१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी वुहान
२०७७ माघ २८ बुधबार १४:००:००
Read Time : > 2 मिनेट
फिचर

‘कोरोना भाइरस वुहानको ल्याबबाट चुहावट भएको भन्नु अविश्वसनीय’

Read Time : > 2 मिनेट
एजेन्सी वुहान
२०७७ माघ २८ बुधबार १४:००:००

कोरोना भाइरस (कोभिड– १९) को उत्पत्तिबारे अध्ययन गर्न चीनको वुहान पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को टोलीले ल्याबबाट चुहावट भएको भन्नु ‘अत्यधिक अविश्वसनीय’ रहेको जनाएको छ । 

यसअघि कतिपयले चीनले कोरोना भाइरस निर्माण गर्दै गरेको अवस्थामा ल्याबबाट चुहावट भएको आरोप लगाएका थिए । यस्तो आरोप लगाउनेमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसमेत थिए । उनले कोरोना भाइरसलाई चिनियाँ भाइरससमेत भन्ने गरेका थिए । 

भाइरस महाव्याधिको रूपमा विश्वव्यापी फैलिएको लामो समयपछि अध्ययन गर्न चीन पुगेको डब्ल्युएचओको टोलीले ती सबै आरोपको खण्डन गर्ने गरी आफ्नो भनाइ सार्वजनिक गरेको हो । डब्ल्युएचओ मिसन प्रमुख पिटर बेन इम्बारेकले भनेका छन्, ‘वुहानमा कोरोना भाइरस ल्याबबाट चुहावट भएको हो भन्ने भनाइमा विश्वास गर्नु अत्यधिक अविश्वसनीय देखिएको छ ।’

उनले भाइरसको स्रोत पत्ता लगाउन भने अझै धेरै अध्ययन आवश्यक रहेको बताएका छन् । टोलीमा सहभागी एक विज्ञका अनुसार अबको अनुसन्धान दक्षिण–पूर्वी एसियातर्फ केन्द्रित हुनेछ । डब्ल्युएचओको टोलीले आफ्नो अध्ययन अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

चीनको हुबेई प्रान्तअन्तर्गत पर्ने वुहान सहरमा सन् २०१९ को अन्तिमतिर विश्वमै पहिलोपटक कोरोना भाइरस संक्रमण भेटिएको थियो । त्यसयता झन्डै डेढ वर्षको अवधिमा विश्वभर २३ लाख ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै, दश करोड ७४ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

डा. इम्बारेकले अध्ययनको क्रममा धेरै नयाँ जानकारी प्राप्त भएको बताए । यद्यपि, उनले भाइरस कसरी उत्पत्ति भयो र कसरी मानव शरीरसम्म फैलन पुग्यो भन्ने विषय भने अझै निक्र्योल गर्न नसकिएको जनाएका छन् । 

कोरोना पहिला जनवारमा 

धेरै विज्ञले कोरोना भाइरस पहिले जनावरमा देखिएको र त्यसपछि मानव शरीरमा सरेको पनि बताएका छन् । यद्यपि, यसलाई पुष्टि गर्ने प्रमाण पनि अहिलेसम्म प्राप्त भइसकेको छैन । ‘कोरोना भाइरस जनावरबाटै सरेको हो वा होइन भन्ने निश्चित गर्नेबारेको अध्ययन अझै जारी छ,’ डा. इम्बारेकले भनेका छन्, ‘यदि, त्यसरी नै सरेको हो भने पनि मानिससँग नजिक रहने जनावरबाट सरेको हुन सक्छ ।’

विज्ञहरूले कोरोना भाइरस वुहानमै उत्पत्ति भएको भन्नेमा पनि आशंका गरेका छन् । चीनको हेल्थ कमिसनका विज्ञ डा. लियाङ वान्नियन भन्छन्, ‘कोरोना भाइरसको पहिलो संक्रमण चीनको वुहानमा देखिएको हो । यद्यपि, भाइरस अन्तै उत्पत्ति भएर वुहान आइपुगेको हुन सक्छ ।’ कोरोना भाइरसको पहिलो संक्रमण सन् २०१९ को डिसेम्बरमा वुहानमा देखिएको हो ।

अध्ययनमा सहभागी केही विज्ञले भने चिसो वा फ्रिजमा खानेकुरा ढुवानी वा व्यापार गर्नेहरूमाथि अनुसन्धान गर्न माग गरेका छन् । त्यसमा डब्ल्युएचओको अध्ययन टोलीका सदस्य डा. पिटर डास्जाक पनि छन् । उनले कोरोना भाइरस अन्तै उत्पत्ति भएर वुहान पुगेको हुन सक्ने औँल्याएका छन् । 

‘हामीले चीनमा धेरै अनुसन्धान गरेका छौँ । यदि, तपाईंले हेर्नुभयो भने तपाईंको नजर त्यहाँको सीमा क्षेत्रतर्फ पर्ने छ, जहाँ निकै कम निगरानी हुने गरेको देखिएको छ,’ उनी भन्छन्, ‘त्यहाँबाट दक्षिण–पूर्वी एसियामा कुनै निगरानी हुने व्यवस्था छैन । चीन धेरै ठूलो क्षेत्रफल भएको देश हो । दक्षिण–पूर्वी एसिया पनि निकै ठूलो क्षेत्र हो । त्यो क्षेत्रबाट हुएनान बजारमा ठूलो मात्रामा समुद्रमा आधारित खानेकुराको ढुवानी र व्यापार हुने गर्छ । त्यहाँ धेरै देश वा चीनकै धेरै क्षेत्रबाट समुद्रमा आधारित खानेकुराहरू आउँछन् । त्यसैले कोरोना भाइरस पहिले कहाँ उत्पत्ति भएको थियो भन्ने निक्र्याेल गर्न अझै धेरै अध्ययनको आवश्यता देखिएको छ ।’

उनले अबको अनुसन्धान यस्तै सामुद्रिक खानेकुराहरू ढुवानी गर्नेहरूमाथि केन्द्रित गर्न आवश्यक रहेको बताएका छन् । चीनमा डब्ल्युएचओको मिसन गत जनवरीमा सुरु भएको थियो । चिनियाँ सरकारसँगको समन्वयका लागि लामो समयको पहलपश्चात् अध्ययन टोली वुहान पुगेको थियो । डब्ल्युएचओको विज्ञहरूको भ्रमणलाई चिनियाँ अधिकारीहरूले पनि निकै नजिकबाट अनुगमन गरिरहेका छन् ।