
सेयर बजार परिसूचक नेप्सेमा फेरि नयाँ रेकर्ड कायम भएको छ । ५ कारोबार दिनअघिको उच्च बिन्दु पार गरेर नेप्सेले नयाँ हालसम्मकै उच्च बिन्दु बनाएको हो । सोमबार नेप्से परिसूचक एकै दिन ९२ अंकभन्दा धेरैले बढेर २ हजार ५ सय ८६ बिन्दुमा पुगेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर धितोमा कर्जा मूल्य अनुपात अझै ३ महिना नचलाउने आश्वास्त पारेपछि बजार पुनः उकालो लागेको हो । आइतबार राष्ट्र बैंकबाट यस्तो आश्वासन आउनुअघि बजार उच्चदरमा घटेको थियो । सोमबार भने बजारले आइतबार गुमाएको भन्दा थप ६० अंकसम्म जोड्न सफल भएको हो । राष्ट्र बैंकले बैंकहरूलाई नीतिगत ब्याजदर घटाएर दिइरहेको सुविधासमेत कायम राखेपछि बैंकिङ क्षेत्रमा रहेको अधिक तरलता नघट्ने आसले पनि लगानीकर्ता उत्साहित देखिएका छन् ।
कारोबार रकममा समेत बढोत्तरी भएर १० अर्ब ३८ करोड रुपैयाँबराबर पुगेको छ । कारोबारमा आएका सबै समूहगत परिसूचकमा सुधार भएको छ । कारोबारमा आएका २ सय ५ धितोपत्र तथा ऋणपत्रमा १ सय ८७ कम्पनीको मूल्यवृद्धि भयो भने ६ वटाको मूल्य मात्र घटेको छ । पञ्चकन्यामाई हाइड्रोपावरलगायतको मूल्य घटेको हो ।
यस दिन ३७ कम्पनीको सेयर मूल्य ९ देखि १० प्रतिशतसम्म वृद्धि भएको छ । यसमा ३४ वटा कम्पनी लघुवित्त समूहबाट छन् । ११ वटाको मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक नै लागेको छ । विकास बैंकलगायतका संस्थालाई लघुवित्त कम्पनीमा लगानीमा रोक लगाउने हल्ला केही दिनदेखि चलिरहेको भए पनि राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा यो विषयमा मौन देखिएपछि लगानीकर्ता उत्साहित भएका हुन् ।
सानो पुँजीका यी कम्पनीहरूको लाभांश दर तुलनात्मक रूपमा उच्च रहे पनि मूल्य निकै माथि छ । सोमबार मूल्य उच्चदरमा बढ्ने लघुवित्त कम्पनीमा २ को मात्रै मूल्य १ हजार रुपैयाँभन्दा मुनि छ भने बाँकीको १ हजारदेखि ३ हजार २ सय रुपैयाँसम्म मूल्यमा कारोबार भइरहेको छ । यस समूहगत परिसूचक सबैभन्दा धेरै करिब ९ प्रतिशतसम्म वृद्धि भएको छ । यो समूह हालसम्मकै उच्च बिन्दुमा आइपुगेको हो । यो समूहगत सूचक ४ हजार ५ सयभन्दा माथि छ । बजारमा लगानीकर्ताको सम्पत्तिसमेत बढेर ३५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।