Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण ९ आइतबार १०:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि भीमदत्त  नगरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव 

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ९ आइतबार १०:१६:००

कोरोनाले थलिएको पर्यटन क्षेत्र उकास्नका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले चौथो शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गर्न लागेको छ । आइतबारदेखि भीमदत्त नगरपालिकाले चौथो शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गर्न लागेको हो ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले यस वर्ष पनि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गर्न लागेको भीमदत्त नगरपालिकाकाे पर्यटन विकास समितिले जनाएको छ । भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष कर्णबहादुर चन्दले सात दिनसम्म हुने महोत्सवमा विभिन्न कार्यक्रम गरिने बताए । ‘यस वर्ष कोरोनाका कारण भड्किलो र बढी भिडभाड गर्न नसकिने हिसाबले दिवस मनाउन लागेका छौँ,’ उनले भने, ‘विद्यार्थीमाझ दिवस मनाउँछौँ ।’ 

उपाध्यक्ष चन्दका अनुसार आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार क्षेत्रबाट महोत्सवको उद्घाटन गरिनेछ । सुदूरपश्चिमको लोकसांस्कृतिक कार्यक्रमसहित दिवस उद्घाटन गरिने उनले बताए । दोस्रो दिन (मंगलबार) जलवायु परिवर्तन न्यूनीकरणका सम्बन्धमा विश्वलाई नै सन्देश दिनेगरी साइकल प्रतियोगिता हुने उपाध्यक्ष चन्दले बताए । उनका अनुसार एसियाकै दोस्रो लामो झोलुंगेपुलदेखि बन्द रहेको मझगाउँ विमानस्थलसम्म साइकल प्रतियोगिता हुनेछ । 

तेस्रो दिन (बुधबार) पर्यटन र संरक्षणसम्बन्धी विद्यालयस्तरमा खुला वक्तृत्वकला प्रतियोगिता हुनेछ । चौथो र पाँचौँ दिन कार्यापालिका सदस्य पर्यटन व्यवसायी, टुर एन्ड ट्राभल्स, ज्येष्ठ नागरिक एकल महिलालाई निकुञ्ज भ्रमण गराइनेछ । छैटौँ दिन राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई हात्ती सफारी तथा निकुञ्ज भ्रमण गराइनेछ । अन्तिम अर्थात् सातौँ दिन प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिनेछ । 

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले कोरोनाका कारण एक वर्षदेखि मानिस घरबाट बाहिर जान नसकेको सन्दर्भमा आन्तरिक पर्यटनका लागि समेत शुक्लाफाँटा महोत्सव आयोजना गरिएको बताए । महोत्सवबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार हुनेछ । कोरोना नियन्त्रणमा आएसँगै नगरपालिकाले आर्थिक समृद्धि र विकासका लागि पर्यटन क्षेत्रका सम्भावना अघि बढाउँदै लैजाने मेयर विष्टको भनाइ छ ।