मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ फाल्गुण ८ शनिबार ०८:५५:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एपिएफको शतप्रतिशत जित

दुई खेलअघि नै उपाधि निश्चित गरिसकेको एपिएफले प्रतियोगिताको १२ खेलमा विपक्षीविरुद्ध ७७ गोल गर्दा एक मात्रै गोल व्यहोर्‍यो

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण ८ शनिबार ०८:५५:००

दुई खेलअगावै उपाधि निश्चित गरिसकेको विभागीय टोली एपिएफले शतप्रतिशत जितको नतिजासँगै महिला राष्ट्रिय लिगको यात्रा टुंग्याएको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–० गोलले पराजित गर्दै एपिएफले प्रतियोगितामा आफ्नो शतप्रतिशत जितको यात्रा पूरा गरेको हो ।

दशरथ रंगशालामा भएको अन्तिम खेलमा सरु लिम्बूको दुई र अनिता केसीको एक गोलको मद्दतमा एपिएफले सहज जित हात पारेको हो । एपिएफलाई सरुले खेलको ४५औँ मिनेटमा १–० ले अघि बढाएकी थिइन् । 

अनिताले मिलाइदिएको पासमा सरुले गोल गरेकी थिइन् । एपिएफले दोस्रो हाफमा थप दुई गोल थप्यो । एपिएफलाई अनिताले खेलको ८६औँ मिनेटमा २–० को अग्रता दिलाइन् । अञ्जली योञ्जनले क्रस गरेको बललाई आकर्षक हेडिङमार्फत अनिताले टोलीलाई अघि बढाएकी थिइन् ।

खेलको अतिरिक्त समयमा आर्मीकी गोलरक्षक अञ्जना रानामगरले क्लियर गर्न पन्च गरेको बललाई गोलमा परिणत गर्दै सरुले टोलीको जित ३–० ले पक्का गरेकी थिइन् लिगमा आफ्नो अन्तिम दुई खेलमा विराटनगर महानगरपालिका र आर्मीविरुद्ध चोटग्रस्त साबित्रा भण्डारीविना मैदानमा उत्रिएको एपिएफले संघर्ष गरेको देखियो ।

एपिएफले प्रतियोगितामा शतप्रतिशत जित निकाल्ने क्रममा विपक्षीविरुद्ध सर्वाधिक ७७ गोल पनि गर्‍यो । एपिएफले लिगमा उदयपुरको चौदण्डीगढी नगरपालिकाविरुद्ध २२–० को सर्वाधिक ठूलो अन्तरको जित निकालेको थियो । त्यसको तुलनामा विपक्षीसँग उसले मात्रै एक गोल बेहोर्‍यो । यो लिगमा एपिएफले नेपाल पुलिससँग मात्रै गोल बेहोरेको हो । पुलिसकी अमृता जैसी यो लिगमा एपिएफविरुद्ध गोल गर्ने एक्ली खेलाडी बनिन् ।

सोही खेलमा साबित्रा चोटग्रस्त बन्न पुगेकी थिइन् । पुलिसको डिबक्सभित्र हेडिङ गर्न उफ्रिएकी उनको ल्यान्डिङ नमिल्दा घुँडामा समस्या देखिएको छ । त्यससँगै उनलाई डक्टरले आगामी झन्डै एक वर्ष आराम गर्नुपर्ने सुझाब दिएका छन् । 
अन्तिम खेलमा एपिएफसँग पराजित भएको आर्मी दोस्रो, नेपाल पुलिस क्लब तेस्रो, स्याङ्जाको वालिङ नगरपालिका चौथो, विराटनगर पाँचौँ, रौतहटको चन्द्रपुर छैटौँ र चौदण्डीगढी सातौँ स्थानमा रह्यो ।

प्रतियोगितामा तीन विभागीयसँगै चार नगरपालिकाको टोली सहभागी थियो । उपाधिसँगै एपिएफले १५ लाख प्राप्त गरेको छ । यस्तै, आर्मीले आठ लाख, पुलिसले पाँच लाख र वालिङले तीन लाख प्राप्त गरेका छन् । फेयर प्ले अवार्ड जितेको चन्द्रपुरले एक लाख ५० हजार प्राप्त गर्‍यो ।

सुधारिएको लिगको स्तर
यो प्रतियोगिताले घरेलु महिला फुटबलका लागि धेरै सन्देश दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलोपटक झन्डै महिना दिन लामो दोहोरो राउन्ड रोविन लिगमा आयोजना गरेको यो प्रतियोगिता पहिलेको भन्दा प्रतिस्पर्धात्मक देखियो । प्रायः खेलमा नगरपालिकाका टोलीहरूले पनि बलिया विभागीय टोलीलाई टक्कर दिएको देखियो ।

विराटनगरले त नेपाल पुलिस क्लबलाई पराजित नै गरेको थियो । अघिल्ला लिगहरूमा विभागीयबाहेकका टोलीविरुद्ध हाबी भएको देखिन्थ्यो । कम्तीमा यो प्रतियोगितामा जितको अन्तर घट्दै गएको देखिएको छ । यो तथ्यलाई खेलाडीहरूले पनि महसुस गरेका छन् । 

