मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण ७ शुक्रबार ११:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाका दुई युवाले वितरण गरे वृद्ध र  बालबालिकालाई न्यानो कपडा

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ७ शुक्रबार ११:००:००

दोलखाका दुई युवा व्यवसायीले जिल्लाको विकट उत्तरी गाउँ आलम्पुका दुई सय ४० ज्येष्ठ नागरिक र चरिकोटस्थित बालगृहका ३० जना अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । 

७० वर्ष पूरा भई सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक र गौरीशंकर बालगृहका अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् ।

 फागुन लागिसक्दा पनि हिमालको चिसो सिरेटोले कान सेक्ने गरेको सुनाउँदै दोलखाको विगु गाउँपालिकास्थित आलम्पु गाउँकी ९४ वर्षीया आइतीमाया थामीले खुसी हुँदै भनिन्, ‘अब त जाडो काटिन्छ ।’ उनीजस्ता दुई सय ४० जना ज्येष्ठ नागरिकले बुधबार जिल्लाको आलम्पु गाउँमा आयोजित एक कार्यक्रममा न्यानो कपडा ज्याकेट पाए । 

राज्यले दिने सामाजिक सुरक्षा भत्ताले जेनतेन खानाको जोहाे भए पनि विकट गाउँका थामी समुदयका ज्येष्ठ नागरिकलाई रहर लाग्ने न्यानो कपडा किनेर लगाउन भने निकै समस्या छ ।

बढ्दो महँगी त्यो पनि बजारसँगको पहुँच नभएकै कारण चिसोमा कठ्याङ्ग्रिनुपर्ने बाध्यता देखेर आफूहरूले न्यानो ज्याकेट वितरण गरेको व्यवसायी दावासांगे शेर्पा  र कर्मा शेर्पाले बताए । उनीहरूले संयुक्त रूपमा ज्याकेट खरिद गरी गाउँमा लगेर ज्येष्ठ नागरिकलाई वितरण गरेका हुन् ।

ती युवाले बिहीबार चरिकोटस्थित गौरीशंकर बालगृहमा आश्रय लिएर बसेका ३० जना अनाथ बालबालिकालाई पनि एक–एक थान ज्याकेट बाँडेका छन् ।