तस्बिर : विनोद विष्ट/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडौं
२o७७ फाल्गुण १० सोमबार o६:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

धोबीखोला करिडोर : १८ वर्षसम्म अधुरै

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १० सोमबार o६:२५:oo

१८ वर्षअघि सुरु गरिएको धोबीखोला करिडोर सुधार आयोजना अहिलेसम्म पनि निर्माण पूरा भएको छैन । काठमाडौं उपत्यकाको भित्री चक्रपथ विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकासका लागि धोबीखोला करिडोरको निर्माण भइरहेको हो । करिडोर निर्माणमा अहिलेसम्म दुई अर्ब ८९ करोड ९० लाख रुपैयाँ खर्च भइसकेको छ । तेस्रो चरणको काम २०७९ जेठ मसान्तसम्म सक्नुपर्ने भए पनि बजेट अभावका कारण आगामी वैशाखदेखि निर्माण कार्य रोकिने आयोजनाले जनाएको छ ।

‘अब एक–दुई महिनालाई पुग्ने बजेट मात्र हामीसँग छ । त्यसपछि बजेट अभाव हुन्छ । काम नरोक्नु, मिलाएर गर्नु भनेका छौँ । पुस–माघमा जाडोका कारण काम गर्न केही गाह्रो हुन्थ्यो । अब मौसम पनि अनुकूल हुँदै गएको छ,’ उपत्यका विकास प्राधिकरणअन्तर्गत काठमाडौं जिल्ला आयुक्त दिनेशकृष्ण पोतेले भने, ‘अहिलेसम्म आयोजनाका काम त भइरहेका छन् । बजेट नै अभाव हुन थालेपछि ठेकेदारलाई भुक्तानी दिन समस्या हुन्छ, त्यसैले काम अगाडि बढ्न सक्छ भनेर भन्न सकिन्न ।’ 

आर्थिक वर्ष २०७७/७८ का लागि आयोजनाले २५ करोड ४० लाख बजेट पाएको थियो । जसमध्ये हालसम्म करिब १८ करोड रुपैयाँ खर्च गरिसकेको छ । अझै १० करोडजति अभाव हुने आयोजनाले जनाएको छ । आयोजनाले यो वर्ष ९५ प्रतिशत काम सक्ने लक्ष्य राखे पनि बजेट अभावका कारण काममा प्रभाव पर्ने देखिएको छ ।

बजेट अभावबाहेक काम गर्न हाललाई अन्य समस्या नरहेको आयोजनाले जनाएको छ । ‘ठेकेदारको कामअनुसार समयभन्दा अगावै आयोजनाअन्तर्गत तेस्रो चरणको काम पनि सकिने अवस्था थियो । तर, त्यही गतिमा काम गर्दै जाँदा बजेट नपुग्ने भयो,’ काठमाडौं जिल्ला आयुक्त पोतेले भने । 

निर्माण थालेको १८ वर्षमा पनि आयोजना अझै सकिएको छैन । सुरुमा ११ किलोमिटर निर्माणको मात्र उद्देश्य राखिए पनि त्यसपछि फेरि अर्को चरण सुरु गरिएका कारण ढिलाइ भएको आयोजनाको दाबी छ ।

करिडोरको दूरी ११ किलोमिटरबाट बढेर २४ किलोमिटरमा पुगेको छ । ‘सुरुमा खैरो पुलदेखि बैजनी पुलसम्म आयोजना विस्तार गर्ने योजना थियो । जुन ११ किलोमिटरसम्म मात्र थियो । तर, आयोजना लम्बिँदै गयो । अहिले तेस्रो चरणअन्तर्गत कपन भंगाल पुलदेखि राममन्दिरसम्म आयोजना विस्तार गरियो,’ आयुक्त पोतेले भने, ‘हामी त्यहाँको भौगोलिक अध्ययन गर्दै छौँ । राममन्दिरबाट अझै पर पुग्न पनि सक्छ ।’ 

०५९ देखि सुरु भएको थियो करिडोर निर्माण
करिडोर निर्माण ०५९ देखि सुरु भएको थियो । सुरुका वर्षमा कामले गति लिन नसके पनि आर्थिक वर्ष ०६७÷६८ देखि भने कामले केही गति लिन थालेको थियो ।

हालसम्म कामको प्रगति करिब ८० प्रतिशत भएको आयोजनाले जनाएको छ । बजेटको अभाव, स्थानीयको अवरोध, अन्तरनिकायबीच समन्वयको अभाव, अधिकारसम्पन्न बागमती एकीकृत समाजले ढल निर्माणमा देखाएको सुस्ततालगायतका कारण करिडोर निर्माणमा ढिलाइ भएको धोबीखोला करिडोर सुधार आयोजनाले बताएको थियो । 

जापान सहयोग नियोग (जाइका)ले सन् १९९३ मा गरेको अध्ययनअनुसार बढ्दो सहरी चापलाई घटाउने उद्देश्यसहित दिएको प्रतिवेदनअनुसार सरकारले ०५९ देखि नै यो आयोजना सञ्चालन सुरु गरे पनि वार्षिक बजेट विनियोजनको काम भने २०६७ बाट मात्रै भएको थियो । आयोजनाले नदीका दुवै किनारमा सडक निर्माण हुने भएकाले भित्री सहरको यातायात व्यवस्थापनमा यो सडकको प्रयोग हुनेछ । 

बजेट नभए पनि काम नरोक्न भनेका छौँ : दिनेशकृष्ण पोत