एपिएफकी साबित्रा पनि विभागीय टोलीहरूले थप मिहिनेत गर्नुपर्ने देखिएको सुनाउँछन्, ‘यसपटकको जितमा गोलको अन्तर घटेको छ । पहिले प्रायः टोलीहरूलाई १०–११ गोलको अन्तरले नै जितिरहेका हुन्थ्यौँ । यसपटक लिगमा विभागीयबाहेकका टोलीलाई विदेशी खेलाडी भित्र्याउन अनुमति पनि दिइएको थियो । त्यसअनुसार वालिङले अफ्रिकी र विराटनगरले भारतीय खेलाडी भित्र्याएका थिए । उनीहरूकै कारण यसपटकको महिला लिगमा मोफसलका टोली पनि बलिया देखिए । 

व्यक्तिगत विधातर्फ विभागीय टोलीको वर्चस्व
व्यक्तिगततर्फको पुरस्कारमा भने विभागीय टोलीकै वर्चस्व देखिएको छ । त्यसमा उपाधि विजेता एपिएफकै खेलाडी अगाडि रहे । एपिएफकी मिडफिल्डर सरु लिम्बू ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भइन् । १० खेलबाट सर्वाधिक ४३ गोल गरेकी साबित्रा उत्कृष्ट स्ट्राइकर घोषित भइन् ।

एपिएफकै भगवती थापा उत्कृष्ट प्रशिक्षक घोषित भइन् । यस्तै, नेपाल पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलरक्षक र अमृता जैसी उत्कृष्ट रक्षक चुनिए । आर्मीका विमला चौधरी उत्कृष्ट मिडफिल्डर चुनिइन् । मोस्ट भ्यालुएबल खेलाडी घोषित भएबापत सरुले यामाहाको स्कुटर प्राप्त गरेकी छिन् । उत्कृष्ट घोषित अन्य खेलाडी र प्रशिक्षकले भने जनही एक लाख ५० हजार प्राप्त गरे । 

 के भन्छन्, उत्कृष्ट घोषित खेलाडी र प्रशिक्षक ?
उषा नाथ, उत्कृष्ट गोलरक्षक (नेपाल पुलिस)

प्रतियोगिता राम्रो रह्यो । प्रतियोगितामा आफूले पनि सोचेको भन्दा पनि राम्रो प्रदर्शन दिन सकेँ । त्यही प्रदर्शनले यो अवार्ड पनि जित्न सफल भएकी छु । यसले गर्दा आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने हौसला मिलेको छ । 

सरु लिम्बू, मोस्ट भ्यालुएबल प्लेयर (एपिएफ)
कोरोना महामारीको ब्रेकपछि मैदानमा फर्कँदा प्रतियोगिता कस्तो होला भन्ने लागेको थियो । यद्यपि, प्रदर्शन राम्रो भएको छ । उपाधि पनि जितेका छौँ । आफैँले पनि राम्रो प्रदर्शन गर्न पाएकी छु । उत्कृष्ट मिडफिल्डरको अपेक्षा गरेको थिएँ । 

अमृता जैसी, उत्कृष्ट रक्षक (नेपाल पुलिस)
प्रतियोगिता राम्रो भयो । आफूले सशक्त प्रदर्शन दिन पाएकी छु । अवार्डका लागि खेलेको त होइन । यद्यपि, उत्कृष्ट रक्षक घोषित हुँदा थप हौसला मिलेको छ । यो प्रदर्शनले फेरि राष्ट्रिय टोलीमा फर्कने आशा पनि पलाएको छ ।

विमला चौधरी, उत्कृष्ट मिडफिल्डर (आर्मी)
हामी उपाधि जित्ने उद्देश्य लिएर नै प्रतियोगितामा सहभागी भएका थियौँ । तर, उपाधि सम्भव भएन । सायद अग्रपंक्तिमा कमजोरी भयो । नतिजा जस्तो आए पनि आफूले टोलीका लागि योगदान गर्न पाउँदा खुसी छुँ । यसले राष्ट्रिय टोलीबाट खेल्न पाउने आशा जागेको छ ।

साबित्रा भण्डारी, उत्कृष्ट स्टाइकर (एपिएफ) 
यसपटक लिग सबैका लागि राम्रो भयो । जुनियर खेलाडीले पनि बल पोसेसन राखेर मोर्डन फुटबल खेलेको देख्न पाए । समग्रमा लिगको स्तर नै माथि उठेको महसुस गरेको छु । यसपटक आफ्नै प्रदर्शनमा पनि थप सुधार आएको महसुस गरेकी छु ।

भगवती थापा, प्रशिक्षक (एपिएफ)
उपाधि जित्दा निकै खुसी छु । यद्यपि, यही प्रतियोगितामा टोलीकी मुख्य हतियार साबित्रा घाइते हुन पुगेकी छिन् । यसले भने केही खल्लो बनाएको छ । त्यसबाहेक प्रतियोगितामा सबैले राम्रो खेले । आगामी प्रतियोगितामा थप सुधारिएको प्रदर्शनको अपेक्षा गरेको छु ।